नेभिगेशन
सुरक्षा–अपराध

दरबार हत्याकाण्डः मारिनु एक घन्टाअगाडि राजा वीरेन्द्रले माधवलाई यस्तो भनेका थिए

काठमाडौं– नारायणहिटी राजदरबार हत्याकाण्डको सोमबार २३ बर्ष पूरा भएको छ। 

राजा वीरेन्द्र वीरविक्रम शाहसहित उनको परिवार नै नास गरिएको दिनका रुपमा मानिने जेठ १९लाई कालो दिन पनि भनिन्छ। 

शुक्रबार राती हत्याकाण्ड हुनुको एक घन्टाअघि एक जना पत्रकारले राजा वीरेन्द्रसँग कुराकानी गरेका थिए। 

उनले के भनेका थिए भन्ने सन्दर्भ यहाँ उल्लेख गरिएको छ। त्यो विस्मृति यस्तो छ–
राजदरबारमा गत शुक्रवार राति घटेको त्रासदीपूर्ण घटनामा पर्नुभन्दा १ घण्टाअगाडि स्वर्गीय श्री ५ महाराजाधिराज वीरेन्द्र वीरविक्रम शाहदेवले एक सर्वसाधारण नागरिकसँग सवा घण्टा लामो भलाकुसारी गरिबक्सियो। 

त्यसरी श्री ५ सँग अन्तिमपटक भेटघाट र भलाकुसारी गर्न पाउने सर्वसाधारण नागरिक हुनुहुन्थ्यो काठमाण्डौ मैतीदेवी निवासी पत्रकार माधवकुमार रिमाल। 

उक्त भेटपछि श्री ५ वीरेन्द्रले राजनेता, सरकारी कर्मचारी र सर्वसाधारण कसैलाई पनि दर्शनभेट बक्सेन। र,सोझै राजपरिवारको जमघटमा सामेल हुनुभयो। 

रिमालसङ्ग उक्त भेट नारायणहिटी राजदरबारको मंगलसदनमा भएको थियो। श्री ५ का प्रमुख संवाद सचिव मोहनबहादुर पाण्डेले रिमाललाई टेलिफोनमा सम्पर्क गरी श्री ५ ले दर्शनभेट दिन चाहेको जानकारी गराएका थिए। 

सूत्र भन्छ–रिमाललाई  साँझ ६ः३० बजे समय तोकिएको थियो तर मौसुफले केही ढिला गरी ६.५० बजे दर्शन दिइबक्स्यो। 

आधा घण्टाको निर्धारित समय तोकिए पनि कुराकानी अझ सवा घण्टा लम्बियो। पत्रकार रिमाल नारायणहिटीबाट ८.१५ बजे मात्र बाहिरिनुभयो। त्यसको एक घण्टापछि दरवारमा त्यस्तो नरसंहार हुनपुग्यो। 

आफूले भेटेर फर्केको १ घण्टा पनि नबित्दै मौसुफ र राजपरिवारका अन्य सदस्यहरूको स्वर्गारोहण भएको सुन्नुपर्दा भावविह्वल हुनुभएका रिमालले घटनाप्रति दुःखित हुँदै आफूले श्री ५ वीरेन्द्रको दर्शनभेट १९ गते शुक्रबार साँझ पाएको पुष्टि गर्नुभयो। 

दर्शनभेटको समय स्मरण गर्दै भन्नुभयो–मौसुफ राष्ट्रिय समस्याका विषयमा गम्भीर रुपले चिन्तनशील रहेको पाएँ। सवा घण्टा लामो कुराकानीमा देशका विविध समस्या र अवस्थाहरूवारे राजाले रुचिपूर्वक छलफल चलाइबक्सेको पनि उहाँले बताउनुभयो। 

राजा वर्तमान सरकारको क्रियाकलापप्रति असन्तुष्ट रहिबक्सेको थियो। मौसुफले कुराकानीकै क्रममा आफ्नो नाम बोलाउँदै ‘एउटा नेपालीले अर्को नेपालीलाई मार्नु ठीक हो त माधव?’ भनिबक्सेको ताजा सम्झना रहेको पनि रिमालले बताउनुभयो। 

माओवादीविरुद्ध सेनालाई भिड्न पठाउनु जायज नभएकोतर्फ मौसुफले संकेत गरिबक्सेको थियो। मौसुफको आशय स्थिति नियन्त्रणमा लिन वा साम्य पार्ने गरी मात्र सेना खटाउँदा उपयुक्त हुनेतर्फ लक्षित थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध