एक्सक्लुसिभ

प्रचण्डले ओलीलाई भने : राष्ट्रपति र गृहमन्त्री माओवादीकै हुन्छ, जे पर्छ बेहाेर्छु

‘यो प्रधानमन्त्री पद्धति हो । चाहेअनुसारको रिजल्ट ल्याउन मेरै योजनामा चलाउँछु । यो र त्यो मन्त्रीको कुरै नगर्नुस्’
बुधबार, माघ १८, २०७९

काठमाडाैं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता सहयात्रा लामो समय जान नसक्ने स्पष्ट संकेत गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति एमालेलाई र गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिन नसकिने र त्यसबापत सबै जोखिम उठाउन तयार रहेको बताइदिएका छन् । 

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको ओली र प्रचण्डको भेटमा राष्ट्रपति र गृहमन्त्रीको अडान नछाड्दा सत्ता सहयात्रा नै संकटमा परे पनि बेहोर्न तयार रहेको जबाफ प्रचण्डले ओलीलाई दिएका हुन् ।  

बुधबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । 

ओली र प्रचण्डको उक्त भेटवार्ता सौहार्द्रपूर्ण नभएकाे स्रोतले जानकारी दिएको छ । 

प्रधानमन्त्रीको जबाफपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका आफू निकट नेताहरूसँग बालुवाटार भेटवार्ताबारे जानकारी गराएको बुझिएको छ । 

विश्वस्त स्रोत भन्छ, ‘एमाले अध्यक्ष ओली र प्रधानमन्त्रीको बुधबारको भेटपछि २ दलको सत्ता सहयात्रा लगभग टुंगिएको छ । प्रधानमन्त्रीले एमालेलाई राष्ट्रपति र राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्री दिन नसकिने स्पष्ट जानकारी दिएका छन् ।’

ओलीले पूर्वसहमतिअनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिन प्रधानमन्त्री प्रचण्डलाई भनेका थिए । 

ओलीको प्रस्तावलाई प्रचण्डले सीधै इन्कार गरेको स्रोतले बतायो ।

ओलीलाई जबाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भनेका थिए, ‘यो प्रधानमन्त्री पद्धति हो । चाहेअनुसारको रिजल्ट ल्याउन मेरै योजनाअनुसार चलाउँछु । यसबारे कसैलाई सोध्दिनँ । यो मन्त्री र त्यो मन्त्रीको बारेमा कुरै नगर्नुस् ।’

सरकारमा सहभागी दलहरूले आआफ्नो धारणा ल्याउन सक्ने तर, एमालेको एजेन्डा बोकेर आउन नहुने पनि प्रचण्डले ओलीलाई भनेको स्रोतले बतायो । 

राष्ट्रिय स्वतन्त्र पार्टीले सधैँ एमालेको एजेन्डा लिएर आउने गरेको प्रचण्डले आन्तरिक भेटघाटमा बताउने गरेका थिए । 

बुधबार बिहानको भेटमा एमालेलाई राष्ट्रपति दिन नसकिने स्पष्ट जानकारी प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीलाई दिएको स्रोतले बतायो । 

प्रचण्डले ओलीलाई भनेको कुरा उद्ध्रृत गर्दै स्रोतले भन्यो, ‘प्रधानमन्त्री बन्दा र बनेपछिको सम्पूर्ण अवस्था फेरियो । राजनीतिमा तपाईँ आफैँ पनि भुक्तभोगी हुँदै हो । अब माओवादीले राष्ट्रिय सहमतिका आधारमा साझा पात्रलाई भावी राष्ट्रपतिको उम्मेदवारको रूपमा अघि सार्छ । एमालेले पनि मत हाल्छ भन्ने मेरो विश्वास छ ।’

प्रचण्डको जबाफ सुनेपछि ओलीले यस्तो कार्यशैली कम्युनिस्ट आचरणविपरीत भएको प्रतिक्रिया दिएका थिए । 

जबाफमा प्रचण्डले भने, ‘अहिले कम्युनिस्ट र गैरकम्युनिस्टकाे के कुरा रह्यो र ? संविधान जोगाउने, शान्ति प्रक्रिया टुङ्ग्याउने र विकासको काम गर्ने बेला हो ।’

विभिन्न पार्टीको स्वार्थ हेरेर परिवर्तनको विपक्षमा जान सक्ने अवस्था नरहेको पनि प्रचण्डले ओलीलाई भनेको स्रोतले बतायो । 

नेकपा एमालेले र राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको साथ छाडेको अवस्थामा कांग्रेसले सहयोग गर्ने वचन दिएपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति र गृहमन्त्री नछाड्ने दाबी ओलीलाई सुनाएका हुन् । 

एमालेलाई सत्ताबाट बाहिर निकाल्न कांग्रेसले माओवादी केन्द्रकै उम्मेदवारलाई राष्ट्रपतिमा स्वीकार्ने संकेत गरेको स्रोतले बतायो । 

प्रधानमन्त्री प्रचण्डले डा. बाबुराम भट्टराईलाई राष्ट्रपतिको उम्मेदवारीका लागि तयारी गर्न भनिसकेको समेत स्रोतले जानकारी दिएको छ । 

पछिल्लो समय प्रचण्डले एमालेसँगभन्दा कांग्रेससँगको परामर्शमा काम गर्न थालेको स्रोतको दाबी छ । 

स्रोत भन्छ, ‘पुरानो चुनावी गठबन्धन ब्युँतिसकेको छ । अहिलेको गठबन्धन नभत्किसकेकाले मात्रै एमाले–माओवादी सहकार्य देखिएको हो ।’

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  २१:०३
प्रतिक्रिया दिनुहोस्