३ लेडी माननीयलाई प्रश्न– संसदमा रेकर्डका लागि मात्रै बोलिएका ‘रुन्चे कुराले’ हुन्छ ?

मंगलबार, वैशाख २६, २०८०

अहिले बजारमा डा. आरजु राणाको आलोचना र विरोध मात्रै विक्छ । डाक्टर आरजुले घुष खाइन्, कमिसनमा मोलमोलाइ गरिन्, फलानो काण्डमा उनको संलग्नता छ भनेर भनिदियो भने जसले पनि पत्याउने अवस्था सिर्जना भएको छ । डा. आरजु जन्मिनुभन्दा अगाडिको कुनै भ्रष्टाचार काण्डमा पनि उनको नाम मुछिदियो भने ‘त्यो त हो’ भन्नेहरु जुनसुकै चोकमा भेटिन थालेका छन् ।

यद्यपि, डा. आरजु राणालाई अहिलेसम्म राज्यका कुनै पनि निकायले भ्रष्टचारको अभियोगसम्म पनि लगाएको छैन । र, उनको संलग्नता भनिएका काण्डहरुको अनुसन्धान भएर उनले ‘क्लिनचिट’ पाएको अवस्था पनि छैन । 

आजको दिनमा डा. आरजु राणाको पक्षमा केही बोल्यो वा लेख्यो भने सामाजिक वहिस्करणमा परिने खतरा पनि छ । र, उनको विपक्षमा बोल्यो वा लेख्यो भने अपरिचित व्यक्तिले पनि फूलमाला लगाइदिने सम्भावना बढेको छ, जुन लोकतान्त्रिक समाजको लागि घातक विषय हो ।

डा. आरजु राणाको बारेमा यति लेखेपछि अब लागौं मुल विषयतिर ।

यो साता संसदमा ३ जना नेतृले बोलेका कुरा दूरगामी महत्वका छन् । सांसदहरु डा. आरजु राणा, डा. तोसिमा कार्की र कमला पन्तले बोलेका कुरा वास्तवमा अति महत्वपूर्ण र कार्यान्वयन गर्न सके नेपालको राजनीति शुद्धीकरणको ‘माइलस्टोन’ हुने प्रकृतिका छन् ।

यो साताको पहिलो दिन आइतबारको प्रतिनिधि सभा बैठकमा डा. राणाले आफूमाथि लागेका आरोपका विषयमा बोलिन् । आफ्नो सफाइ दिइन्, जुन सामान्य विषय हो ।

तर, राजनीतिक नेतृत्वबाट भएका, हुनसक्ने र भए भनिएका भ्रष्टाचारका विषय निरुपणको लागि डा. राणाले संसदमा एउटा गज्जव प्रस्ताव गरिन् । राणाले सांसदहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न आग्रह गरिन् ।

डा. राणाले भनिन्– ‘भ्रष्टाचारको कुरामा हामी साँच्चिकै कति सिरियस छौँ भन्ने मेरो प्रश्न छ । यहाँ म नभएको दिनमा मलाई इङ्गित गरेर अनेक प्रश्नहरू उठेका छन् । मैले केही बिराएको छैन, म डराउँदिनँ । हामीले पटक–पटक सम्पत्ति विवरण बुझाउँछौँ, मेरो श्रीमान् पाँच–छ पटक प्रधानमन्त्री हुनुभयो । मेरोलगायत मेरो श्रीमानको सम्पत्ति विवरण सरकारसँग सुरक्षित छ । म अनुरोध गर्न चाहान्छु, हामी जत्ति जना सांसद छौँ, सबैको सम्पत्ति विवरण वेबसाइटमा राखियोस्, सार्वजनिक गरियोस् । हामी कहिले कुन अवस्थामा थियौँ, कसको कति सम्पत्ति थियो ? कसको बढ्यो ? कसको घट्यो ? के श्रोत हो ? सबैको सम्पत्तिको छानविन होस् ।’

सर्वाेच्च अदालतका पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरालाई महाअभियोग लगाउने चर्चाको बेलामा वरिष्ठ कानुन व्यवसायीहरुले अदालतमा किलोको दरमा जोखेर हजार दरका नोट घुष लेनदेन हुने दाबी गरेका थिए । र, अदालतमा भ्रष्टाचार व्यापक छ भन्ने कानुन व्यवसायीहरुको भनाइ थियो ।

डा. आरजु राणाको प्रस्ताव अनुसारको प्रणाली स्थापित गर्ने हो भने न्यायपालिकाभित्रको भ्रष्टाचार न्यूनिकरणमा पनि सहयोग पुग्छ ।

डा. राणाले भनेकी छिन्– ‘भारतमा हरेक महिना न्यायालयका कर्मचारीले आफ्नो सबै हिसाब बिल सार्वजनिक गर्नुपर्छ । के हामी त्यस्तै कानून यहाँ ल्याउन सक्छौँ ? कुरा ठूलठूला गर्ने, भाषण जे पनि गर्ने । अनि तथ्यमा आधारित हुनुपर्छ कि पर्दैन ?’

यसै साताको दोस्रो दिन सोमबार राष्ट्रिय सभाको बैठकमा कांग्रेस नेतृसमेत रहेकी सांसद कमला पन्तले त्यस्तै महत्वपूर्ण विषय उठाइन् । उनले अबैध तरिकाले धन आर्जन गर्नेहरुसँग नगद रहेको र त्यस्तो नगद ५ सय र हजार दरका नोट रहेकोले ती दरका नोट प्रतिवन्ध लगाउनु पर्ने उनको सुझाव छ ।

सांसद पन्तले भनेकी छिन्– ‘भन्सारमा कहाँ चुहावट, अर्थमन्त्रीलाई जानकारी छैन भन्ने कुरामा म विश्वास गर्दिनँ । बोरामा बाँधेका पैसाहरुलाई, ५ सय र हजारका नोटलाई ‘ब्याण्ड’ गराँै । यदि हामीले समस्या बुझेका छौँ, सकिन्छ र हिम्मत छ भने यत्ति गर्न सके पलायन हुँदै गएको अर्थतन्त्रबाट बच्न सक्छौँ । रुन्चे कुराले हुन्छ ?’ 

मंगलबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा तोसिमा कार्कीले डा. आरजु राणाको प्रस्तावप्रति समर्थन गरिन् । यद्यपि, उनी डा. राणाको विरोध गर्दा उनको प्रस्तावको समर्थन गर्ने ठाउँमा पुगेकी थिइन् ।

डा. कार्कीले भनिन्– ‘सदन देश निर्माणको छलफल गर्ने ठाउँ हो कि एक भ्रष्टाचारीले अर्काे भ्रष्टाचारीलाई जोगाउने प्रहसन स्थल हो ? सम्पत्ति सार्वजनिक गर्ने कुरा पनि उठ्यो । हामी सम्पूर्णले यो सदनलाई सम्पत्ति विवरण बुझाइसकेका छौं । आजै, तत्कालै वेबसाइट मार्फत सम्पत्ति विवरण सार्वजनिक गरियोस् । र, करसहितको स्रोत खोज्न पनि निर्देशन दिइयोस् ।’

डा. राणाले सम्पत्ति विवरण सार्वजनिक गर्न चुनौति दिइन् । आफूले अवैध तरिकाले धन आर्जन गरेको नभएपनि अनावश्यक आरोप खेपेर सार्वजनिक बेइज्जत गर्न खोजिएको डा. राणाको आशय देखिन्छ । सांसद पन्त भने अवैध तरिकाले धन आर्जन गर्नेहरुसँग भएको हजार र पाँच सय दरको नोटलाई कागजको खोस्टो सरह बनाउने उपायको खोजीमा देखिन्छिन् । डा. कार्की भने सांसद र नेताहरुले कमाएको सम्पत्ति कर तिरेको र बैधानिक छ भन्ने सन्देश प्रवाह होस् भन्ने चाहनामा छिन् ।

यी ३ जना नेतृमध्ये पन्त २०४६ सालमा प्रजातन्त्र पुनस्थापन गर्न भएको आन्दोलनमा सक्रिय रुपले संलग्न व्यक्ति हुन् । उनको लामो राजनीतिक संघर्ष छ । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती डा. राणा सामाजिक क्षेत्रमा अन्तराष्ट्रिय परिचय बनाइसकेकी व्यक्ति हुन् । डा. तोसिमा कार्की ‘जान्नेलाई छान्ने’ नारा दिएर उदाएको नयाँ राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद हुन् ।

अहिले नेपालको सबैभन्दा ठूलोमध्येको समस्या भ्रष्टाचार हो । र, भ्रष्टाचारमा नेता जोडिने अर्काे दुखद र अप्रिय सत्य भएको छ । नेता नजोडिएका भ्रष्टाचारका ठूला काण्ड कुनै छैनन् । त्यसैले नेताजति सबै भ्रष्ट छन् भन्ने आम मनोविज्ञान बनेको छ । 

सांसदहरु पन्त, डा. राणा र डा. कार्कीले संसदमा राखेका विषय कार्यान्वयन गर्ने हो भने भ्रष्ट नेताले जाने ठाउँ जेलबाहेक अन्यत्र देखिदैन । र, इमान्दार नेताले टाउको झुकाएर हिड्नु पर्ने दिन सकिन्छन् । र, अबैध धन आर्जन गर्नेहरुले राज्य संयन्त्रलाई प्रयोग गरेर सम्पत्ति शुद्धीकरण गर्ने हर्कत पनि बन्द हुन सक्छ ।

तर, डा. राणा, पन्त र डा. कार्कीले भने जस्तै गरी सांसदहरुको सम्पत्ति विवरण वेबसाइट मार्फत सार्वजनिक गर्ने तथा ५ सय र १ हजार दरका नोटमा प्रतिवन्ध लगाउने आँट यो संसदसँग छ ?

छैन । संसदसँग मात्रै होइन, यही विषय उठाउने माननीयसँग पनि त्यो आँट देखिदैन । किनभने आफ्नो सम्पत्ति विवरण सार्वजनिक होस भन्ने चाहना सही अर्थमा थियो भने डा. आरजु राणा वा डा. तोसिमा कार्कीले सो सम्बन्धी प्रस्ताव संसदमा दर्ता गराउन सक्छन् । संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव वा संकल्प प्रस्ताव राखेको भए यी डाक्टरद्वयले साच्चै काम होस भन्ने चाहेका छन् भन्ने देखिन्थ्यो ।

तर, डा. राणा र डा. कार्कीले सस्तो लोकप्रियता र आफूमाथिको आरोप मन्थर पार्ने प्रयोजनको लागि सांसदको सम्पत्ति सार्वजनिक गर्ने विषय उठाएका हुन् । 

सांसदको सम्पत्ति सार्वजनिक गर्ने विषय संसदले पास नगरी कार्यान्वयन हुन सक्दैन । आज कति जना सांसद आए, कति जना अनुपस्थित रहे र कुनकुन सांसद आए, कुनकुन आएनन् भनेर नामसमेत सार्वजनिक गर्न नसक्ने सभामुख वा संसद सचिवालयले सबै सांसदको सम्पत्ति विवरण सार्वजनिक गर्ने आँट गर्दै गर्दैन । 

यस्तै, सांसद पन्तले हजार र ५ सय दरका नोटमाथि प्रतिवन्ध लगाउनै पर्छ भनेर सो अभिव्यक्ति दिएकी हुन् भने उनले पनि यो सम्बन्धी प्रस्ताव राष्ट्रिय सभामा पेश गर्न सक्छिन् । तर, उनले प्रस्ताव पेश गरिनन् । मात्र संसदको रेकर्ड प्रयोजनका लागि लोकप्रिय कुरा बोलिन् । 

नेतृत्रयले उठाएको विषय संसदमा रेकर्ड भने भएको छ । तर, कार्यान्वयन भएको छैन । जनता चाहन्छन– सांसदहरुको सम्पत्ति विवरण सार्वजनिक होस् र अबैध तरिकाले धन आर्जन गर्नेहरुको धन कागजको खोष्टो सरह होस् । तर, त्यसो हुनेतिर कसैको ध्यान छैन । 

त्यसैले संसदमा बोलेको एक साता पनि नवित्दै सांसद डा. राणालाई उनकै शब्द सापटी लिएर सोध्नुपर्ने भएको छ – भ्रष्टाचारको कुरामा तपाईं साँच्चिकै कति सिरियस हुनुहुन्छ ? अनि सांसद पन्तलाई पनि सोध्नु पर्ने भएको छ– यस्ता रुन्चे कुराले मात्रै हुन्छ ? डा. कार्कीलाई पनि सोध्नुपर्ने भएको छ– सदन देश निर्माणको छलफल गर्ने ठाउँ हो कि प्रहसन स्थल हो ?

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १७:१३
प्रतिक्रिया दिनुहोस्