नेभिगेशन
राजनीति

छ संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । संघीय संसद अन्तर्गत आज छ वटा समितिहरूको बैठक बस्ने तय भएको छ ।

राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा बाढीबाट भएको क्षति, उद्धार र पुनर्स्थापना सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ।

यस्तै, अर्थ समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा पहिलो सत्रमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल हुने कार्यसूची रहेको छ भने दोस्रो सत्रमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसँग समसामयिक विषयमा छलफल हुने कार्यसूची छ ।

यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि दिउँसो १ बजे नै बस्नेछ । बैठकमा हाल उपभोगमा रहेको आयोडिनयुक्त नुनको गुणस्तर तथा यसको सहज र सर्वसुलभ आपूर्ति एवं वितरणका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

यसैगरी कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पनि दिउँसो १ बजे बस्दैछ । बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा नेपाल कानुन व्यवसायी परिषद्सँग छलफलको कार्यसूची रहेको छ ।

त्यस्तै, सार्वजनिक लेखा समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा समितिको २३औँ वार्षिक प्रतिवेदन उपर छलफल र पारित गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफलको कार्यसूची राखिएको संघीय संसद सचिवालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति