अन्तर्राष्ट्रिय बजारमा ‘गोर्खा वारियर’

१० वर्ष अगाडिदेखि नै गोर्खालीको वीरताको कथालाई पर्दामा उतार्ने प्रयास
बिहीबार, साउन ३२, २०८०

काठमाडौँ– चलचित्रबाट देशको संस्कृति, भाषा र साहित्यसँगै पर्यटन क्षेत्रको पनि प्रवर्द्धनमा मद्दत पुग्छ । दर्शकलाई सजिलै पात्र र कथावस्तुको वातावरणसँग जोड्न सक्नु निर्देशकको खुबी हो । पात्रसँग दर्शक ‘कनेक्ट’ भएपछि त्यसको प्रभाव बाहिर पनि पर्छ । अर्थात् अभिनेता वा अभिनेत्री विविध पहिरन लगाउने, खानेकुरा खाने र समाजमा आफ्नो विचार प्रस्तुत गर्ने काम पनि चलचित्रमा हुने भएकाले यसलाई समयको दस्तावेजको रूपमा समेत बुझ्ने गरिन्छ । 

अहिले निर्माण भइरहेका चलचित्रमा परिस्थितिसँगै वेशभूषा र त्यो समयको पनि चित्रण गरिएको हुन्छ । विदेशमा विगतमा भएका घटनाक्रमलाई लिएर चलचित्र निर्माण गर्ने प्रचलन बढ्दो छ । कुनै समय वा घटनालाई लिएर बनाइने ती चलचित्र त्यो समयलाई अहिलेको पुस्तासम्म पुर्याउनुका साथै इतिहासका लागि दस्तावेजको कामसमेत गर्छ । तर नेपालमा भने त्यस्ता कथामा कमै चलचित्र बन्ने गरेका छन् । सीमित बनेका चलचित्रले दर्शकको साथ नपाएको यथार्थ छ ।

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरको ऐतिहासिक लडाइँमा आधारित रहेर बनेको चलचित्र ‘नालापानी’ गत वर्ष प्रदर्शन भयो । निर्माता तथा निर्देशक रिमेश अधिकारीले यो चलचित्रको सार्वजनिक प्रदर्शनको समयमा निर्माणका लागि नौ वर्ष खर्चिएको दाबी गर्नुभएको थियो । तर चलचित्रले न समीक्षा राम्रो पायो, न दर्शक नै । अर्थात् असफल भयो । 

‘नालापानी’भन्दा अगाडि प्रदर्शन भएको तत्कालीन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा कीर्तिपुरमा गर्नुभएको आक्रमणलाई लिएर बनाइएको चलचित्र ‘कीर्तिपुरः द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ पनि सफल हुन सकेन । 

विसं २०५४ मा निर्देशक किशोर रानामगरले लिगलिगका मगर राजाले छिमेकी राजासँग गरेको लडाइँमा आधारित रहेर चलचित्र ‘सीमारेखा’ निर्माण गर्नुभएको थियो । यसले भने व्यावसायिक सफलतासमेत पाएको थियो । त्यसयता भने लामो समय ऐतिहासिक कथालाई पर्दामा ल्याउने आँट नेपाली निर्माता तथा निर्देशकले गरेका थिएनन् । तर पछिल्लो समय यो क्रम बढेता पनि लगातार असफलता प्राप्त भइरहेको छ ।

त्यसो त नेपालमा अहिले कथालाई दर्शकसम्म पुर्याउन कलाकारको साथ आवश्यक देखिने गरेको छ । स्थापित निर्देशक नै कलात्मक चलचित्रमा समेत परिचित अनुहार नै रोज्ने गर्दछन् । अर्थात् अभिनय क्षमतासँगै बजारको माग पनि कारण बन्ने गरेका छन् ।

परिचित अनुहारलाई अभिनय गराउँदा प्रचार–प्रसारमा सहयोग पुग्ने निर्देशक ज्ञानेन्द्र देउजाले बताए । “हामीलाई चाहिने पात्र सुहाउँदो कलाकार हो । यद्यपि कहिलेकाहीँ बजारले समेत हामीलाई निर्देशन गर्छ”, निर्देशक देउजाले भने । ऐतिहासिक घटनाक्रममा चलचित्र निर्माण कमी हुनुमा लगानीकर्ता र त्यसलाई प्रस्तुत गर्न चाहिने बजेट र चलचित्रको बजारलाई उनले कारक देखेका रहेछन् । उनले कृतिमा आधारित चलचित्र ‘मुना मदन’ र ‘झिङ्गेदाउ’ निर्देशन गरेका छन् । 

नेपालमा कृति र ऐतिहासिक घटनाक्रमबाट चलचित्र बन्नेक्रम विस्तारै बढे पनि त्यस्ता चलचित्रले व्यावसायिक सफलता नपाउँदा सोचेजस्तो सङ्ख्यामा बन्न सकेको छैन । साथै बितेको समयलाई पर्दामा देखाउन सहज नरहेको निर्देशक मिलन चाम्सले बताए । गोर्खालीको वीरगाथालाई पर्दामा ल्याउन उनले केही समययता सङ्घर्ष गरिरहेका छन् । 

उनको निर्माण तथा निर्देशन रहेको ‘गोर्खा वारियर’ तयार भइरहेको छ । “छायाङ्कनमै तीन वर्षभन्दा बढी समय खर्चिएँ । प्राविधिक कार्यका लागि नेपालदेखि भारतसम्मका प्राविधिको प्रयोग गरेको छु”, उनले भने । 

आफैँ पूर्वगोर्खा सैनिक रहेका निर्देशक चाम्सले १० वर्ष अगाडिदेखि नै गोर्खालीको वीरताको कथालाई पर्दामा उतार्ने प्रयास गरिरहेका छन् । चलचित्रमा गोर्खालीले लडेको ‘मलाया युद्ध’लाई देखाइएको छ । गोर्खाली सैनिक जङ्गल युद्धमा अन्यभन्दा राम्रो मानिने भएकाले पनि यो कथा रोजेको उहाँले जानकारी दिए । 

“व्यावसायिक चलचित्रमा लगानी गर्ने जति पनि पाइन्छ तर जोखिमयुक्त ऐतिहासिक विषयमा लगानी गर्ने लगानीकर्ता पाउन गाह्रो छ । त्यसैले यस विषयमा सम्बन्धित सङ्घसंस्थासँगै राज्यले समेत सोच्नुपर्छ”, उनले भने ।

उनले गोर्खालीको वीरताको गाथामा चलचित्र बनेको विश्वलाई जानकारी दिने उद्देश्यले बेलायतको लन्डनस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स प्रविधि जडित चलचित्र भवन सिनेवर्ल्डमा ‘गोर्खा वारियर’को विश्वमै पहिलोपटक विशेष प्रदर्शनी (वर्ल्ड प्रिमियर) गर्दैछन् । भदौ २४ अर्थात् १० सेप्टेम्बरमा हुने प्रदर्शनीमार्फत विश्वभर नेपाली चलचित्र र वीरताको गाथा गुञ्जिने विश्वास उनको छ । सो अवसरमा बेलायती सेनाको ‘द ब्यान्ड अफ द ब्रिगेड अफ गुर्खाज’ ले प्रस्तुति दिने तय भएको निर्देशक चाम्सले जानकारी दिए । 

“पूर्व सैनिक भएकाले पनि यो मेरो लागि चलचित्रमात्र होइन । सेनाको ब्यान्डले पहिलोपटक चलचित्रको प्रिमियरमा प्रस्तुति दिँदैछन् । यो सब गोर्खालीको वीरताले प्राप्त गरेको सम्मान हो”, निर्देशक चाम्सले भने । सो चलचित्र भवनमा भव्यरूपमा हुने प्रदर्शनीले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्नमा मद्दत पुग्ने विश्वास उनको छ ।  –रासस

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १९:४४
प्रतिक्रिया दिनुहोस्