राजस्व ४७ प्रतिशत मात्रै, सरकारी ढुकुटी घाटामा

बिहीबार, चैत ३०, २०७९

काठमाडौं–लक्ष्य अनुसारको राजस्व उठ्न नसकेर सरकार गम्भीर समस्यामा परेको छ ।

राजस्वको लक्ष्य बढी राखेर सोही अनुपातमा खर्च गर्दा खर्च हुने तर आम्दानी नहुने (राजस्व नउठ्ने) समस्यामा सरकार परेको हो ।

सरकारको आम्दानी र खर्चको हिसाव राख्ने निकाय महालेखा नियन्त्रकको कार्यालयका अनुसार चैत २८ गतेसम्ममा सरकारको ढुकुटी करिब २ खर्ब रुपैयाँ घाटामा रहेको छ ।  कार्यालयले दिएको जानकारी अनुसार चैत २८ गतेसम्ममा सरकारले ७ खर्ब ८ अर्ब ४७ करोड ९३ लाख रुपैयाँ प्राप्ति गरेको छ भने ८ खर्ब ९५ अर्ब १३ करोड ५९ लाख रुपैयाँ खर्च गरेको छ ।

यो अवधिमा सरकारले प्राप्त गरेको रकम र गरेको खर्चको फरक १ खर्ब ८६ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ छ । अर्थात सरकारी ढुकुटी १ खर्ब ८६ अर्ब रुपैयाँले घाटामा छ ।

आर्थिक वर्षको ९ महिना वितिसक्न लाग्दा पनि सरकारले वार्षिक लक्ष्यको आधा पनि राजस्व संकलन गर्न सकेको छैन । चालु आर्थिक वर्षमा सरकारले १४ खर्ब ५८ अर्ब ६० करोड ५३ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, चैत २८ गतेसम्ममा जम्मा ७ खर्ब ८ अर्ब ४७ करोड ९३ लाख रुपैयाँ मात्रै राजस्व संकलन भएको छ । यो अवधिमा सरकारले गरेको राजस्व संकलन वार्षिक लक्ष्यको ४८.५७ प्रतिशत मात्रै हो ।

सरकारले वार्षिक खर्चको लक्ष्य भने राजस्व संकलनको भन्दा केही बढी गरेको छ । चैत २८ गतेसम्ममा सरकारले ८ खर्ब ९५ अर्ब १३ करोड ५९ लाख रुपैयाँ खर्च गरेको छ । यो खर्च वार्षिक लक्ष्यको ४९.९ प्रतिशत हो । चालु आर्थिक वर्षमा सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो ।

चालु आर्थिक वर्षको चैत २८ गतेसम्ममा सरकारलाई सबैभन्दा ठूलो धक्का अनुदान प्राप्तिमा लागेको देखिएको छ । बजेट बनाउने समयमा हचुवाको भरमा अनुदानको लक्ष्य राखेका कारण र पछिल्लो समय विश्व आर्थिक मन्दी बढेकोले पनि लक्ष्य अनुसार अनुदान प्राप्त नभएको सरकारी अधिकारीहरुको भनाइ छ । सरकारले चैत २८ गतेसम्ममा वार्षिक लक्ष्यको जम्मा ८.६६ प्रतिशत मात्रै अनुदान प्राप्त गरेको छ । चालु आर्थिक वर्षमा ५५ अर्ब ४५ करोड ८३ लाख रुपैयाँ अनुदान प्राप्त गर्ने सरकारको लक्ष्य थियो ।

गैरकर राजस्व संकलनमा केही बढी देखिए पनि कर राजस्व संकलनको अवस्था भने टिठलाग्दो देखिन्छ । यो अवधिमा सरकारले वार्षिक लक्ष्यको तुलनामा कर राजस्व ४६.४९ प्रतिशत र गैरकर राजस्व ६०.९१ प्रतिशत संकलन गर्न सकेको छ । सरकारले चालु आर्थिक वर्षमा १२ खर्ब ९५ अर्ब ३७ करोड ५८ लाख रुपैयाँ कर राजस्व संकलन गर्ने वार्षिक लक्ष्य राखेको थियो भने १ खर्ब ७ अर्ब ७७ करोड १२ लाख रुपैयाँ गैरकर राजस्व संकलन गर्ने वार्षिक लक्ष्य राखेको थियो ।

चैत २८ गतेसम्मको तथ्यांक हेर्दा सरकारले पुँजीगत बजेट खर्च गर्न सकेको देखिदैन भने आन्तरिक तथा वाह्य ऋणको सावाँ तथा व्याज भुक्तानीमा पनि कन्जुस्याइ गरे जस्तो देखिन्छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले वार्षिक लक्ष्यको २७.५९ प्रतिशत पुँजीगत बजेट खर्च गर्न सकेको छ भने ३८.६८ प्रतिशत वित्तीय व्यवस्थातर्फको बजेट खर्च गरेको छ । 

वित्तीय व्यवस्थातर्फको बजेटबाट नै आन्तरिक तथा वाह्य ऋणको सावाँ तथा व्याजको किस्ता तिर्ने गरिन्छ । सरकारले चालु आर्थिक वर्षमा ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख रुपैयाँ पुँजीगत बजेट खर्च गर्ने लक्ष्य राखेको छ भने २ खर्ब ३० अर्ब २१ करोड ७७ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ ।

सरकारले चालु आर्थिक वर्षको लागि राजस्वको लक्ष्य नै बढी राखेको बजेट बनाएको चर्चा बजेट सार्वजनिक भएकै बेलामा पनि भएको थियो । राजस्वको लक्ष्य अनुसार खर्च बढी भएपछि सरकार अहिले दबाबमा परेको देखिएको छ । यद्यपि, पछिल्लो समय सरकारले खर्च कटौतिलाई प्राथमिकतामा राखेर विभिन्न प्रकारका कार्यक्रमहरु सार्वजनिक गरिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १८:०१
प्रतिक्रिया दिनुहोस्