Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिंहदरबारमा दिनभरि गफ गरेर क्वार्टर फर्किन्छन् ‘काम नपाएका’ मन्त्री

मंगलबार, पुस १९, २०७९

काठमाडौँ– उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा सरकारमा गएका एमालेका अन्य ३ मन्त्री कामविहीन भएका छन् ।

 

एमालेबाट २ साताअघि नै मन्त्री भएका दामोदर भण्डारी, ज्वालाकुमारी साह र राजेन्द्र राईको मन्त्रालय तोकिएको छैन । जसका कारण उनीहरू अहिले कामविहीन भएका हुन् । 

 

बिनाविभागीय मन्त्रीहरू बिहान १० बजेपछि सिहंदरबार पुगेर बेलुका ५ बजेतिर मन्त्री क्वार्टर फर्किने गरेका छन् । 

 

३ दिनअघि मन्त्री क्वार्टर पुलचोक सरेका तीनै जना मन्त्रीले आधिकारिक मन्त्रालय नपाएपछि उनीहरू कामविहीन बस्नुपरेको गुनासो गरेका छन् । 

 

मन्त्रालय नतोकिएका उनीहरू सिहंदरबारस्थित एमाले ससंदीय दलको कार्यालयमा बसेर दिन बिताउने गरेका छन् । 

 

पार्टीले मन्त्री बनाएर पठाए पनि मन्त्रालयको जिम्मेवार नपाएका कारण कामविहीन भएर बस्नुपरेको क्यानडा नेपालसँग कुराकानी गर्दै धनकुटाका सांसद्समेत रहेका मन्त्री राजेन्द्र राईले जानकारी दिए । 

 

मन्त्रालय तोकिएको भए आफ्नो काम अघि बढाउन सहज हुने भए पनि बिनाविभागीय भएपछि यत्तिकै बस्नुपरेको उनले बताए ।

 

‘अहिले सिहंदरबार आउने काम मात्र भएको छ । अब केही दिनमा मन्त्रालयको जिम्मेवारी पाइन्छ होला । त्यसपछि काम गर्नुपर्छ’, उनले भने, ‘मन्त्रालयको जिम्मेवारी नपाएपछि यस्तै हो । अब केही दिन सिंहदरबार आउने–जाने मात्र होला जस्तो छ ।’

 

अहिले पार्टीका सांसद, कार्यकर्ता र नेताहरूसँग समसामयिक विषयमा छलफल गर्ने गरेको उनको भनाइ छ । 

 

यस्तै, एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्षसमेत रहेका मन्त्री पाण्डे पनि दिनभर संसदीय दलको कार्यालयमा अन्य सांसद र पार्टीका कार्यकर्तासँग भेटघाटमा व्यस्त हुने गरेका छन् । 

 

मन्त्रालय नपाएपछि अहिले साथीभाइ, संसद् र कार्यकर्तासँग भेटघाट गरी दिन बित्ने गरेको उनले जानकारी दिए । 

 

पाण्डे र राईजस्तै मन्त्री साह पनि सिंहदरबारस्थित एमालेको संसदीय दलको कार्यालयमै दिन काट्ने गरेकी छिन् । उनी पनि दिनभर पार्टीका कार्यकर्ता र साथीभाइसँग छलफल गरेर बेलुका मन्त्री क्वार्टर फर्किने गरेको बताउँछिन् ।

 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएको १ साता भएको छ । उनी प्रधानमन्त्री भएको दिन तीनै जनालाई एमालेले मन्त्री बनाएर पठाएको थियो । 

 

प्रचण्ड नेतृत्वको सरकारलाई एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जसपाको साथ छ । त्यस्तै, स्वतन्त्र सांसदहरू प्रभु साह, किरणकुमार साह र डा. अमरेशकुमार सिंहले पनि सरकारलाई समर्थन गरेका छन् । 

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १४:३२
प्रतिक्रिया दिनुहोस्