नेभिगेशन
राजनीति

अब प्रचण्डमाथि खतराको तरबारः दुई दलीय पथमा त हैन सत्ता साझेदार?

क्यान्टोन्मेन्ट घोटालामा पनि छानबिन हुने ओलीको भनाई रहेको भिडिओ सर्वत्र अहिले पनि चलिरहेका छन्

काठमाडौं– मधेसी जनाधिकार फोरम रहँदा उपेन्द्र यादवलाई कमजोर बनाउँदै अर्को पार्टी गठन गरेका जयप्रकाश प्रसाद गुप्ताको राजनीतिक करिअर भ्रष्टाचार प्रकरणले समाप्त भयो।

अहिले उनी गृह जिल्ला सप्तरीमा व्यावसाय गरेर बसेका छन्। बेलामौका राजनीतिक विषयमा सामाजिक सञ्जालमा लेखेर बसे पनि शीर्ष तहको राजनीतिक ‘चलखेल’बाट समयमा नै किनारा लगाइयो। 

सर्वोच्च अदालतमा तत्कालिन न्यायाधीश सुशीला कार्कीको इजलासले उनलाई भ्रष्टाचारी ठहर गरेको थियो।

यसरी भ्रष्टाचार प्रकरणमा दोषी करार भई राजनीतिक करिअर नै समाप्त भएका नेपाली कांग्रेसमा गोविन्दराज जोशी, खुमबहादुर खड्का, चिरञ्जिवि वाग्ले पनि थिए, जसको ठूलो प्रभाव थियो।

यहि क्रममा कांग्रेसका अर्का सांसद मोहनबहादुर बस्नेत पनि टेरामक्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुद्दा दायरका कारण अहिले प्रतिनिधि सभाभन्दा बाहिर छन्। बिस्तारै उनी पनि राजनीतिको रिङबाट आउट हुने सम्भावना छ।

विहीबार मात्रै पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अख्तियारले पतन्जली प्रकरणको भ्रष्टाचार अभियोगमा आरोपपत्र दायर भयो। अख्तियारको यो मुद्दाका कारण अब नेपालको राजनीति पनि किनारातिर ढल्किएको छ।

यी प्रकरणका प्रशासनि कारण जे भए पनि राजनीतिक उद्देश्य र तयारीका रुपमा पनि ब्याख्या गर्न थालिएको छ। यसबीचमा बैकल्पिक राजनीतिको नेतृत्व गरेका रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा मुछिएको छ। रास्वपा सभापतिलाई यसरी कानुनी कठघरामा उभ्याइनुलाई राजनीतिक प्रतिशोध भनिएको छ।

प्रतिपक्षका दुई दलका मुखियालाई नै अभियोग लगाएपछि अब नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई क्यान्टोनमेन्ट घोटाला प्रकरण र शेरादरबारमा अख्तियारले छानबिन गर्न सक्ने अनुमान गरिएको छ। 

यो प्रचण्डका लागि खतराको तरबार हो। यसअघि क्यान्टोनमेन्ट प्रकरणमा तत्कालिन अख्तियार प्रमुख लोकमानसिंह कार्कीले बाहलवाला प्रधानमन्त्री रहेका बेला नै प्रचण्डमाथि अभियोग दर्ता गराउने कोशिश गरेका थिए। जुन प्रयत्नका क्रममा नै कार्कीलाई सर्वोच्च अदालतले पदमुक्त गरे पनि मुद्दा अख्तियारको तामेलीमा राखिएको थियो। 

उच्च स्रोतले भन्यो,‘माधव नेपालको मुद्दा पनि तामेलीमा थियो, ब्युँताएर मुद्दा लाग्यो। प्रचण्डको क्यान्टोनमेन्ट प्रकरणको पनि अध्ययन भैरहेको होला। जे पनि हुन सक्छ।’

यो घटनाका उपक्रमलाई हेर्दा राजनीतिक कोणबाट पनि ब्याख्या गरिन थालिएको छ। सत्ता साझेदारीमा रहेका कांग्रेस र एमालेले कतै दुई दलीय व्यवस्थाको अभ्यासका लागि अन्य दलको अस्तित्व बोकेका नेतामाथि अभियोग त लगाएका होइनन्? 

यद्यपि यसलाई पुष्टि हुने पर्याप्त प्रमाण अहिले नै पत्ता नलागे पनि बहसमा रहेको यहि विषयको अभ्यासको थालनी भएको आशंकाको सुविधाचाहिँ मिल्छ।

माधव नेपालको राजनीति ‘फिनिस’ भएपछि एमालेतिर छिर्नका लागि तयार भएका एकीकृत समाजवादीका नेता कार्यकर्ता ठूलै छहारी खोज्नेमा प्रधानमन्त्री केपी शर्मा ओली विश्वस्त छन्। सायद त्यसैले पनि माधवकुमार नेपालको पहिलो प्रतिक्रिया थियो,‘उहाँ मेरो राजनीतिक करिअर सखाप बनाउन पहिलादेखि नै लाग्नु भएको थियो।’

त्यसो त प्रतिनिधि सभाको रोष्ट्रममा उभिएर प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने भन्दै सबैमा छानबिन हुन सक्ने बताएका थिए।

सोही क्रममा क्यान्टोन्मेन्ट घोटालामा पनि छानबिन हुने ओलीको भनाई रहेको भिडिओ सर्वत्र अहिले पनि चलिरहेका छन्। 

यसले के पुष्टि गर्छ भने ओलीको निर्देशन सो चरणमा समेत पुग्न सक्छ र यो उनको चाहनाअनुसार दुई दलीय व्यवस्था कांग्रेस र एमाले मात्र ठूला शक्तिका रुपमा ‘बिराजमान’ रहने अभ्यास हुन सक्छ।

‘ओलीको राजनीतिक उदय र चर्चा नै माओवादीको बिरोध, सखाप बनाउनेबाट भएको थियो’, उच्च स्रोतले भन्यो,‘एकीकरण गरी प्रचण्डलाई कमजोर बनाउने अभ्यास असफल भयो। अब अर्को अभ्यास नहोला भन्न सकिन्न।’

जसले जे भने पनि भ्रष्टाचारविरुद्धको कारबाहीमा नागरिकको सहानुभूती लिँदै राजनीतिक अभिष्टको अभ्यास नलुकेको भन्न नसकिने अवस्था छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति