नेभिगेशन
राजनीति

भाजपा नेताहरूको तारान्तर दौडपछि कांग्रेसमा धर्म निरपेक्षता बिरोधी मत बलियो, थापा पनि बदलिए

कांग्रेसमा ९० प्रतिशतभन्दा बढी धर्म निरपेक्षता बिरोधी मत हुने दाबी

काठमाडौं– नेपाली कांग्रेसमा धर्म निरपेक्षता बिरोधी मत बलियो बनेको छ। यस विषयमा सभापति शेरबहादुर देउवा मौन बसे पनि उनी निकट मानिएकादेखि धर्म निरपेक्षताका वकालत कर्ताको मत बलियो बनिरहेको छ।

यहाँसम्मकी महामन्त्री गगनकुमार थापा पनि सनातन धर्मको पक्षमा उभिएका छन् भने सभापति देउवा निकट मानिएका नेता एनपी साउद पनि यसैको पक्षमा उभिएका छन्। 

हिन्दूत्वको पक्षमा वकालत गरेका तत्कालिन नेता खुमबहादुर खड्काको निधन भए पनि त्यसको मियोँका रुपमा अगाडि बढेका नेता शंकर भण्डारीको अगुवाईमा अभियान तिव्र छ भने आगामी निर्वाचनअघि नै संविधान संशोधन भई सनातनी ‘हिन्दू राष्ट्र’ प्रस्तावनामा नै लेखिने चर्चा चलिसकेको छ।

पछिल्लो पटक भारतीय जनता पार्टी (भाजपा)का नेताको तारान्तर दौड यसको संयोग बनेको हो। भाजपा विदेश विभाग प्रमुख बिजय चौथाइबाले, बरिष्ठ नेता भगतसिंह कोश्यारी र बिजय जोलीको निरन्तर नेपाल दौड यसको प्रत्यक्ष उदाहरण हो भने परोक्ष रुपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार समितिका सदस्यको नेपाल भ्रमण पनि एउटा कारण मानिएको छ। 

यसबीच सगरमाथा संवादको छेको पारेर भारतीय वनमन्त्री भूपेन्द्र यादव पनि काठमाडौं उत्रिएका थिए। यी नेताहरुको उच्चस्तरीय राजनीतिक भेटवार्ता समेत भएका थिए। 

नेपाल सनातनी हिन्दू राष्ट्रको यात्रामा रहेको कांग्रेस नेता भण्डारीले बताइसकेका छन्। वैशाख २६ गतेको प्रतिनिधि सभाको बैठकमा रोष्ट्रमबाट नै उनले भने,‘देशभन्दा ठूलो पार्टी होइन, पार्टी गौण हो। ८५ प्रतिशत हिन्दूत्व मान्ने जनताको भावनालाई कुल्चिन मिल्दैन।’

यसअघि संविधान जारी गर्ने बेला २०७२ सालमा तत्कालिन कांग्रेस सभापति तथा प्रधानमन्त्री समेत रहेका सुशील कोइरालाले धर्म निरपेक्षता संविधान संशोधनमार्फत हटाइने आश्वासन दिएको स्मरण गर्दै भण्डारीले भनेका थिए,‘संविधान जारी नगरी नहुने भएका कारण अहिलेलाई जारी गरिदिऊँ तर धर्म निरपेक्षता कायम हुँदैन संशोधनबाट हटाउने भनेर सभापति कोइरालाले भन्नुभएको थियो।’

पछिल्लो पटक धर्म निरपेक्षताको वकालत गरिरहेका कांग्रेस महामन्त्री गगन थापाले पनि बोली फेरेका छन्। उनले एक अन्तरवार्तामा भनेका छन्,‘राज्यको धर्म हुन्छ।’ उनी हिन्दूत्व झल्किने टिका र फूल लगाएर अहिले दैनिकी सुरु गर्छन्। 

विद्यार्थी राजनीतिदेखि नै सभापति देउवालाई साथ दिँदै आएका अर्का नेता हुन् एनपी साउद। उनका भनाइमा कांग्रेसभित्र ‘सबै धर्मको स्वतन्त्रता रहने गरेर सनातन हिन्दूराष्ट्र बनाउनु पर्छ भन्ने बलियो जनमत’ छ।

तर अहिलेकै संसद्बाट संविधान संशोधन अन्य प्रमुख दल त्यसमा पनि खास गरी नेकपा एमालेको सहमतिबिना सम्भव देखिँदैन।

नेता साउदका अनुसार त्यसको निम्ति नेपाली कांग्रेस अगुवाइ गर्न तयार छ। बीबीसी नेपाली न्यूज उनलाई उदृत गर्दै लेख्छ,‘कांग्रेसको आधिकारिक सोच के छ भने धर्मजस्ता संवेदनशील विषयलाई संविधानभित्र ल्याउन राष्ट्रिय सहमति बन्नुपर्छ र त्यो बनाउन कांग्रेस सकारात्मक हुन्छ।’

विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम पनि एमालेको भूमिका महत्त्वपूर्ण हुने बताउँछन्। उनले पनि कतिपय ठाउँमा जाँदा एमाले र माओवादीकै कार्यकर्ता र समर्थकहरूमा संविधानमा धर्म निरपेक्षता नलेखिदिएको भए हुन्थ्यो भन्ने भावना पाएको बताए। त्यसले गर्दा तीब्र धर्मान्तरणलाई बल पुगेको अनुभव उनीहरूले सुनाएको गौतमको भनाइ छ। 

कांग्रेस प्रवक्ता प्रकाशशरण महत पनि धर्म निरपेक्षताको विषयमा फरक बहस चलेको स्वीकार गर्छन्। घुमाउरो पारामा उनले पनि धर्म निरपेक्षता लामो समय जान सक्ने अवस्था नरहेको स्वीकार गरेका विवरण सतहमा आएका छन्।

कांग्रेसमा यो मत बलियो हुनुको कारण ५२ प्रतिशतभन्दा बढी महासमिति सदस्यले हिन्दूत्वको पक्षमा उभिनु पनि हो। तर यसले एजेन्डाका रुपमा बैठकमा प्रवेश पाउन सकेन भने सभापति देउवाले केन्द्रीय समितिमा पनि प्रस्ताव गरेनन्। तर, अबका दिनमा कांग्रेसमा यसरी नचल्ने अवस्था आएको बताइन्छ। किनकी, धेरै नेता धर्म सापेक्षताको पक्षमा उभिन थालेका छन् भने यो मत ९० प्रतिशतभन्दा बढी हुने आँकलन पनि गरिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति