नेभिगेशन
राजनीति
संश्लेषण

सीपीले बैठकमा नराखेको प्रस्ताव मियाँले राखेपछि मदन भण्डारीले राजसंस्था मास्न मानेका थिएनन्

भारतीय प्रस्तावलाई पार्टीको स्थायी कमिटीको बैठकमा पारित नगराएका कारण नै माले महासचिव भण्डारीको दुर्घटना भएको त हैन?

काठमाडौं– भारतका कतिपय भाजपाका सांसदहरूले नेपालको राजदरबार हत्याकाण्डमा तत्कालिन कांग्रेस आई सरकारको परोक्ष भूमिका रहेको चर्चा गर्दा यो राजनीतिक लाभका लागि भनिएको त होइन? भन्ने टिप्पणी पनि हुन्छन्।

तर नेपालकै कतिपय नेताका पनि बयानसहित घटना क्रम र उपक्रम अनि तिनको छानबिन अस्पष्ट हुँदा शंकाको सुविधा पर्याप्त मिल्ने गरेको छ।

०४६ सालयता खासगरी दुई हत्याकाण्डलाई नेपालमा गहिरोसँग चर्चा गरिन्छ। २०५० साल जेठ ३ गते भएको मदन भण्डारी र जीवराज आश्रितको दासढुङ्गा दुर्घटना जसलाई केपी शर्मा ओली आयोगले हत्या भनेको थियो तर छानबिनमा चासो देखाएको छैन। 

अनि, दरबार हत्याकाण्ड जसको दोषजति दीपेन्द्रको टाउकोमा राखेर प्रतिवेदन पेस गर्दा अपत्यारिलो हिसाबले नाटकीय शैली अपनाइयो।

यी दुई घटनाको ‘साइनो’ हुनेगरी नेकपा एकीकृत समाजवादीका नेता साध्यबहादुर भण्डारीको एउटा अन्तरवार्ताका कारण केलाउन सकिने ठाउँ छ।

उनले माओवादी अनि पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराईको उदय, मदन भण्डारीको दुर्घटनासहित दरबार हत्याकाण्डसँग जोडिने घटना उपक्रमलाई बल पुग्नेगरी एउटा अन्तरवार्तामा भनेका छन्,‘दरबार र राजसंस्था फ्याँक्नका लागि भारतीय प्रधानमन्त्री रहेका राजीव गान्धीको प्रस्ताव थियो।’

यो अवस्था आउनुको कारण भारतका कतिपय विश्लेषकले पनि ब्याख्या गरेका छन्। सार्वजनिक फोरममा नै भाजपा लोक सभा सांसदले भनेका थिए,‘बडो दुखका साथ भन्नुपर्छ। नेपालको राजशाहीको कत्लेआम सोनिया गान्धी सरकारले गरेको हो। त्यसमा रअको प्रयोग गरियो। नेपालको पशुपतिनाथ मन्दीर छिर्नका लागि त्यहाँका भट्टले रोकेका थिए, प्रधानमन्त्री राजीव गान्धीले राजा वीरेन्द्रसँग त्यो खुलाउन भने तर वीरेन्द्रले भारतीय भट्ट हुन्। उहाँहरुको नियमविपरित जान सकिन्न भन्दा पछि दरबार हत्याकाण्ड मच्चाइयो।’

उनको भनाईमा कति तथ्य छन् त्यसको छानबिन र खोजी भएको छैन। तर भण्डारीको पछिल्लो अन्तरवार्ता हेर्दा कहिँ न कहिँ यो हत्याकाण्डसँगै मदन भण्डारी दुर्घटना पनि जोडिन्छ।

‘नेपालमा राजसंस्था फ्याँकेर गणतन्त्र स्थापना गरौं। त्यसमा भारतले सहयोग गर्छ भनी तत्कालिन मालेका नेता सीपी मैनालीलाई प्रस्ताव गरियो’, भण्डारी भन्छन्,‘सीपीले यो प्रस्ताव बैठकमा नराखेपछि बाराका सलिम मियाँ अन्सारीमार्फत राखियो। तर मदन भण्डारीले भन्नुभयो, गणतन्त्र ल्याउने हो तर अरुले खुवाएको खिर खाएर ल्याइयो भने हामी उनीहरुको आदेश पालक हुन्छौं। हामी हाम्रो बलबुताले मौलिक ढङ्गले गणतन्त्र ल्याउनेछौं।’

मदन भण्डारी पनि यो प्रस्ताव अस्वीकार गरेको केही महिनामा नै पोखराबाट चितवन सभामा जाने क्रममा दासढुङ्गामा दुर्घटना भएको थियो। भण्डारी र जीवराज आश्रितको मृत्यु भयो भने चालक अमर लामा बाँचेका थिए। 

साध्यबहादुर भण्डारीले अगाडि भनेका छन्,‘मदन भण्डारीमार्फत यो पूरा हुने अवस्था नआएपछि भारतको सिलिगुरीमा रअका प्रतिनिधिले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराईसँग यो डिल फाइनल गरे।’

भण्डारीले बताएको विषयमाथि घोत्लिन र शंकाको सुविधा मिल्ने एउटा फरक तथ्य के हो भने मदन भण्डारीको जीप चलाउने ड्राइभर लामालाई पछिसम्म माओवादीले संरक्षण गरेको थियो। अर्कोचाहिँ गणतन्त्रको तिव्र माग गरिरहेका तत्कालिन माले र पछि एमाले महासचिव मदन भण्डारीले ‘एउटा राजा रहँदैमा केही फरक पर्दैन तर साम्राज्यवादी, दलाल नोकरशाही रहेसम्म देशले मुक्ति पाउँदैन’ भन्नु पनि हो। 

जे भए पनि नेपालको ०४६ सालपछिको इतिहासमा मदन भण्डारी र जीवराज आश्रित दुर्घटना फगत कारण नखुलेको प्रकरण बनेको छ भने दरबार हत्याकाण्ड पनि एउटा रहस्यको कथा जस्तो बनिरहेको छ, जसको तथ्य खोजीमा मुख्य राजनीतिक दलले शक्तिमा पुगेका बेला पनि चासो दिएनन्।

यसकारण भन्न सकिन्छ,‘दालमा केही कालो छ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति