नेभिगेशन
राजनीति

ओलीले भनेका थिए– मेरै प्रस्तावमा नेपालमा पहिलो महिला प्रधानमन्त्री!

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासमा नाम लेखाउने तयारी गरेका छन्? यहि प्रश्नबारे धेरैले अनुमान र अड्कलबाजी गर्न थालेका छन्।

ओलीले ८ भदौ २०८१ मा नेपालमा महिला प्रधानमन्त्री बनाउने आफ्नो चाहना रहेको उल्लेख गरेका थिए। 

एउटा कार्यक्रममा उनले महिलालाई छिट्टै प्रधानमन्त्री बनाउने यो चाहनापछि राजनीतिक वृत्तमा ‘ओलीको प्रस्तावमा नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने अवसर कुन भाग्यमानी नेतृले पाउलिन् त!’ भन्ने अनुमान पनि गर्न थालियो।  

ओलीले कार्यक्रममा भनेका थिए,‘मेरै पालामा अनि मेरै प्रस्तावमा नेपालमा पहिलो राष्ट्रपति हुनुभयो। पहिलो महिला प्रधानन्यायाधीश, सभामुख पनि हुनुभयो। भर्खरै पहिलो मुख्यसचिव पनि बनाइयो। अब छिट्टै पहिलो महिला प्रधानमन्त्री हुनेछिन्। मिति नै त तोक्न नसकिएला तर मेरै प्रस्तावमा हुनेचाहिँ भन्न सक्छु।’

ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा संवैधानिक परिषदबाट सुशीला कार्कीलाई सिफारिस भयो भने संसदीय समितिले अनुमोदन गरेको थियो।

सोही सदनमा एमाले र माओवादीको गठबन्धनका आधारमा ०७२ मा सभामुखमा माओवादी नेत्री ओनसरी घर्ती मगर निर्वाचित भइन्। 

हालै मात्र मुख्य सचिवमा १८ दिन नै भए पनि लिलादेवी गड्तौलाले नियुक्ती पाइन्। यो पनि ओली मन्त्रिपरिषदको निर्णय थियो। तर अब प्रधानमन्त्री को होला? ओली राजनीतिमा सक्रिय र प्रमुख दलको नेता रहेको खण्डमा एमाले या अन्य पार्टीकै कुनचाहिँ महिला पहिलो प्रधानमन्त्री बन्लिन्?

तर कतिपयले एमालेबाट प्रधानमन्त्रीका रुपमा ओलीले शक्ति सन्तुलनका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि प्रस्ताव गर्न सक्ने अनुमान गरिन्छ।

तत्काल नभए पनि आगामी निर्वाचनपछि प्रधानमन्त्री निर्वाचित गराउने सर्तका आधारमा ओलीले भण्डारीसँग पार्टीमा समन्वयात्मक भूमिका निर्वाह गर्न सक्ने पनि अनुमान गरिएको हो।

कुनै राजनीतिक परिघटना देखा परेको खण्डमा सर्वदलीय सहमतिका लागि पनि भण्डारीको नाम ओलीले प्रस्ताव गर्न सक्ने सम्भावना बलियो देखिन्छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति