नेभिगेशन
राजनीति

पार्टीका घोषित नीति विपरीत कित्ताकाट क्षम्य नहुने शंकर पोखरेलको चेतावनी

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनमा आफैँ प्रतिनिधि भएर पास गरेको विधानबारे प्रश्न उठाउने कुरा संगठनात्मक अराजकता भएको बताएका छन् ।

विधान महाधिवेशनको तयारी सन्दर्भमा जनसंगठनका इन्चार्ज र पदाधिकारीको भेलालाई सम्बोधन गर्दै पोखरेलले विधान महाधिवेशनले तय गरेका कतिपय विषयहरू राष्ट्रिय महाधिवेशनले संशोधन गर्न सक्ने प्रष्टीकरण दिए ।

यति बेला एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्थाबारे बहस चलिरहेको छ । महासचिव पोखरेलले दुवै व्यवस्था हटाइसकेको बताएपछि स्थायी कमिटी सदस्य कर्ण थापाले जालझेल नगर्न भन्दै तथ्यमा बहस गर्न चुनौती दिएका थिए ।

पोखरेलले वैधानिक व्यवस्था जानकारी नै नलिई महाधिवेशन प्रतिनिधि हुने कुरा साङ्गठनिक अराजकता भएका आरोप लगाए ।

उनले भने, ‘विधान महाधिवेशनले अन्तिम रूप दिएका कतिपय प्रावधान तत्कालीन आवश्यकताका आधारमा राष्ट्रिय महाधिवेशनले संशोधन गर्दछ । दुवै महाधिवेशनका प्रतिनिधि भएर त्यस्ता प्रावधानहरू आफैँ अनुमोदन गर्ने अनि अहिले आफैँ प्रश्न गर्दै हिँड्ने कुरा अनैतिक हो ।’

राष्ट्रिय महाधिवेशनले पास गरेका विषयमा टिप्पणी गर्दै हिँड्ने कुरा अनुशासनहीन र अराजक भएको भन्दै प्रतिवाद गर्न पोखरेलले निर्देशन दिए ।

पार्टी र सङ्गठनभित्र फैलिएको यस्तो अराजकता क्षम्य नहुने भन्दै पार्टीका घोषित नीतिको अवज्ञा कुनै प्रकारले पनि अवज्ञा नगर्न उनको चेतावनी छ । पार्टी र नेतृत्वविरुद्धको आक्रमण गत वर्ष अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेदेखि झनै बढेको महासचिव पोखरेलले जिकिर गरेका छन् ।

एमाले सरकारमा भएको धेरैलाई मन नपर्ने भएकोले अनेक लाञ्छना लगाएर हरेक दुई महिनामा सरकार परिवर्तनको हल्ला फैलाइने गरेको बताए ।

उनले भने, ‘कुनै बेला सरकारमा लगिदिनु पर्‍यो भनेर रातदिन बालकोट धाउनेहरू नै अहिले लोकप्रियताका नाममा एमाले र नेतृत्वलाई गाली गर्ने अग्रपङ्क्तिमा रहेका छन् । पश्चगामी सोच भएका राजावादी र कम्युनिस्ट नामधारी माओवादी पनि एमालेलाई मात्र गाली गरेर काँग्रेससँग सम्बन्ध सुधार गर्ने प्रयासमा छन् ।’

उनले थपे, ‘भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन हो राष्ट्रिय महाधिवेशन होइन । त्यसैले अहिले कुनै नेताका नाममा कित्ताकाट हुनु जरुरी छैन । जतिबेला जे काम पर्छ त्यही गर्नुहोस् । नीति र नेतृत्व निर्माणको भिन्नता नेताहरूले थाहा पाउनुहोस् ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति