रुकुम पूर्वमा २२२ किलो नक्कली मह नष्ट

सोमबार, जेठ ८, २०८०

रुकुम पूर्व- रुकुम पूर्वमा दुई सय २२ किलो नक्कली मह नष्ट गरिएको छ । रुकुम पूर्वको भूमे गाउँपालिका–२ खाबाङ बगरमा बेवारिसे अवस्थामा रहेको महलाई प्रहरीले नियन्त्रणमा लिइ नष्ट गरेको हो ।

शनिबार भूमे–२ स्थित इलाका प्रहरीचौकी काक्रिको टोलीले गस्तीको क्रममा आठ  पहेलो जरकिनमा र १६  सानो प्लास्टिकको डिब्बामा राखेको अवस्थामा नक्कली मह फेला पारेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । 

उक्त नक्कली महलाई सरोकारवाला निकायको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी प्रमुख अन्जना श्रेष्ठले जानकारी दिए । उनका अनुसार यस्तो नक्कली मह बनाई बिक्री वितरण तथा अन्य प्रयोजनले नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले सो कार्य कसले किन र कहिलेदेखि गर्यो यसमा कोको संलग्न छन भनी अनुसन्धान भइरहेको छ । 

प्रहरीले यस अगाडि पनि ८० किलो भिर मौरीको मह जिल्लाभित्रै बेवारिसे अवस्थामा फेला परेको थियो । यसलाई जिल्लाको डिभिजन वन कार्यालयमा पठाई परीक्षण पश्चात लिलाम गरिएको प्रहरीले जानकारी दिएको छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  ०८:४२
प्रतिक्रिया दिनुहोस्