नेभिगेशन
राजनीति

उपभोक्ता समिति दलका भर्ती केन्द्र बने : योगेश भट्टराई

काठमाडौं- सत्तारुढ नेकपा एमालेका सांसद योगेश भट्टराईले विकास निर्माणको कामहरू उपभोक्ता समितिमार्फत गराउन नहुने बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद भट्टराईले उपभोक्ता समितिहरू अहिले राजनीतिक दलका कार्यकर्ता भर्ती केन्द्र बन्न पुगेको टिप्पणी गरे । विगतमा उपभोक्ता समितिमार्फत काम हुँदा ठेकेदार भन्दा प्रभावकारी हुने भए पनि पछिल्लो समय उपभोक्ता समितिहरूमा बेथितिका चाङ रहेको उनले जिकिर गरे ।

‘विगतमा उपभोक्ता समितिबाट काम हुँदा ठेकेदारभन्दा राम्रो हुन्थ्यो । तर अहिले उपभोक्ता समितिमा बेथितिका चाङ छन् । उपभोक्ता समितिले राजनीतिक दलका कार्यकर्ता भर्तीकेन्द्र भएका छन्,’ उनले भने, ‘यसले राजनीतिक दलहरूलाई समेत विभाजन हुनेगरी गुटबन्दी भइरहेको छ ।’ उनले उपभोक्ता समितिमार्फत विकास निर्माणका काम गर्दा दलगत गुटबन्दी र राजनीतिक विकृति फैलिएको बताए ।

एमालेका सचिव समेत रहेका भट्टराईले उपभोक्ता समितिहरू राजनीतिक कार्यकर्ताहरूलाई बिगार्ने थलो बनेका कारण ऐन बनाएर उपभोक्ता समितिलाई कम गर्न नदिने व्यवस्था गर्न प्रस्ताव गरे । ‘अहिले उपभोक्ता समितिहरूबाट राजनीतिक कार्यकर्ताहरूलाई बिगार्ने काम भएको छ । अब उपभोक्ता समितिबाट काम गर्न दिनु हुँदैन,’ उनले भने, ‘उपभोक्ता समितिमार्फत काम गर्न नदिनको लागि आवश्यक ऐन बनाउनु पर्छ ।’ उनले खानेपानी, सिँचाइ तथा मलको उपलब्धताका सम्बन्धमा सरकारलाई निर्देशन गर्न समेत माग गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति