एक रातको कथामा ‘महानगर’

बुधबार, साउन ३१, २०८०

काठमाडौँ– नेपालसँगै विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी भइसकेको चलचित्र ‘महानगर’ (वान नाइट इन काठमाडौँ) एक रातको कथामा आधारित छ । ३७ रात छायाङ्कन गरिएको चलचित्रमा महानगर भित्रिनेको सपना र यथार्थलाई दुई चरित्रमार्फत प्रस्तुत गरिएको छ । 

सानो घटनाका कारणसँगै भएका दुई चरित्रको जीवनमा एक रातले ल्याएको परिवर्तनलाई चलचित्रमा उतारिएको लेखक तथा निर्देशक मोहन राईले जानकारी दिए ।

उनले भने, “विभिन्न सपना बोकेर महानगर भित्रिने युवाको सपना र यथार्थलाई देखाउने कोसिस गरेका छौँ । यहाँ बाहिरिया भएर बाँच्नु र सङ्घर्ष गर्नुको मेरो आफ्नै भोगाइ छ । मेरो यही अनुभव र भोगाइलाई क्यामरामार्फत पर्दामा उतारुँ भन्ने सोचले चलचित्र तयार गरेँ । खासमा यो ‘ह्युमन कनेक्सन’ र ‘होप’ बारेको चलचित्र हो ।”

निर्देशक राईले उच्च शिक्षा हासिल गर्न तराईदेखि काठमाडौँ आएपछि जीवनशैली सोचभन्दा भिन्न तरिकाले अगाडि बढेको केही भोगाइलाई चलचित्रमा समावेश गरिएको बताए ।

“महानगरमा मेरा आफन्त थिएँ । तर समय अभावका कारण उहाँमार्फत मार्गदर्शन नपाउँदा सपनाको सहरमा बस्नसमेत सकस भएको भयो किनकी हामीले बाहिरबाट महानगरलाई बुझ्न सक्दैनौँ । यस्तोमा दोष कसैको छैन किनकी यहाँ सबैको जीवन आफ्नै गतिमा अगाडि बढिरहेको छ”, निर्देशक राईले भने, “भौतिकरुपमा प्रगति हुँदै गर्दा देखिने दुई विभाजनलाई खुसी र आशिषको पात्रमार्फत व्यक्त गर्ने कोसिस गरेको छु । खुसी आफूलाई परिवर्तन गर्न सक्दिनन् भने आशिष सहरले उब्जाएको रहरमा आफूलाई भुलिसकेको छ । उनीहरूको एक रातको भेटको कथा चलचित्रमा छ ।”

चलचित्रमा खुसीको भूमिका निर्वाह गर्नुभएकी अभिनेत्री मेनुका प्रधानले रातको सुन्दरतालाई बुझ्न पाएको बताए । उनले भने, “हामीले रातको दृश्यलाई सोही समयमा छायाङ्कन गरेका हौँ । रातभर छायाङ्कन गर्ने र दिनभर सुत्ने भएका थियौँ । यसले मलाई रातको संसारसँग परिचित गरायो ।”

उनले पात्रका केही स्वभाव आफूसँग मिल्ने भए पनि पूर्णरुपमा अलग रहेको जानकारी दिए । उनले भने, “खुसीमार्फत समाजलाई गहनरुपमा बुझ्ने मौका पाएँ ।” चलचित्रमा अनोज पाण्डे, सोविता अधिकारी, जीवन बराल, परीक्षित विक्रम राणा, चन्द्र पाण्डे, राज पौडेललगायत कलाकारले अभिनय गरेका छन् । 

चलचित्रमा नरेन्द्र मैनालीले छायाङ्कन, परीक्षित झाले सम्पादन, किशोर आर्चायले ध्वनि सम्पादन तथा पुष्पा सङ्गमले सङ्गीत सिर्जना गरेका छन् । चलचित्रले विभिन्न महोत्सवमा सहभागी भएर ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा उत्कृष्ट चलचित्र, उत्कृष्ट पटकथा, अभिनय तथा निर्देशनलगायतका विधामा अवार्ड जितेको थियो । 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  २०:२२
प्रतिक्रिया दिनुहोस्