Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘प्रधानमन्त्री’ जोगाउन माओवादीले छाड्यो उपराष्ट्रपति

उपेन्द्रलाई सहज हुने उम्मेदवार खोज्दै जसपा
बिहीबार, माघ १२, २०७९

काठमाडौँ– सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेको भनिएको उपराष्ट्रपति पद छाडेको छ ।

सत्ता भागबन्डामा माओवादीले प्रधानमन्त्री र उपराष्ट्रपति पद पाएको भनिए पनि अहिले आएर माओवादीले उपराष्ट्रपति पद छाडेको हो ।

सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) ले उपराष्ट्रपति पद आफूले पाउनैपर्ने अडान लिएपछि माओवादी केन्द्र सो पद छोड्न तयार भएको स्रोतले जानकारी दिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच उपराष्ट्रपति पद जसपालाई दिने सहमति भइसकेको स्रोतको दाबी छ ।

‘उपराष्ट्रपति पद जसपालाई नदिँदा धेरै कुरामा गडबड हुने भयो, प्रचण्डलाई प्रधानमन्त्री पद जोगाउनुपर्ने र ओलीलाई सत्ता गठबन्धन जोगाएर राष्ट्रपति पद पनि आफैँले लिनुपर्ने बाध्यताका कारण जसपाले उपराष्ट्रपति पद पाउने अवस्था सिर्जना भएको हो,’स्रोतले सिएन नेपालसँग भन्यो ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच जसपालाई उपराष्ट्रपति पद दिने सहमति भइसकेको स्रोतको दाबी छ ।

ओली र प्रचण्डबीच जसपालाई उपराष्ट्रपति पद दिने सहमति भएसँगै मधेस प्रदेशमा सरकार गठनले गति लिने स्रोतको दाबी छ ।

मधेसमा जसपा प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री बनेका छन् । तर, केन्द्रमा कुरा नमिल्दा उनले सरकारलाई पूर्णता दिन सकिरहेका छैनन् ।

जसपा भने आन्तरिक रूपमा उपराष्ट्रपतिको उम्मेदवारको खोजीमा लागेको छ । जसपा संसदीय दलका नेता रामसहाय यादवलाई उपराष्ट्रपतिका रूपमा अघि सार्ने गृहकार्य जसपा अध्यक्ष उपेन्द्र यादवले थालेका छन् ।

यादवलाई उपराष्ट्रपति बनाउन सकिएको अवस्थामा आफूलाई प्रतिनिधिसभामा छिर्ने बाटो खुला हुन सक्ने आकलन पार्टी अध्यक्ष यादवको छ ।

जसपा सांसद रामसहाय यादव पार्टी संसदीय दलका नेता पनि हुन् । उनी बारा– २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका छन् । उनलाई उपराष्ट्रपति बनाएपछि सो क्षेत्र रिक्त हुने र पार्टी अध्यक्ष यादवले सोही क्षेत्रबाट चुनाव लड्ने योजना बनाइएको स्रोतको दाबी छ ।

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १४:१७
प्रतिक्रिया दिनुहोस्