नेभिगेशन
राजनीति

जनयुद्ध पीडितलाई कहिल्यै बिर्सेको छैन- प्रचण्ड

रुकुमपूर्व - नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको जनतासँग माओवादी – मध्यपहाडी लोकमार्ग जनजागरण अभियान झरीका बीच रुकुमपूर्वको सिस्ने गाउँपालिका–५, रुकुमकोटमा पुगेको छ ।

सो अवसरमा अध्यक्ष प्रचण्डले जनयुद्धका शहीद परिवार, बेपत्ता व्यक्तिका आफन्त तथा घाइते अपाङ्ग योद्धाहरूको अवस्थाबारे जानकारी लिँदै भेटघाट गरेका छन् ।

घाइते तथा अपाङ्ग योद्धाहरूले उपचार, जीवन निर्वाह भत्ता वृद्धि, रोजगारीको व्यवस्था र राज्यबाट प्रभावकारी पुनःस्थापनाको माग गरेका थिए । त्यस्तै, विभाजित माओवादी धाराहरूलाई पुनः एकताबद्ध गर्नुपर्ने आवश्यकता पनि व्यक्त गरिएको थियो। सहभागीहरूको माग सुन्दै अध्यक्ष प्रचण्डले उनीहरूको पीडा र आवाजलाई गम्भीर रूपमा लिएको बताउँदै, राज्य जिम्मेवार ढंगले अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले माओवादी पार्टी सरकारमा रहँदा जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गरिएको, शान्ति प्रक्रियासम्बन्धी बाँकी कार्यहरू पूरा गर्न संसदबाट कानुन निर्माण गरिएको, र पीडितहरूलाई क्षतिपूर्ति उपलब्ध गराउने कानुन मै व्यवस्था गरिएको जानकारी दिए । उनले शान्ति प्रक्रिया टुंग्याउन दुईवटा समिति गठन भइसकेको जानकारी दिए । पीडितलाई परिचयपत्र दिने प्रक्रिया कानुनमार्फत सुनिश्चित गरिएको र सोहि अनुसार ति समितिले काम गर्ने उनले बताए । 

सरकारमा रहँदा माओवादी केन्द्रले देशका पाँच स्थानमा आवासीय विद्यालय स्थापना गरेर शहीद, बेपत्ता र गरीब परिवारका सन्तानलाई शिक्षाको पहुँचमा ल्याउने काम गरेको प्रचण्डले स्मरण गराए । उनले आफूहरूले पीडितलाई कहिल्यै नबिर्सेको प्रष्ट पारे ।

पार्टी एकताको विषयमा प्रचण्डले धारणा राख्दै आगामी जेठ १२ गते नेपा राष्ट्रिय पार्टीसँग पार्टी एकता हुने जानकारी दिए । साथै, बाबुराम भट्टराईसँगको अलग भएर गएका अन्य नेताहरूसँग पनि विचार र सिद्धान्तको आधारमा एकता गर्ने प्रक्रिया अघि बढिरहेको बताए ।

पार्टीले आत्मसमिक्षा गर्दै आफ्नो वर्गका जनता, जनयुद्धका शहीद परिवार, बेपत्ता व्यक्तिका आफन्त तथा घाइते अपाङ्ग योद्धाहरूसंग भेट्दै पिर मर्का बुझ्दै र सके सम्म उनीहरूकै घरमा बस्ने गरेको जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति