शंकर पोखरेललाई सांसद बनाउने ओलीको तयारी

छविलाललाई राष्ट्रपति दिएर खाली गराउने, रविको सहयोगमा चुनाव जित्ने दाउ
शुक्रबार, माघ २०, २०७९

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेललाई रुपन्देही–१ बाट चुनाव लडाउने तयारी भएको छ । 

दाङ–२ बाट चुनाव हारेका पोखरेललाई प्रतिनिधिसभामा लैजान एमाले अध्यक्ष केपी शर्मा ओलीले नै चासोपूर्वक वातावरण बनाइरहेको एमालेका नेताहरूले जानकारी दिए । 

रुपन्देही–१ खाली गराउने र त्यहाँ हुने उपचुनावमा पोखरेललाई उम्मेदवार बनाएर प्रतिनिधिसभामा लैजाने ओलीको चाहना रहेको एमालेका नेताहरू बताउँछन् ।

अहिले रुपन्देही–१ बाट एमालेका सचिव छविलाल विश्वकर्माले चुनाव जितेका छन् । प्रतिनिधिसभाको सभामुखमा विश्वकर्माको नाम चर्चा आएको थियो । 

उनलाई सभामुख बनाउँदा रुपन्देही–१ खाली नहुने र पोखेरेललाई चुनाव जिताउन सम्भव नहुने देखेपछि ओलीले विश्वकर्मालाई ब्याक गराएको एमालेका नेताहरू बताउँछन् ।  

एमाले अध्यक्ष ओलीले भने विश्वकर्मालाई राष्ट्रपतिको उम्मेदवार बनाउन चाहेको एमाले स्रोत बताउँछ ।

‘एमालेको उम्मेदवार राष्ट्रपति बन्ने अवस्थामा ओलीले विश्वकर्मालाई अघि सार्छन् । त्यसो हुँदा ओलीले चाहेजस्तो हुन्छ । विश्वकर्मा राष्ट्रपति बन्छन् । पोखेरेल सांसद बन्छन्’, एमाले स्थायी कमिटी सदस्य रहेका एक नेताले भने ।

ओलीले यसअघि दाङ–२ नै खाली गराएर पोखरेललाई चुनाव लडाउने प्रयास गरेका थिए । तर, दाङ–२ बाट चुनाव जितेकी माओवादी नेतृ रेखा शर्मा राजीनामा दिन तयार नभएपछि ओलीको प्रयास विफल भएको थियो । 

पुस १० मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएको केही दिनपछि ओलीले प्रचण्डसँग रेखालाई उपराष्ट्रपति बनाएर दाङ–२ खाली गराउन प्रस्ताव गरेका थिए ।

प्रचण्डले पनि ओलीको प्रस्तावमा सहमति जनाएर शर्मासँग कुरा गरेका थिए । तर, शर्माले भने जनताले आफूलाई उपराष्ट्रपति बन्नका लागि जिताएर पठाएको नभई दाङ–२ को विकास र समृद्धिमा योगदानको आस गरेको जबाफ दिएकी थिइन् । 

प्रचण्डसँग कुरा भएको केही दिनमा ओलीसँग भेटेर पनि शर्माले सोही कुरा दोहो¥याएपछि दाङ–२ खाली गराउने योजना विफल भएको थियो । शर्मा अहिले सूचना तथा सञ्चार प्रविधि मन्त्री छिन् । 

दाङ–२ खाली गराउँदा पोखरेलको आफ्नै निर्वाचन क्षेत्र भएकाले जिताउन सहज हुने ओलीको विश्वास थियो । पोखरेल पनि दाङ–२ बाटै निर्वाचित हुन चाहन्थे । 

अहिले भने रुपन्देही–१ खाली हुँदा पनि जिताउन सकिने भन्दै ओलीले त्यसको प्रयास गरिरहेको एमालेका एक स्थायी कमिटी सदस्यले बताए । 

पोखरेललाई चुनाव जिताउन सहयोग पुग्ने देखेर नै ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि काखी च्यापेको ती नेताले सुनाए । 

‘पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री भएका व्यक्ति हुन् । पार्टीले उम्मेदवार बनाएर लैजाँदा कार्यकर्ताको भोट त आइहाल्छ । तर, जनताको भोट भने नआउन सक्छ । लुम्बिनीको राजधानी बुटवलबाट दाङ लगेको भन्दै उनीसँग जनता असन्तुष्ट छन् । त्यसलाई व्यवस्थापन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको सहयोग लिन सकिन्छ भन्ने विश्लेषण छ’, ती नेताले भने । 

रुपन्देहीमा राष्ट्रिय स्वतन्त्र पार्टीले राम्रो मत ल्याएको थियो । उक्त पार्टीका सभापति रवि लामिछानेलाई नै चुनावमा प्रयोग गर्न सकिने भएपछि भोट बढाउन मद्दत पुग्ने विश्लेषण गरेपछि पोखरेल पनि रुपन्देही–१ मा उम्मेदवार हुन तयार भएको ती नेताले बताए । 

राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेको पनि सांसद पनि गुमेको छ । चितवन–२ मा उपचुनाव गर्नुपर्ने छ । 

त्यही समयमा रुपन्देही–१ मा पनि उपचुनाव गराई लामिछाने र पोखरेललाई एकै पटक निर्वाचित गराउने रणनीतिमा एमाले अध्यक्ष ओली रहेको ती नेताले बताए ।
 

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १३:०५
प्रतिक्रिया दिनुहोस्