साधारण सेयर जारी गर्दै विद्युत् प्राधिकरण, ‘एए प्लस क्रेडिट रेटिङ

बिहीबार, साउन २५, २०८०

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले निकट भविष्यमा साधारण सेयर बिक्री गर्ने भएको छ । त्यसका लागि वास्तविक सम्पत्ति मूल्याङ्कन गरिसकिएको छ । 

प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको तेस्रो वित्तीय पुनःसंरचना तयार गरी प्राधिकरण ऐन, २०४१  बमोजिम प्राधिकरणको सेयर सर्वसाधारणमा जारी गर्ने प्रक्रिया अगाडि बढाइएको  जानकारी दिए ।

प्राधिकरणको क्रेडिट रेटिङ गराउँदा एए प्लस प्राप्त गरेको छ । यो भनेको संस्थाले आर्थिकरूपमा सबल रहेको स्पष्ट पारेको छ । उपयुक्त स्थानमा उपयुक्त व्यक्ति भन्ने अवधारणाका आधारमा जिम्मेवारी दिई ग्राहकलाई दिने सेवामा सुधार गर्न, विद्युत् चुहावट नियन्त्रण, विद्युत् महसुल बक्यौता असुलीलगायतलाई मानक मानी कार्यसम्पादन सम्झौतालाई निरन्तरता दिइएको उनको भनाइ छ ।

आव २०७७÷७८ मा १७ दशमलव ३८ प्रतिशत रहेको विद्युत् चुहावट तीन दशमलव ९२ प्रतिशतले घटेर हाल १३ दशमलव ४६ प्रतिशत पुगेको छ । वितरणतर्फको विद्युत् चुहावट नौ दशमलव ७६ प्रतिशतमा सीमित भएको छ ।

यसबीचमा मधेस, बागमती र गण्डकी प्रदेशमा सारभूतरूपमा पूर्ण विद्युतीकरण भएका छन् । कोशी प्रदेशमा ९५ प्रतिशत, लुम्बिनी प्रदेशमा ९८ प्रतिशत, कर्णाली प्रदेशमा ६७ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ८२ प्रतिशत विद्युतीकरण भएको छ । कुल सात सय ५३ स्थानीय तहमध्ये प्राधिकरणको प्रणालीबाट पाँच सय पाँच स्थानीय तह सारभूतरूपमा पूर्ण विद्युतीकरण भएको छ । 

त्यस्तै दुई सय २७ वटा स्थानीय तहका अधिकांश स्थानमा र २१ वटा स्थानीय तहहरूका अधिकांश स्थानमा सोलार, साना तथा लघुजलविद्युत्मार्फत विद्युतीकरण भएका छन् । आगामी दुई वर्षभित्र मुलुकभर विद्युतीकरण गर्ने सरकारको घोषणालाई कार्यान्वयन गर्न सम्पूर्ण तयारीका साथ काम भइरहेको छ ।

प्रतिव्यक्ति ऊर्जा खपत करिब दुई सय ३५ युनिट रहेकामा अहिले बढेर तीन सय ८० युनिट पुगेको छ । पछिल्ला दुई वर्षमा उद्योगको आठ सय एमभीए बराबरको विद्युत् लोड स्वीकृत गरिएको छ ।

प्र्राधिकरणका अनुसार काठमाडौँ उपत्यका, भरतपुर र पोखरा महानगरपालिका क्षेत्रका विद्युत् वितरण प्रणालीलाई भूमिगत काम सुरु गरिए पनि केही ढिलाइ भएको छ । यस्तै ग्राहकलाई सिङ्गल फेज कनेक्सन तीन दिनमा र थ्री फेज मिटर १० दिनमा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

यसैगरी सहर उज्यालो कार्यक्रमअन्तर्गत ललितपुर, पोखरा, भरतपुरलगायत देशका आठ  नगरपालिकामा ११ हजार पाँच सय सडक बत्ती र ६७  हाइमास्ट जडान सम्पन्न भएको जानकारी दिइयो । काठमाडौँलगायत २७ वटा पालिकामा सडक बत्ती जडान कार्य अगाडि बढाइएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १८:०६
प्रतिक्रिया दिनुहोस्