मुम्बई लैजादैँ गरिएकी नेपाली किशोरीको उद्धार

बिहीबार, साउन २५, २०८०

काठमाडौँ– मुम्बई लैजादैँ गरिएकी एक नेपाली किशोरीलाई उद्धार गरिएको छ । दैलेख जिल्ला घर भएकी ती किशोरीलाई चाईल्ड लाइन, दिल्ली पुलिस र ‘किन इन्डिया’को संयुक्त प्रयासमा ‘नयाँ दिल्लीस्थित पुलिस स्टेशनबाट उद्धार गरिएको हो । 

किन इन्डियाका परामर्शकर्ता लक्ष्मी विष्टकाअनुसार एक  व्यक्तिले राम्रो काम लगाइदिने र चलचित्रमा समेत काम दिलाइदिने प्रलोभनमा पारी ती किशोरीलाई घरपरिवारमा जानकारी नगराई लगिएको थियो । 

मुम्बई जान हिँडेकी उनलाई त्यहाँ कुन ठाउँ जाने भन्नेसमेत जानकारी नभएको उनले जानकारी गराइन् । बालिकालाई अहिले नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको  समन्वयमा ‘सिडब्लु सी’ मा पेस गरी सुरक्षित आवास गृहमा राखेर परामर्श भइरहेको र  कानुनी प्रक्रिया पूरा गरी स्वदेश फिर्ता गराइने किन इन्डियाका नेपाल प्रमुख इन्द्रराज भट्टराईले जानकारी दिए । 

उनले कुनै पनि सामाजिक सञ्जालबाट लोभ लालच दिएर बोलाउँदा विश्वास नगर्न र घरपरिवारको जानकारीबिना कहीँ कतै नजान महिला तथा बालबालिकालाई अनुरोधसमेत गरेकी छिन्  । 

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १९:५७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार
थप समाचार