नेभिगेशन
राजनीति

अनि कांग्रेस सभापति देउवाले झर्कँदै भने,‘तपाईँ खाँणकै पत्नी त हो नि!’

काठमाडौं– नेपाली कांग्रेसमा पनि ताल–तालका सांसदले बेतालका प्रसङ्ग झिकेर संसदीय दलको बैठकमा कोहराम मच्चाउने गरेको विषय सतहमा आएको छ।

त्यसैमध्यको एउटा प्रसङ्गमा संघीय संसद भवन नयाँ बानेश्वरमा सभापति शेरबहादुर देउवासँग अचम्मको संवाद भएको रहेछ।

विवरणमा आएअनुसार खासगरी कांग्रेस सांसद मञ्जु खाँण, माया राई र कान्छाराम तामाङको प्रसङ्ग निक्कै चोटिलो रहेछ।

पार्टीमा आफ्नो लामो योगदान रहे पनि बालकृष्ण खाँणकी पत्नीका रुपमा चिनिन परेको गुनासो गरेकी मञ्जुले सभापतिलाई गुनासो सुनाइछन्,‘बाहिर बाटोमा हिँड्दा खाँणकी पत्नी भन्छन्, भ्रष्टाचारी भन्छन्, लुकेर हिंड्नुपर्ने अवस्था छ।’ 

आफू चुनाव लडेर जित्न सक्ने ठोकुवा समेत गरेकी उनका कुरा सुनेर सभापति देउवा झर्किँदै भनेछन्,‘अनि के भो त तपाईं खाँणकी पत्नी नभए को हो त? खाँणकै पत्नी त हो नि!’

त्यसअघि गुनासो पोकोचाहिँ सहकारी प्रकरणमा केही समय पक्राउ परी छुटेकी माया राईले खोलिछन्।

सहकारी प्रकरणमा पक्राउ परी १७ दिन प्रहरी हिरासतमा बसेर धरौटीमा छुटेकी माया राईले सहकारी प्रकरणको पृष्ठभूमि उल्लेख गर्दै आफ्नो संलग्नता नरहेको जिकिरसहित सरकारले आफूमाथि प्रतिशोध साँधेर झुटा मुद्दा लगाएको दावी गरिछन्। 

‘त्यसबेला उहाँ भावुक हुनुभयो, रुनु पनि भयो’, स्रोतले भन्यो।

लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला पोखरेलको उदाहरण दिँदै प्रश्न गरिछन् राईले। 

‘अञ्जला समातिएकै दिन छुट्ने, म चैं १७ दिन हिरासत बस्नुपर्ने?’

यसपछि सभापति देउवाले सम्झाए,‘ल ल यस्तै हो, सबै मिल्छ। कानुनी कुरालाई मान्नुपर्छ, जे हुन्छ कानुनी लडाइँ लड्ने हो, आत्तिने हैन।’

अघिल्लो महिना ऊर्जा, जलस्रोत तथा सिँञ्चाइ राज्यमन्त्रीबाट बर्खास्तीमा परेका कान्छाराम तामाङले पनि गुनासो सुनाए।

गत चुनावमा काठमाडौँ–१ बाट जितेका प्रकाशमान सिंह र आफूले पाएको भोटको अन्तर सुनाउँदै उनले दह्रो कटाक्ष गरेछन्। ‘प्रकाशमानले जम्मा ८ हजार भोट ल्याउनुभएको छैन, मेरो एउटै पालिकाबाट ८ हजार बढी आएको छ। अनि मलाई जानकारी नदिई राज्यमन्त्री पनि खोसिदिने?’, तामाङले भनेछन्,‘प्रकाशमानचाहिँ उपप्रधानमन्त्री हुनुपर्ने?’

उक्त बैठकको पूरा विवरण जनआस्था साप्ताहिकको अनलाइन संस्करणले प्रकाशन गरेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति