नेभिगेशन
राजनीति

प्रधानमन्त्रीले जेठ १५ को हाम्रो आन्दोलन भड्काउन खोजे : लिङदेन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले १५ जेठको पार्टीको कार्यक्रमलाई प्रधानमन्त्रीले भड्काउन खोजेको आरोप लगाएका छन् ।

राजतन्त्र पुनस्र्थापनाको माग गर्दै जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलनको तयारीमा रहेका राजावादी समूहका नेताहरुले सरकारले नियोजित तरिकाले दमन गर्न खोजेको भन्दै सुक्ष्म ढंगले निगरानी गरिदिन सम्पादक तथा पत्रकारहरुसँग आग्रह गरेका छन् ।

काठमाडौंमा मंगलबार विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा पत्रकारहरुसँग कुरा गर्दै राजवादी समूहका चार नेताले यस्तो आग्रह गरेका हुन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, आन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदी र राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टले एकै स्वरमा अनुरोध गर्दै सरकार दमनमा उत्रिने तयारीमा रहेको र कार्यकर्ता पनि त्यसैअनुसार उतार्ने तयारी गरेकाले आफूहरुको शान्तिपूर्ण आन्दोलनलाई नजिकबाट नियालिदिन आग्रह गरेका छन् ।

‘प्रतिपक्ष बलियो हुँदो हो त प्रधानमन्त्रीले यो बोली फिर्ता लिनुपर्ने या राजीनामा दिनुपर्ने तहको अभिव्यक्ति हो’, उनले भने, ‘सञ्चारमाध्यमले यो कार्यक्रमलाई पूर्वाग्रह नराखी अनुगमन गरोस् । गणतन्त्र, धर्मनिरपेक्षताको विरोध गर्नु संविधान विरोधी काम होइन । संविधानले दिएको सुविधाअनुसार प्रदर्शन गरिरहेका छौँ ।’

उनले आफूहरुको प्रदर्शन रत्नपार्कबाट सुरु हुने बताउँदै नेकपा एमालेले पनि नजिकै कार्यकर्ता उतार्ने तयारी गरेको बताए । उनले विगतबाट पाठ सिकेर अघि बढ्न खोजेको बताउँदै माघ १९ दोहो¥याउने राजा नखोजेको बताए ।

‘६२–६३ पछिको राजनीतिक परिवर्तनपछि हामी सबै शक्ति एक ठाउँमा उभिएका छौँ । हाम्रो दल बाहेक ४५ दल तथा समूह आवद्ध रहेका छन्’, उनले भने, ‘कतिपयलाई लाग्ला एकता कसरी सम्भव भयो । कुन स्वार्थ र कुन प्रेरणाले हामीलाई एक ठाउँमा ल्यायो । विगतमा पानी बाराबारको अवस्थामा यो १८ वर्षमा सर्वाधिक अनुकूल समय बनेको छ ।हामीहरुको विचारलाई सधैँको निमित्त समाप्त पार्ने ढंगबाट सरकार र गणतन्त्र पक्षधर दलहरु सक्रिय भए ।’

राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टले प्रधानमन्त्रीको अभिव्यक्ति गलत भएको टिप्पणी गर्दै आफूहरुको भद्र अवज्ञा आन्दोलन भड्काउने प्रयास सरकारले गरेको बताए । ‘यो भद्र अवज्ञा आन्दोलन हो । यसमा समस्या आउला जस्तो मानेर यहाँहरु जस्तो विद्धान पत्रकारहरुसँग सहयोगको अपिल गर्न बसेका हौँ’, उनले भने, ‘निहुँ खोज्नेले खोजे । देशको प्रधानमन्त्रीले यसलाई ठेगान लगा भनेपछि जोगाउनका लागि पत्रकारहरुसँग अनुरोध गर्नुपर्छ भनेर पनि उपस्थित भएका हौँ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति