महोत्तरीमा प्रहरीद्वारा अश्रुग्यास र हवाई फायर

सोमबार, वैशाख ११, २०८०

महोत्तरी– महोत्तरी जिल्लाको गौशालामा नेपाल प्रहरीले ९ राउण्ड हवाई फायर  १३ राउण्ड अश्रुग्यास प्रहार गरेको छ। 

गौशाला नगरपालिका–४ स्थित मल्हिनियाँमा आज स्थानीयले ढुंगामुढा गरेर प्रहरीलाई घाइते बनाएपछि अश्रुग्यास र हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

प्रहरी प्रवक्ता डीएसपी दिलीपकुमार गिरीका अनुसार इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोजकुमार यादव र सशस्त्र प्रहरी वेस क्याम्पका प्रहरी निरीक्षक शंकर थापा घाइते भएका छन् । अश्रुग्यास र हवाई फायर गरी अहिले अवस्था सामान्य बनाइएको प्रवक्ता गिरीले बताए ।

केही दिनअघि विष सेवनबाट मृत्यु भएकी स्थानीय आरती शाहलाई परिवारका सदस्यले हत्या गरेको आरोप लगाउँदै दोषीलाई कारबाहीको माग गर्दै स्थानीय महिला सञ्जालले आन्दोलन गरिरहेको छ ।

प्रहरीले घटनाका मुख्य आरोपी मृतकका श्रीमान् उमेश साहलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाए पनि पीडित मृतककी माइती पक्ष र स्थानीय महिला सञ्जालले कारबाहीको माग गर्दै आज बिहानैदेखि आन्दोलन गरेका हुन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १८:००
प्रतिक्रिया दिनुहोस्