सोखमा सीमित मोफसलको चित्रकला

बुधबार, फागुन १०, २०७९

धनकुटा– धनकुटाका ५४ वर्षीय चित्रकार मुकुन्द प्रयासले चित्रकला क्षेत्रमा काम गरेको २८ वर्ष भयो । तर उनलाई जिल्लामा सबैले चित्रकार होइन, कार्यक्रमका लागि ब्यानर, ब्याच, फोटोफ्रेमलगायत सामग्री बनाउने मान्छे भनेर चिन्छन् ।

धनकुटा नगरपालिका–७ मा २०५१ सालदेखि रक–भा एन्ड क्राफ्ट सेन्टर चलाउँदै आएका प्रयास चित्रकलाबाट जीविकोपार्जन सम्भव नदेखेपछि व्यायसायिक क्षेत्रमा लागेको बताउँछन् । 

‘मोफसलमा चित्रकलाको बजार छैन’, उनले भने, ‘चित्रकलाको चाहना जीवित राख्न कर्मसियल आर्टको सहारा लिनुपर्‍यो ।’

एउटा चित्र ३०० देखि १० हजार रुपैयाँसम्म बेचेको प्रयास बताउँछन् । उनले हालसम्म करिब ७०० वटा चित्र बनाइसके । 

चित्रकलाबाट जीवन धान्न मुस्किल भएकाले यो आफ्ना लागि सोखमा सीमित भएको प्रयासको भनाइ छ ।

त्यस्तै अर्का चित्रकार डिल्लीराम आले पनि चित्रकला जीवन चलाउनका लागि भन्दा पनि कलाप्रतिको चाहना जीवित राख्न सोखका लागि यसमा लागेको बताउँछन् । धनकुटा नगरपालिका–६ का ६८ वर्षीय आलेले २० वर्षको निजामती सेवामा कार्यरत रहँदादेखि चित्रकलाको क्षेत्रमा काम गर्दै आएका हुन् । 

२०७३ सालमा सेवानिवृत्त भएपछि आले यसलाई पेसाका रूपमा अँगालेर विभिन्न प्रदर्शनी र बालबालिकालाई चित्रकला सिकाउँदै आएका छन् । 

हालसम्म ५ हजारभन्दा बढी चित्र बनाइसकेका उनी भन्छन्, ‘यसबाट जीविका चल्दैन, तर सोखका लागि मात्र चित्र बनाउँछु ।’

चित्रकलाको विषयमा बुझाउन नसक्दा यो ओझेलमा परेको आलेको बुझाइ छ । यी २ चित्रकारको जस्तै ३० वर्षदेखि यस क्षेत्रमा कार्यरत धनकुटा नगरपालिका–६ का ४६ वर्षीय सुशील श्रेष्ठको अनुभव पनि छ ।

१६ वर्षको उमेरबाट चित्रकलातर्फ आकिर्षत भएका श्रेष्ठले यसबाट जीविकोपार्जन नभएपछि २०७६ सालदेखि कमर्सियल आर्टको क्षेत्रमा लागेको बताए ।

हाल सुशील आर्ट सेन्टरको सञ्चालक रहेका श्रेष्ठले भने, ‘सुरुमा सोखले चित्रकलामा लागियो ।’ 

हालसम्म १५० को हाराहारीमा चित्र बनाएका श्रेष्ठले जिल्लामा फाट्टफुट्ट मात्र चित्रको माग आउने र त्यो पनि महँगो भयो भन्नेर गुनासो गर्ने गरेको सुनाए ।

काठमाडौँलगायत ठुला सहरमा चित्रकलाको बजार भए पनि जिल्लामा कला क्षेत्रको प्रचार–प्रसार गर्न नसक्दा बजार अभाव भएको उनको भनाइ छ ।

चित्रकलासम्बन्धी अध्ययन गरिरहेका धनकुटा–६ का सञ्जय धिताल पनि सोखका लागि अध्ययन र चित्रकलामा लागेको बताउँछन् ।

चित्रकला गहन विषय भएकाले यसबारे सर्वसाधारणलाई बुझाउन कठिन भएको उनको भनाइ छ ।

‘चित्रकलाबाट समाजलाई जीवन दर्शन सिकाउन सकिन्छ कि भनेर यस क्षेत्रमा लागेको हँु’, धितालले भने ।
 

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १०:५०
प्रतिक्रिया दिनुहोस्