टिप्पणीकारले सटिक धारणा राख्ने क्रममा भैरहवा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दल नभई ‘गिरोह’को संज्ञा दियो। खासगरी यसका दुई महत्वपूर्ण परिघटना छन्।
पहिलो, रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरी सहकारी ठगी, संगठीत अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा कास्की जिल्ला अदालतमा चलाउँदा पूरै पार्टीका केन्द्रीय सदस्य, १९ जना सांसद र देशभरका कार्यकर्ता पोखरा पुगेका थिए।
पोखरामा दिनहुँ जस्तो प्रदर्शन भयो। एकछिनलाई मानौ, राज्यले अनुसन्धानका क्रममा आफ्नो माथहत रहेको प्रशासनिक संयन्त्रलाई प्रयोग गरेको पनि थियो होला। तर, रास्वपाका नेता कार्यकर्ता एउटा गिरोहका रुपमा परिचालित भए।
गिरोह नकारात्मक बिम्बका रुपमा मात्र बुझ्नु गलत हुनेछ। गिरोहको खास र बृहत्तर अर्थ, त्यस्तो समूहलाई जनाइन्छ जुन कुनै उद्देश्यका लागि विशेषगरी लागि संगठित रूपमा काम गर्छ।
रास्वपाले कास्कीमा देखाएको पनि त्यहि थियो। लोकतन्त्र, कानुनी शासनमा विश्वास रहेको भाषण गर्ने अनि फेरि कानुनलाई प्रभावित बनाउनका लागि समूहको संठगीत रुपमा बिरोधका नाराबाजी गर्ने राजनीतिक चरित्र दुनियाँमा कहिँ कतै मानिन्न।
अर्को अर्थमा हेर्ने हो भने रास्वपा सभापति रवि लामिछाने उक्त प्रकरणमा अनुसन्धानमा नरहेको भन्ने बुझाई डाइभर्ट गरियो। ग्यालेक्सी टेलिभिजनका शेयर सदस्य तथा प्रबन्धन निर्देशक र सहकारी ठगी प्रकरणमा पूरक उजुरीबाट संगठीत अपराधमा संलग्न व्यक्तिचाहिँ अनुसन्धानको घेरामा रहेको भन्ने बुझ्न आवश्यक थियो र छ। रास्वपा सभापतिलाई त राज्यले मुद्दा लगाएको होइन, सहकारी प्रकरणका संदीग्ध पछि दल खोलेर रास्वपाका सभापति भएका हुन् भन्ने बुझ्न र बुझाउन आवश्यक थियो र छ।
दोस्रोचाहिँ, यहि समूह भैरहवासम्म पनि पुगेको थियो। अहिले पनि पूरै पार्टी नै भैरहवा पुगेको छ। अब, यो गिरोह किन हो? गिरोहको निश्चित उद्देश्य हुन्छ। र, रास्वपाका उपसभापतिलगायतका नेताहरुले आफैं भनिरहेका छन् कि दुई वटा निश्चित उद्देश्य छन्।
ति हुन्– रास्वपा सभापति रहेका रविको पक्षमा हस्ताक्षर गराउने र कात्तिक १७ गते हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनको तयारी अनि प्रचार। यस अर्थमा यो गिरोह हो भन्ने प्रसङ्ग टीप्पणीकारले कोरलेको थियो र त्यसको बयान गरिरहेको छ।
यसमा जोडिएको अनधकृत आर्थिक संकलनको पक्षमा फरक बहस गरौंला अब, शीर्षकको सान्दर्भिकतातिर लम्किऔं।
रविका समर्थकहरू भन्छन्– रविका पक्षमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह खुल्नुपर्छ। किन खुलेनन्? मिल्नुपर्छ, किन मिलेनन्?
खैर, बालेनले मिल्ने या खुल्ने विषयमा केही पनि जानकारी दिएका छैनन्। बरु उनले सटिक भाषामा एक पटक सामाजिक सञ्जालमा लेखेका थिए,‘पुराना नयाँ सबै चोर हुन्।’
उनको यो भनाईमा गहिरो अर्थ हुन सक्छ अथवा बालेनको आवेगको टिप्पणी पनि होला। तर, राजनीतिमा देखिएको नयाँ यात्रामा बालेनलाई अर्जुन र रविलाई दुर्योधनको कसीमा राखेर हेर्दा अनुपयुक्त हुँदैन।
महाभारतको युद्ध प्रारम्भ हुनुभन्दा पहिला, कौरव र पाण्डव दुवै पक्षले विभिन्न शक्तिशाली राजा र सैन्य शक्तिहरूलाई आफ्नो पक्षमा लिन प्रयास गरेका थिए।
त्यसै क्रममा कौरवपक्षका दुर्योधन र पाण्डवपक्षका अर्जुन दुवै श्रीकृष्णसँग सहायता माग्न द्वारका पुगे। श्रीकृष्ण त्यतिबेला निद्रामा थिए।
जब उनी उठे, उनले अर्जुनलाई देखे, किनभने अर्जुन कृष्णको खुट्टा छेउ बसिरहेका थिए भने दुर्योधन टाउकोतिर।
श्रीकृष्णले निष्पक्ष रूपमा निर्णय लिन चाहे। उनले भने, ‘तपाईंहरू दुईमध्ये म कसै न कसैको साथ दिन्छु। तर मेरो शर्त छ, म युद्धमा हातियार उठाउनेछैन, केवल सहायकको रूपमा रहनेछु। अर्कोतर्फ, मसँग भएको मेरी ‘नारायणी सेना’ (एक अत्यन्त शक्तिशाली र अनुशासित सेनाको समूह) भने पूर्णरूपले युद्धमा संलग्न हुनेछ। तिमीहरू कुन चाहन्छौ, रोज।’
दुर्योधनले पहिले बोल्न आग्रह गरे र तत्काल नारायणी सेनाको छनोट गरे। उनलाई लाग्यो, युद्धमा सफलता सेनाको संख्यामा निर्भर गर्छ, न कि एक निहत्था व्यक्तिमा। त्यसपछि श्रीकृष्णले अर्जुनतर्फ हेरेर सोधे, ‘अब तिमी?’
अर्जुनले विनम्र भावमा उत्तर दिए, ‘हे माधव, मलाई तपाईं नै चाहिन्छ। तपाईं मेरो सारथी बन्नुहोस्। बस् त्यही काफी छ।’ अर्जुनलाई थाहा थियो कि युद्धमा केवल बाह्य शक्ति मात्र होइन, आन्तरिक आत्मबल, धर्मबोध र रणनीतिक दिशा पनि आवश्यक हुन्छ, जुन केवल श्रीकृष्णबाट प्राप्त हुन सक्थ्यो।
अर्जुनले श्रीकृष्णलाई केवल मित्र या आफन्तको रूपमा मात्र होइन, एक मार्गदर्शक, गुरु र भगवानको रूपमा मानेका थिए। उनले विश्वास गरे कि युद्धको निर्णायक शक्ति श्रीकृष्णको उपस्थिति र निर्देशनमै निर्भर छ।
अर्जुनलाई विश्वास थियो कि धर्मको साथमा श्रीकृष्ण सधैं हुन्छन्। श्रीकृष्णलाई रोज्नु भनेको धर्म र सत्यताको पक्ष लिनु हो, जुन अन्ततः विजयतर्फ लाने मार्ग हो।
महाभारत युद्धको आरम्भमा अर्जुन मानसिक रूपले द्विविधामा परे आफ्नै आफन्त, गुरु र साथीहरूसँग कसरी युद्ध गर्ने? त्यतिबेला श्रीकृष्णले उनलाई गीता उपदेश दिए, जसले अर्जुनलाई आत्मज्ञान र कर्मको महत्व बुझाए। यदि श्रीकृष्ण त्यहाँ नहुने हो भने, सम्भवतः अर्जुन युद्धमै सहभागी हुने थिएनन्।
श्रीकृष्ण निहत्था भए तापनि युद्धकला, राजनीति, मनोविज्ञान र रणनीतिक चालहरूमा माहिर थिए। अर्जुनले बुझेका थिए कि यस्तो बुद्धिमान मार्गदर्शकको साथ रहनु, हजारौं सेनाभन्दा बढी लाभदायक हुनेछ।
अर्जुनले नारायणी सेना होइन, श्रीकृष्णलाई रोज्नु केवल भावनात्मक निर्णय थिएन, त्यो गहिरो आध्यात्मिक, नैतिक र रणनीतिक सोचको परिणाम थियो। अन्ततः, अर्जुनको यही निर्णयले पाण्डवहरूको विजयमा निर्णायक भूमिका खेलेको प्रमाणित भयो। श्रीकृष्णको उपस्थिति र उपदेशले युद्धलाई केवल विजयको संघर्ष होइन, धर्म र कर्मको शिक्षामा रूपान्तरण गरिदिएको थियो।
यो प्रसङ्ग किन आवश्यक छ भने बालेन महानगरपालिकाको उम्मेदवार बन्नका लागि कम्तिमा चार बर्षसम्म अध्ययन, तथ्याङ्क संकलन, विवेचना, राजनीतिक र कुटनीतिक प्रभावबीच उदाउन सकिने निधोमा पुगे। या, उनको अध्ययन टोली त्यसमा पुग्यो। र त उम्मेदवार हुनासाथ उनले दिएका अन्तरवार्तामा भनेका थिए,‘म एउटा इन्जिनियर हुँ, महानगर बनाउने विषयमा अध्ययन गरेर राजनीतिमा होमिएको छु। म जित्छु।’ बालेनमा जित निकाल्छु भन्ने आत्मबल थियो।
तर रविमा के थियो? उनी एउटा प्रचारात्मक सञ्चारकर्मी थिए। शालिकराम पुडासैनी प्रकरणको सुनुवाईका क्रममा भएको नागरिकको साथ र सामाजिक सञ्जालमा भएको समर्थनका कारण हतारमा उनी राजनीतिमा होमिए।
कारण त्यति मात्र थिएन, बालेनको जितले उनमा राजनीतिक दल खोल्ने हावा भरिदियो र जितेको खण्डमा सत्तामा पुगिहाल्ने हतारो पनि थियो, जुन पछि पुष्टि भयो। जसरी अर्जुनले युद्ध हस्तिनापुर हत्याउन नभई धर्म र न्यायको पक्षमा गरेका थिए तर दुर्योधनले कुर्सी जोगाउन गरेको थियो। बालेन र रविमा उद्देश्य नै फरक थिए र छन्। बालेन अहिले पनि सत्ताको नभई काठमाडौंको मुहार फेर्ने लयमा छन्। उनी भ्रष्टाचार अभियोग लागेकालाई साथमा राखेर हिँड्न नसक्ने भनी अडान बस्छन्।
तर रविले जसलाई गाली गरेर सहानुभूतीको मत पाए तिनैसँग टाउको मिलाउन दुई पटक सत्ता सयर मात्र गरेनन्, पहिलो पटक आफूमाथि रहेको नागरिकता प्रकरणको मुद्दालाई जिल्ला प्रहरी परिसर काठमाडौं र जिल्ला प्रशासन कार्यालयमार्फत नै निमिट्यान्न पार्न खोजेका थिए। यो त सर्वोच्च अदालतमा जिल्ला प्रशासन कार्यालयले त्यसबेला पठाएको पत्रले नै पुष्टि गर्छ।
सहकारी प्रकरणका पनि उदाहरण छन्। तर, यो प्रक्रिया अहिले कानुनी निचोडमा नपुगकाले टिप्पणीकारले कोट्याउन आवश्यक ठानेन।
अतः राजनीतिमा चर्का स्वर, ठूला गफ र संगठीत आवाजले होइन, विवेचना, विचार, त्यसको प्रभाव, कामको ठोस प्रभाव र आकार, बोलीको कार्यान्वयनमा फरक पर्छ। टीप्पणीकारले यसै लेखेको थिएन ‘बालेन जीतको ‘नाभिकमलसम्भव’ रविकृत प्रकरण रक्षार्थ रास्वपाको गति’ शीर्षकको आलेख। बाँकी यसैमा क्लिक गरेर पढ्नुहोला।