नेभिगेशन
राजनीति

गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन आयोग पनि बन्दैन : महेश बर्तौला

काठमाडौँ- सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्नको लागि समिति नबन्ने प्रष्ट पारेका छन् ।

विपक्षीले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग गर्दै सदन अवरोध जारी राखेको बेलामा अहिले कुनै समिति नबन्ने बताए ।

उनले संसद् भवन परिसरमा सञ्चारकर्मीसँग भने, ‘गृहमन्त्रीले सांसदबाट जवाफ दिन्छु भनेर पटक पटक भनिराख्नुभएको छ । त्यो अवसर विपक्षीले दिइरहेको छैन। पहिले उहाँको कुरा सुन्नुपर्छ । गृहमन्त्रीको राजीनामा पनि हुने कुरा छैन । उहाँहरूले भनेजस्तो कुनै समिति पनि बन्दैन ।’

उनले विपक्षीले अपरिपक्व ढङ्गले माग राखेको भन्दै पुनर्विचार गर्न आग्रह गरे ।

उनले थपे, ‘उहाँहरू पछि हटेर संसद्को अवरोध हटाउन भूमिका खेल्नुपर्छ । यो कुरा हाम्रो प्रष्ट छ । उहाँहरूले के उठाउनुहुन्छ त्यो कुरा सम्बोधन गरेर बस्ने भन्ने हुँदैन संसदीय प्रक्रिया अगाडि बढ्नुपर्छ । हाउसलाई बन्धक बनाउन मिल्दैन । सरकारलाई गेटबाट थुनेर संसद् अगाडि बढ्न सक्छ ?’, विपक्षीहरूको सजिलोका लागि जे भन्छ त्यो नहुने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति