नेभिगेशन
राजनीति

तीन दल भित्रका विपक्षीहरूः एकाधिकारवादमा ‘धावा’

काठमाडौं– नेपालका मुख्य तीन दलका शीर्ष नेताको एकाधिकारवादी निर्णयमा धावा बोल्ने तीन नेताको अभ्यास जारी रहेको छ।

नेपाली कांग्रेस र नेकपा माओवादीमा यो क्रम पहिलादेखि नै कायम थियो भने दशौं महाधिवेशनयता एमालेमा रहेको केपी शर्मा ओलीको एकात्मक शासनलाई भने अहिले पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिक सक्रियताले संकुचनमा पार्न सक्ने अनुमान गरिएको छ।

कांग्रेसमा भने सभापति शेरबहादुर देउवाको विपक्षीका रुपमा १४औं महाधिवेशनयता डा. शेखर कोइरालाले निरन्तर खबरदारी गर्दै आइरहेका छन् भने माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा नै संशोधन र काउन्टरचाहिँ उपमहासचिव जनार्दन शर्मा प्रभाकरले दिने गरेको पाइन्छ।

कांग्रेसमा कोइराला निरन्तर संस्थापन पक्षले गरेका निर्णयमा खोट देख्दैनन् मात्र अहिलेको बनेको सत्ता गठबन्धनको विपक्षमा पनि छन्। उनी यसअघि गठबन्धन गरी माओवादीसहितसँग चुनावमा जानु गल्ती थियो भन्ने गर्थे। पछिल्लो पटक भने सभापति देउवा पक्षले अनुशासन आयोगका नाममा कारबाही गरेको नेताका तर्फबाट प्रतिवाद गर्ने निर्णयमा पनि कोइराला पुगेका छन्।

एमालेमा ओलीका लागि भण्डारी सक्रिय राजनीतिमा आउनु नै खतराको घन्टी बज्नु बनिसकेको छ। ओली आफैंले पनि कतिपय ठाउँमा भण्डारीको नाममा गलत हल्ला गरिरहेको बताएका थिए। तर, भण्डारी स्वयम् अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरी आमने सामने आएपछि भने ओली गल्न सक्ने अनुमान गरिन्छ।

दोस्रो तहका नेतामा भने त भनाभन नै सुरु भैसकेको छ। एक खेमाकाले अर्का खेमाकालाई व्यंग्य गर्ने र प्रतिवादनमा उत्रिएको विषय कसैबाट लुकेको छैन। तर, ओलीलाई सन्तुलनमा ल्याउन भण्डारीको यो सक्रियता आवश्यक रहेको थियो।

उता माओवादीमा भने विद्यार्थीको एउटा कार्यक्रममा त प्रचण्ड र शर्माबीच भनाभन नै भएको थियो। शर्माले प्रचण्डलाई भनेका थिए,‘मलाई माओवादी नदेख्ने बरु कांग्रेस एमाले देख्ने दोषी चश्मा खोल्नुहोस्। म को हो त?’ पछिल्ला चरणमा त शर्मालाई पार्टीबाट नै अलग हुन भनेको चर्चा भएपछि प्रचण्डले एउटा अन्तरवार्तामा त्यसको खण्डन गरेका छन्। तर शर्माप्रति मतभेद रहेको सन्देश दिनेगरी उनले भनेका छन्,‘उहाँकै प्रस्तावमाथि पार्टीमा दुई घन्टा बहस भएको हो नि त, त्यो किन देखिँदैन?’

जे भए पनि माओवादीभित्र प्रचण्डको एकात्मक शैलीमा चुनौती दिने कोही अहिले छ भने उनी शर्मा नै हुन्। 

तीन नेता बस्ने र सल्लाह गरी निर्णय लाद्ने काममा पनि पार्टीभित्रका विपक्षीको फरक मतले प्रभावित हुन सक्ने देखिन्छ। ‘राजनीतिक दलमा यो सन्तुलन भएन भने नेता तानाशाह हुन्छ। नयाँ होस् या पुरानो सन्तुलन आवश्यक छ’, राजनीतिशास्त्रीहरू भन्छन्,‘यसले नेतालाई मनोपोली गर्नबाट रोक्न सक्छ भने पार्टी पनि स्वस्थ्य बन्दछ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति