नेभिगेशन
राजनीति

कांग्रेस महामन्त्री गगन थापाका दुई ‘विभिषण’ रास्वपाका प्रधान कसरी बने?

काठमाडौं– यहि साता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेको प्रस्तावमा कार्यबाहक जिम्मेवारीमा रहेका कविन्द्र बुर्लाकोटी महामन्त्री र मनिष झा प्रवक्तामा मनोनित भए। 

बुर्लाकोटी गैर सरकारी संस्थाको पृष्ठभूमीबाट आएका व्यक्ति हुन्। तर यीबाहेक दुई पात्र वाग्ले र झा भने कांग्रेस र त्यसमा पनि महामन्त्री गगनकुमार थापाको सदासायतामा राजनीतिमा लागेका मानिस हुन्। 

रास्वपामा पुगेर सांसद भएपछि यी दुई जना सबैभन्दा बढी कांग्रेस र थापाविरुद्ध आक्रामक देखिन्छन्। 

एक हिसाबले ‘कांग्रेसका विभिषण’ भन्दा फरक पर्दैन। थापाको चुनावी रणनीतिक समूहमा रहेका दुवै जना कांग्रेसको घोषणापत्र लेखनमा समेत सहभागी थिए, ०७९ अघि।

दुवैको व्यक्तित्व पनि राम्रो भएका कारण थापाले अगाडि बढाएका थिए। वाग्ले त कांग्रेसको कोटामा राष्ट्रिय योजना आयोगमा सदस्य र उपाध्यक्षसम्म बनेका थिए भने झाले पनि गैर सरकारी संस्थामा कांग्रेसकै जोडबलमा बजेट ल्याएर काम गर्दै आएका थिए। 

गगन थापानिकट स्रोतले भन्यो,‘उनीहरुलाई काम र दक्षताका लागि कांग्रेसले ठूलो लगानी मात्र गरेको छैन, गगन थापाले बलियो पहल गरेका थिए।’

डा. वाग्ले लामो समयसम्म राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा सदस्य रहेर नीति निर्माणमा सक्रिय रहे। त्यस क्रममा उनले नेपालको विकास र समृद्धिमा दीर्घकालीन योजना तथा लगानीको खाका निर्माणमा महत्वपूर्ण भूमिका खेले।

शिक्षाको दृष्टिले डा. वाग्ले उच्च योग्यता हासिल गरेका व्यक्ति हुन्। उनले अष्ट्रेलियाको अन्सेड विश्वविद्यालयबाट स्नातक, लण्डन स्कुल अफ इकोनोमिक्सबाट स्नातकोत्तर र हार्वर्ड विश्वविद्यालयबाट विकास अर्थशास्त्रमा पीएचडी गरेका छन्। 

यिनले संयुक्त राष्ट्र संघलगायतका अन्तर्राष्ट्रिय संस्था तथा थिङ्क ट्याङ्कहरूसँग पनि लामो अनुभव बटुलेका छन्।

राजनीतिमा उनी नेपाली कांग्रेससँग आबद्ध भएर प्रवेश गरेका थिए। तर, पछिल्लो समयमा पार्टीको नीति र नेतृत्वप्रति असन्तुष्टि जनाउँदै उनले पार्टी त्यागेर रवि लामिछाने नेतृत्वको रास्वपामा प्रवेश गरे।

कांग्रेसले उपनिर्वाचनमा टिकट नदिने भएपछि उनी रास्वपामा पुगेका थिए। 

२०८० सालको उपनिर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट भारी मतले विजयी भइ संघीय संसदमा प्रवेश गरेपछि उनी देशको विकास र सुशासनका मुद्दा लिएर सक्रिय हुँदै आएका छन्।

यसैगरी मनिष झा रास्वपाका प्रवक्ता बनेका छन्। 

झा संघीय संसद सदस्य हुन्। उनी २०२२ को आम चुनावमा मधेसी वर्गबाट प्रोपोर्शनल प्रणाली मार्फत संघीय संसदको प्रतिनिधिसभामा निर्वाचित हुन सफल भए। 

रास्वपाभित्रका विभिन्न जिम्मेवारीहरू निर्वाह गर्दै, उनी विश्लेषणात्मक दृष्टिकोण, विचारशील वक्ता र सक्रिय राजनीति विज्ञका रूपमा चिनिन्छन्।

झा तथ्याङ्क र अनुसन्धानमा आधारित निर्णयप्रतिको दृढ विश्वास राख्छन्। उनी नेपालमा डेटा–संचालित नीति निर्माणलाई प्रवद्र्धन गर्ने काम गर्दछ। 

यसका अतिरिक्त, उनी उद्यमशीलता, मार्केटिङ, राजनीतिक विज्ञान र मैथिली साहित्यमा स्नातकोत्तर डिग्री सञ्चय गरिसकेका छन् र विश्वव्यापी विश्वविद्यालयहरूबाट उद्यमशिलता, एचआर र अभियान व्यवस्थापन सम्बन्धी कोर्सहरूमा सहभागी भइसकेका छन्।

तर राजनीतिक रुपमा भने उनीहरुको उदय कांग्रेसले गराएको थियो। एउटा अन्तरवार्तामा झाले भनेका छन्,‘मेरो गुरु गगन थापा हो।’ तैपनि अहिले कांग्रेसविरुद्ध सबैभन्दा बढी आगो ओकल्नेमा यी दुई जना नै अगाडि देखिन्छन्, तम्सिन्छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति