प्रेम सबैको लागि प्रिय अपरिहार्य चिज

शुक्रबार, मंसिर ९, २०७९

जानकी पन्त। प्रेम सबैको लागि प्रिय अपरिहार्य चिज हो। प्रेम, जीवनको रंग हो, उमंग हो। प्रेम शिखरमा पुग्ने पहिलो सिडी हो। प्रेम आस्थाको बागडोर हो। प्रेम जीवन परिचालन गर्ने अपरिहार्य ईन्धन हो। प्रेम जीवनको बहुमुल्य गहना हो। प्रेमको स्थान सबैभन्दा माथि हुन्छ। प्रेमको वास आत्मामा हुन्छ, शरीरमा होइन। प्रेम पानी जस्तै रंगहीन, गन्धहीन, स्वादहीन हुन्छ। प्रेम आफैमा चोखो र सुगन्धयुक्त हुन्छ। जस्तैकी एक अगरबत्ती जुन भगवानमा समर्पित गरिन्छ, भावनामा अर्पित हुन्छ साथै विश्वासले प्रज्वलित गरिन्छ, प्रेम पनी त्यही बिश्वास हो। प्रेम र प्रकृति एक अर्काका परिपुरक हुन्। यी दुबैविना जीवन सम्भव छैन। यानिकी प्रकृति नै प्रेम हो, प्रेम नै ईश्वर, प्रेम नै परमेश्वर हो। प्रेम नै प्रसाद, प्रेम नै शास्वत हो। 
 
सुरुवातमा जीवन प्रेमकै लागि मात्र थियो तर जब प्रेमप्राप्तिको लागि छ्ल उत्पन्न भए तत्पश्चात लोभ, स्वार्थ क्रोधहरु संगै अपराधहरु जन्मिए। बोलिबिना, शब्दबिना प्रेमको मर्म यहाँ कसैले बुझ्न सकेनन्। विश्व क्रान्तिका घटनाहरु घटित हुँदै मानिसले प्रेममाथि दिनहु धावा बोलीरहे। मानिसले मानिस माथिनै घात, प्रतिघात गरिरहे। मान्छेले स्वास्थयुक्त भोजन भन्दा स्वादिष्ट भोजन लाइ ठुलो ठाने। आफ्नै शरीरका अंगहरु खण्ड खण्डमा विभाजित हुन् थाले। विना मौसम बादल गर्जिन थाले फलत दु:खमा मात्र होईन् प्रेममा पनि आँसु बर्सिन थाले। प्रेममा आँसु क्षमादायी हुन्छ तर आजभोली आँसुका कारकहरु माफी दिन लायक हुन छाडे। हुन त रुद्राक्षको बीउ पनि प्रेमकै आँसु हो। तसर्थ यो कुरा नबिर्सौ कि आसु प्रेम प्राप्तिकै उपकरण हो। 
 
प्रेमले शान्ति खोजको सत्याग्रह गर्छ शान्तिको लागि प्रेम अपरिहार्य छ। तर अफसोच प्रेम स्वार्थलोभका प्रसंगहरुले दबिएको छ। जीवनको सारा शक्तिहरु मानीषले त्यही सुखसयल प्राप्तिमा खर्चिएका छन। अन्य संसारिक अंगहरु, रंगहरु र उमंगहरु जडान गर्ने अनि उडान भर्ने सोच बिचारको अपहरणमा प्रेम लाचार र विवश बनेको छ। यसर्थ यथार्तमा भन्नुपर्दा, प्रेम मर्नुहुन्न भन्ने सोच हुँदाहुँदै पनि, वास्तविक प्रेम यहाँ मरेको छ। यानीकि हामी मृत्युयुक्त प्रेममा छौं। यसलाई मार्न अनेकन हतियार प्रयोग गर्छौं। घटिया शब्दबोली, व्यवहार लगायत लोभ, लालच, घृणा, दोष हरुका तीरहरु प्रहार गर्छौ। प्रेममा सम्मान के हो धेरैले बिर्सेका छौ। यसर्थ, प्रेम आजभोलि धेरैलाई कैद लाग्न थालेको छ। प्रेममा शंका, उपशंका, स्वार्थ लोभ, बास्ना, भोक, अपमानयुक्त बोली थपिन थालेका छन्। 
 
सुरुवातमा प्रेम परिक्षण गर्ने क्रममा मानिसले यो संसारमा प्रेमको बोट, बीउ, जरा सृष्टिको उपहार स्वरूप पाए। जीवन भोगाई अनुभवका कुराहरू र सिद्धान्तहरू पाए। तर अहिले यहाँ हरदिन प्रेममाथि घातक परिक्षण भईरहेका छन्। फलतः महिलाले प्रेम पाउन शारीरिक सम्बधको बाटो रोजेका छन् भने पुरुषले शारीरिक सम्बन्ध पाउनको लागि मात्र प्रेमको प्रयोग गर्न सिकेका छन्। मान्छेले हृदयले चाहेको, खोजेको रोज्न छोडेका छन्, जीवन संगत कुराहरु गर्न छोडेका छन्। झन् पशु, पन्छी जनाबार माथिको अत्याचार र दुर्ब्यभहार को त कुरै छोडौ। जुन महापाप हो, तर जसलाइ एकै स्वरमा मानिसले पुण्य मानेका छन्। तसर्थ समग्रमा भन्नु पर्दा वास्तविक प्रेमको महत्व बुझ्न र यसलाई सहि अर्थमा ब्यबहारमा ल्याई त्यसबाट लाभंतित हुन् कहिँ कतै मान्छे चुकेको छ। 
 
अहिले पूँजिवादको सिद्धान्तले प्रेमवाद ओझेलमा परेको छ। केही शक्तिशाली मानिसको सेवामा अधिकांश मानिस दासी भएका छन्। यानिकी प्रेम पैसामा बिकेको छ। गरिबी प्रेमको दुश्मन बनेको छ। सोहि कारण मान्छे दुख कस्टको भुमरी बाट कहिल्यै उम्कन सकेको छैन। प्रेमको उदय किन भयो यी कुरा पनि मानिसले भुलेका छन्। फलत, चरिझैँ स्वतन्त्र उड्न खोज्ने प्रेमलाई पंख काटेर लडाउने, खुट्टा भाँचेर कुदाउने अनि आँखामा पट्टि बाँधेर नचाउने खेल भैरहेको छ। गान्धारीले धृतराष्ट्रलाई जीवन वृतान्त सुनाए झै, दुर्योधनको मुर्ख प्रेम जस्तो आजको प्रेम बनेको छ।
 
प्रेम प्राप्ति मात्र होईन्, त्याग पनि हो। प्रेम डरभित्रको परिबन्द पनि हो। त्यसैले गुमाउनुपर्छ कि भनि शंकायुक्त सासहरु प्रेममा छचल्किनु स्वाभाविक हो। प्रेम भिख होईन्, उपहार हो। प्रेम पाप होइन पुजा हो। प्रेम प्रार्थना होइन साधना हो। प्रेम प्यास होईन्, पानी हो। प्रेम नासबान होइन अबिनासी हो। प्रेम अभिषाप होईन् वरदान हो। प्रेम मृत्यु होईन् जीवन हो। प्रेमले विद्रोह पछि शान्ति हुन्छ भन्ने कुरा सिकाउँछ। तसर्थ, विनाशयुक्त सिद्धान्त प्रेमको हुनुहुन्न। जोर जबर्दस्ती पूर्ण र छल पुर्बक हासिल गरेको प्रेम सम्बन्ध कलहयुक्त र दुखपुर्ण हुन्छ। प्रेममा भविष्यको आकारप्रकारप्रति चिन्ता हुनुहुन्न। वियोगले दिने अमरत्व प्रेम होईन्। प्रेम विगतसँग होईन् वर्तमानसँग हुनुपर्छ।
 
प्रेम सम्बन्ध दुबैतर्फ बाट हृदय देखि स्वीकार्य हुनुपर्छ, आदरणीय अनुकम्पा हुनुपर्छ। प्रेममा सामाजिक मर्यादा लगायत भावनात्मक स्वार्थलाई यथावत कायम गर्नुपर्छ। हुन त प्रेमको भाषा हुन्न तर भौतिक शंसारमा प्रेमका अंगहरु हुन्छन्, प्रेम गर्नुका प्रसंगहरु हुन्छन्। जीबन चलाउनका लागि लेनदेनका कारोबारहरु हुन्छन्, गुणदोषका कुराहरु हुन्छन्, बहस हुन्छन्, क्रिया प्रतिक्रिया हुन्छन्। मोहजालमा कमजोर पक्षहरु हुन्छन्, यो र उ यस्तो र उस्तो भन्ने कुराहरु हुन्छन्। बाध्यता र व्याख्यका परिभाषा हुन्छन्। जबकी ती सबभन्दा फरक र त्यो भन्दा माथि प्रेमको पक्ष्य हुन्छ। प्रेममा जात, वर्ग, धर्म, लिङ्ग र सानो ठुलो को भेदभाव हुन्न। यदि भेदभाव हुन्छ भने त्यो प्रेम होइन। 
 
भोकमा पाएको भोजन अनि प्यासमा पाईएको पानि जस्तो प्रेम होईन्। प्रेममा लेखाजोखा, तोलमोल हुदैन। लेखले हिसाब त मिलाउँछ तर जीवन सुखमय, प्रेममय बनाउन सक्दैन। प्रेममा नियम, संसारिक स्वार्थ हुन्न, तर मर्यादा, भावनात्मक स्वार्थ हुन्छ। प्रेमको स्थान सबैभन्दा माथि हुन्छ। त्यस्तो प्रेमलाई नै वास्तविक साचो प्रेम भन्न या मान्न सकिन्छ। जस्तै मनको निस्वार्थ प्रेम बन्धन विश्वासमा राधा-कृष्ण एक बने। भावनाकै प्रतिमुर्ति अमर प्रेमको उदाहरण बने। त्यस्तो प्रेमलाई नै वास्तविक प्रेम भन्न सकिन्छ, साचो प्रेम मान्न सकिन्छ। 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:०६
प्रतिक्रिया दिनुहोस्