सत्ता गठबन्धन फेरिएकोप्रति टिप्पणी 

महत प्रेमले देउवाको प्रधानमन्त्री सपना उडायो, ओलीको ‘लिँडे पुच्छर’ भए लामिछाने

सोमबार, फागुन २१, २०८०

काठमाडौं– रातारात सत्ता गठबन्धन परिवर्तन गर्दै प्रधानमन्त्री पदमा आफूलाई सुरक्षित राखेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक खेलाडी भएको साबित गरेका छन्। 

नेपाली कांग्रेससँगको गठबन्धन तोड्दै सरकार गठनका बेला साथ दिएका राप्रपाबाहेकका एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा)लाई सरकारको पक्षमा उभ्याउन प्रचण्ड सफल भए। 

गठबन्धन भत्किनुका मुख्य तीन कारण कांग्रेसले खुट्याएको छ। प्रचण्डले मागेको अर्थ मन्त्रालय नदिनु, संक्रमणकालिन न्यायसम्बन्धीको विषय (टीआरसी)मा कांग्रेसको अडान र राष्ट्रिय सभाको अध्यक्ष माओवादीलाई नदिनु नै गठबन्धन भत्किनुका प्रमुख कारण हुन्। यसबाहेक महासमिति बैठकले आगामी निर्वाचन कांग्रेस एक्लैले लड्ने निर्णय गरेपछि प्रचण्डले भावी चुनावी राजनीतिलाई सुरक्षित गर्न एमालेलाई हातमा लिएको पनि उसको बुझाई छ।

यी सहायक कारण भए पनि गुह्य कारण दुईटा छन्। अनि, नयाँ गठबन्धनमा रास्वपा सभापति रवि लामिछानेले पनि फोहोरी गठबन्धनीय राजनीतिमा आफू कसको कित्तामा कसरी उभिएँ भन्ने पनि प्रमाणित गरेका छन्। 

खासगरी कांग्रेस सभापति शेरबहादुर देउवाले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई अधिक प्रेम गर्नुचाहिँ सत्ता माओवादीसँगको गठबन्धन भत्किनुको प्रमुख एक कारण हो। अर्को, राष्ट्रिय सभामा पहिलो बनेको माओवादीलाई अध्यक्ष पद नदिई आफ्नो दाबी कायम राख्नु। यसलाई नेपाली उखान तुक्कामा भुइँको सोहोर्न खोज्दा पोल्टाको पोखिनु भनेर पनि टिप्पणी गरिन्छ। देउवाका लागि अहिले त्यहि भएको छ। यो राजनीतिक उपघटनाले देउवाको प्रधानमन्त्री बन्ने सपना तत्कालका लागि तुहाएको छ। 

अनि, यहि उपक्रममा रास्वपा सभापति रवि लामिछाने एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक ‘लिँडे पुच्छर’ रहेको पनि पुष्टि गरेको छ। किनभने उनी पार्टी गठनको काममा सक्रिय रहेका बेला हतारमा सत्ता राजनीतिको भुङ्ग्रोमा दोस्रो पटक प्रवेश गरेका छन्। जबकि, राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा भने यो दौडमा देखिएन।

यता राजनीतिक शक्ति ह्रासमा रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको एक बर्ष प्रधानमन्त्री बन्ने सपना पनि नयाँ समीकरण बनेसँगै ‘खरानीको डोरी’ बनेको छ। त्यो खरानीको डोरी जुन न नाम्लो बनाउन काम लाग्ने भयो, न दाम्लो नै। यसैले अहिलेको विकसित राजनीतिक घटनाक्रममा माधव नेपाल जति सरप्राइज सायदै कोही भएका होलान्। 

नयाँ सत्ता समीकरण कति लामो जाने हो यस विषयको समयसीमा तोक्न मुस्किल नै छ। किनभने सत्ता राजनीतिमा यति चाँडो फेरबदल र अदला बदला भइरहेको छ कि, यसको प्रारुप र भविष्य आँकलन गर्न नै मुस्किल हुने भयो। 

उच्च तहका स्रोतहरूलेचाहिँ विदेशी शक्तिको हस्तक्षेपले तत्कालका लागि प्रवेश नपाए पनि सरकार बनिसकेपछि भनेचाहिँ केही न केही खेल रच्न सक्ने अनुमान गरेका छन्। यद्यपि, अब राजनीतिक घटनाक्रम र गोप्य सहमतिका खाका कसरी अगाडि देखिनेछन् त्योचाहिँ विस्तारै खुलासा हुने नै छ।

भिडिओ रिपोर्ट पनि हेर्नुहोस्  

  

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ११:०१
प्रतिक्रिया दिनुहोस्