प्रहरीमा जागिर छाड्ने बढे, करिव ७ वर्षमा झण्डै १० अर्ब नोक्सान 

मंगलबार, जेठ २, २०८०

काठमाडौँ - दोलखा मकैबारीका राजिव कार्कीले (नाम परिवर्तन) दुई पटकको प्रयासबाट २०७१ सालमा नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा जागिर खाए । 

प्लस ‘टु’को अध्ययन  सकिने वित्तिकै प्रहरी सेवामा प्रवेश गर्न प्रयास गरेका उनी ‘ब्याचलर’ सकिएपछि बल्ल असईमा नाम निकाल्न सफल भएका थिए । तर, जागीर खाएको ४ वर्षमै अमेरिकाको डिभी परेपछि उनी जागिर छाडेर उतै पलायन भए । 

राजिव मात्र होइन, उनकै ब्याची काभ्रेका असई सहदेव खड्का (नाम परिवर्तन) पनि जागिर खाएको पाँचौं वर्ष चल्दै गर्दा जागिर छाडेर खाँडी मुलुक कतारमा सेक्युरिटी गार्डको काम गर्न गए । प्रहरी संगठनबाट आएको तलवबाट घर व्यवहार धान्न कठिन भएपछि पारिवारिक सल्लाहमा नै उनले जागिर छाडेका हुन् । 

राजिव र सहदेव जस्तै नुवाकोटका रमेश थापा (नाम परिवर्तन) प्रहरी जवानमा जागिर खएको ६ वर्षपछि जागिर छाडेर साहुको ट्याक्सी चलाउन थालेका छन् । प्रहरीबाट आएको तलवले परिवार धान्न नसकेपछि जागिर छाडेर ट्याक्सी चलाउनु परेको उनको गुनासो छ ।

यी त नेपाल प्रहरीको जागिर छाड्ने प्रतिनिधिमुकल उदाहरण मात्र हुन् । पछिल्ला वर्षहरुमा नेपाल प्रहरीको जागिर छोड्नेको लर्काे लागेको छ । अघिल्लो महिना प्रहरी प्रधान कार्यालय नक्सालले दश जना प्रहरी सम्पर्कमा नरहेकाले कार्यालयमा हाजिर हुन आउन भन्दै सूचना नै जारी गरेको थियो । 

प्रहरीले जारी गरेको सूचना अनुसार फरार हुने सूचीमा सूचीमा दीपेन्द्र सिंह, निरकुमार राई, दिपु अग्रवाल, गोविन्द केसी, राफल यादव, विशाल कुमार राई, आनन्द मण्डल, धर्मेन्द्र विक, आलेश थापामगर र हरिराज विक थिए । 

यसरी प्रहरीमा जागिर छोटो समयमा नै जागिर छोड्न पलायन हुने घटना दोहोरिन थालेको छ । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो साढे ५ वर्षको अवधिमा मात्र ९ हजार २४८ जना प्रहरीले जागिर छाडेका छन् । 

प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार जागिर छाड्नेमा प्रहरीको तल्लो दर्जाका कर्मचारीदेखि प्रहरी नायव महानिरीक्षक (डीआईजी) सम्म रहेका छन् । तथ्याङ्अनुसार आर्थिक वर्ष २०७४/७५ देखि गत फागुन १६ गतेसम्म करिब साढे ५ वर्षको अवधिमा ४ जना डीआईजीले जागिर छाडेका छन् । 

jagir-chhodne-police1684215379.JPG

त्यस्तै वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) ३ जना,  प्रहरी उपरीक्षक (एसपी) ५ जना, प्रहरी नायव उपरीक्षक (डीएसपी) १७ जना, प्रहरी निरीक्षक (इन्स्पेक्टर) ६१ जना, प्रहरी नायव निरीक्षक (सई) ४५५ जना, प्रहरी सहायक निरीक्षक (असई) १ हजार ३३१ र बाँकी असईभन्दा तल्लो पदका रहेका छन् । आगामी असारसम्म यो संख्या बढ्ने अनुमान गरिएको छ । 

करिव ७ वर्षमा झण्डै १० अर्व नोक्सान 

२०७४ साउन यता प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी नायव महानिरीक्षक (डीआईजी) सम्म ९ हजार ३ सय ३१ प्रहरीले जागिर छाडे । एकजना सामान्य मान्छेलाई प्रहरी बनाउन राज्यले लाखौँ खर्च गरेको हुन्छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एक अधिकृतका अनुसार प्रहरीमा इन्डोर भएपछि पासआउट नहुँदासम्म दिइने ८ महिनाको तालिम खर्च, तलब र भत्तासमेत जोड्दा एकजना प्रहरी जवान उत्पादन गर्न ५ देखि ६ लाख खर्च हुन्छ । प्रहरीका अनुसार सम्पूर्ण तालिम सकेर एक जनालाई प्रहरी अधिकृत (इन्सपेक्टर) बनाउन राज्यकोषबाट करिव २० लाख रुपैयाँ खर्च हुन्छ । त्यसैगरी असई बनाउन १५ लाख र जवान बनाउन १० लाख रुपैयाँसम्म खर्च हुन्छ ।

यो समग्र हिसाव गर्दा करिव ७ वर्षको अवधिमा जागिर छाड्ने प्रहरीका कारण १० अर्ब रुपैयाँभन्दा बढी नोक्सान भएको देखिन्छ । 

किन राजीनामा ? 

केही समय अघि मात्र डीआईजी अशोक सिंहले सर्टिफिकेटमा उमेर विवाद आएपछि राजीनामा दिए । २०७४ सालमा डीआईजी नवराज सिलवालले प्रहरी महानिरीक्षक (आईजीपी) हुन नपाएर राजीनामा दिएका थिए । 

यस्तै, कम्प्युरटर निर्देशनालयकी शीला कंसाकारले घरायसी कारण देखाउँदै जागिर छाडेकी हुन् । प्रहरी महानिरीक्षक (आईजीपी) मा सर्वेन्द्र खनाललाई नियुक्त गरेसँगै प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले राजीनामा दिए ।

माथिल्ला पदका प्रहरी कर्मचारीले इगोकै कारण राजीनामा दिँदै आए पनि तल्लो दर्जाले भने परिवार धान्न मुस्किल भएपछि वैदेशिक रोजगारीमा जान राजीनामा दिने गरेका छन् । केहीले जागिरभन्दा वैदेशिक रोजगारीमा राम्रो आम्दानी देखेपछि पनि जागिर छाड्ने गरेका छन् । 

नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुबेर कडायतका अनुसार प्रहरीले यसरी विचैमा जागिर छाड्दा  एकातिर राज्यलाई घाटा भइरहेको छ भने अर्कातिर जागिर छाड्नेहरु सस्तोमा श्रम बेचिरहेका छन् ।

प्रहरी संगठनलाई राम्ररी बुझेका जानकारहरुले भने इगो र संगठनभित्रको अन्यायका कारण राजीनामा दिने गरेको बताएका छन् । तल्लो दर्जामा रहनेहरुले भने प्रहरीको जागिरले परिवार धान्न मुस्किल भएपछि बैकल्पिक पेशा रोज्दा प्रहरीको जागिर छोड्ने गरेको पाइएको छ । उनीहरु वैदेशिक रोजगारीमा जाने गरेको पाइएको छ । पूर्वडीआइजी केशव अधिकारीका अनुसार सेवा सुविधाका साथसाथै विकसित देशको भिसा लाग्दा, डिभी चिट्ठा पारेर पनि प्रहरीको जागिर छाड्ने गरेको पाइएको छ ।

अर्कातिर प्रहरीभित्र सिनियर प्रहरी अधिकृतबाट हुने व्यवहार, ओभरटाइम ड्युटी, सेवा सुविधा, मुल्यांकनलगायतका कारणले जुनियर प्रहरीहरुले राजीनामा दिने गरेको पाइएको छ । यसबाहेक नसिहत, स्पष्टिकरण, ग्रेड रोक्का लगायतका कारणले पनि जागिरबाट राजीनामा दिने क्रम बढेको छ । अझ १८ वर्षमै पेन्सन लिन पाइने भएपछि तल्लो दर्जाका प्रहरीले ३० वर्ष पूरा नगरी जागिर छाड्ने गरेका छन् । उनीहरू जागिरपछि अन्य पेशामा जाने गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  ११:१७
प्रतिक्रिया दिनुहोस्