स्मार्ट पार्किङका नाममा सडक 'कब्जा', उठेको पैसा कहाँ जान्छ ? [भिडियाे]

मंगलबार, माघ १०, २०७९

न्युरोड काठमाडौँको व्यस्त बजार हो । किनमेलका लागि यहाँ निकैै भिड लाग्ने गर्छ ।

क्यानडा नेपालको टोली यही व्यस्त बजार न्युरोड पुग्दा किनमेलका क्रममा बाइक, स्कुटर लिएर आउने सर्वसाधारणले भने पार्किङको समस्या भोगेको देखियो ।

अन्डरग्राउन्ड पार्किङ भएका भवनमा सर्वसाधारणले ‘एक्सेस’ नपाउने र पार्किङका लागि कुनै छुट्टै ठाउँको व्यवस्था नहुँदा सडक किनारमै बाइक पार्किङ गर्नुपर्ने बाध्यता छ । त्यसमा पनि ठाउँ नपाएर हैरान । सर्वसाधारणले पार्किङ गर्दा बाइक, स्कुटर कोरिने, हेलमेट हराउने समस्या भोगेको गुनासो पोखे । 

पार्किङ गर्ने ठाउँमा बाइक÷स्कुटरसँग पैसा उठाउँदै गरेका पहेँला ज्याकेट लगाएका थुप्रै व्यक्ति भेटिए । हामीले उनीहरूसँग पार्किङ व्यवस्थापन र त्यसबापत उठेको रकमको विषयका सोध्न खोज्यौँ ।

धेरै कर्मचारी हामीलाई देख्नासाथ भागे भने केही कर्मचारीले हामीसँग कुरा गरे । प्रायः सबै कर्मचारीको  उत्तर थियो– ‘म नयाँ हुँ, मलाई यस विषयमा केही थाहा छैन । मलाई आफ्नो ‘बोस’ वा आफू काम गर्ने कम्पनीको नाम पनि थाहा छैन ।’

हामीले प्रश्न गर्‍यौं– सडकमा पार्किङ गर्न पाइँदैन, गर्नैपरे पनि पैसा उठाउन पाइँदैन भनेर महानगरपालिकाले भनेको थियो । तपाईंहरू यो पैसा उठाएर कसलाई दिनुहुन्छ ?’

उनीहरूको उत्तर थियो– ‘हामीले पैसा उठाएर कम्पनीलाई दिन्छौँ ।’

कुन कम्पनी ?– ‘कम्पनीको नाम थाहा छैन ।’

महानगरको नेतृत्वमा बालेन्द्र शाह (बालेन) आइसकेपछि सार्वजनिक स्थानमा पर्किङ गर्न नपाइने र गर्नेपरे त्यसको शुल्क उठाउन नपाइने नियम कार्यान्वयन गर्ने बताएका थिए । 

तर स्मार्ट पार्किङका नाममा यसरी पैसा असुल्ने क्रम जारी छ । जो–जसले यसरी शुल्क लिइरहेका छन्, उनीहरू कोही बोल्न चाहँदैनन त कोहीलाई यसबारेमा केही थाहा नै छैन । 

खिचापोखरीमा भेटिएका एक पहेँलो ज्याकेटधारीले भने, ‘कुन कम्पनी हो, कसले चलाउँछ केही थाहा छैन । एक जना साथीले काम लगाइदियो । बेलुका एकजना आएर पैसा लिएर जान्छ, मेरो कमिसन दिन्छ, अरू केही थाहा छैन ।’

यसरी पार्किङका नाममा उठाइएको पैसा कहाँ जान्छ ? भन्ने प्रश्नको उत्तर खोजीको विषय बनेको छ । 

हेर्नुहोस् भिडियो–

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १२:२०
प्रतिक्रिया दिनुहोस्