नेभिगेशन
राजनीति

अनुशासनको कारबाही प्रतिशोध र बेमौसमी बाजा मात्रै : चन्द्र भण्डारी

रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टीले हालै गरेको अनुशासन कारबाहीलाई ‘प्रतिशोध र बेमौसमी बाजा’ को भनेका छन् । नेताहरूमाथिको निष्काशन र निलम्बनको कारबाहीप्रति गम्भीर आपत्ति जनाउँदै उनले यसलाई तत्काल फिर्ता लिन माग गरेका छन् । बिहीबार आफ्नो धारणा सार्वजनिक गर्दै भण्डारीले कारबाहीको प्रक्रिया र निर्णयमा निष्पक्षता र पारदर्शिता नभएको टिप्पणी गरे ।

‘यो अनुशासनको नाममा प्रतिशोध मात्र हो । यो त आफ्नै पसल बन्द गराएर छिमेकीको पसल चलाउने रणनीति हो । पोहोर मरिन् सासू, अहिले आए आँसु । यो त बेमौसमी बाजा जस्तै निर्णय हो ।’ भण्डारीले यस्ता अपरिपक्व निर्णयले पार्टीलाई थप कमजोर बनाउने चेतावनी दिए ।

‘राजनीतिक विवेक गुमाउने निर्णयहरू पार्टीका लागि हितकारी हुँदैनन् । अनुशासनको नाममा गरिएको यो प्रतिशोध तत्काल फिर्ता गरिनुपर्छ’, भण्डारीको भनाइ छ । कांग्रेसको केन्द्रीय अनुशासन समितिले हालै स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई असहयोग गरेको कसुरमा डेढ दर्जनभन्दा बढी नेता–कार्यकर्तालाई कारबाही गरेको छ । इतर समूहले आफ्ना पक्षकालाई छानीछानी कारबाही गरेको भन्दै छुट्टै बैठक बसेर आफ्नो धारणा र अबको रणनीतिसमेत बनाइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति