आमाको हत्या अभियोगमा छोराबुहारी पक्राउ

सोमबार, फागुन १, २०७९

दमौली–आमालाई कर्तव्य गरी मारेको अभियोगमा तनहुँमा छोराबुहारी पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा तनहुँको बन्दीपुर गाउँपालिका–३ शेराका ४७ वर्षीय राजकुमार सार्की र ३५ वर्षीया सुशीला मजाकोटी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

८४ वर्षीय माया सर्किनीको हत्या गरेको अभियोगमा छोराबुहारीलाई आज पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । 

आज बिहान ५ बजे माया सर्किनी मृतावस्थामा फेला परेकी थिइन् । घर नजिकैको गाई गोठमा आगो लगाई गोठ पूर्ण रुपमा जली गाईसमेत मृतावस्थामा रहेको भनी इलाका प्रहरी कार्यालय बन्दीपुर तनहुँ हुँदै जिल्ला प्रहरी कार्यालयमा खबर आएको थियो । 

‘घटनास्थल तथा लासजाँच मुचुल्का गरी प्रारम्भिक अनुसन्धान गर्दा मायालाई निजकै छोराबुहारीले कर्तव्य गरी मारेको खुल्न आएकाले पक्राउ गरी अनुसन्धान थालिएको छ’, खाँणले भने ।

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  २१:४६
प्रतिक्रिया दिनुहोस्