अभिनयका कुरा

नेपाली फिल्ममा दयाहाङहरूको उदय किन हुनुपर्छ?

बुधबार, पुस १८, २०८०

निन्छ नि– सिनेमा संसारको सबैभन्दा सुन्दर ठगी हो। यसलाई अझ व्याख्यात्मक टिप्पणी गर्नुपर्दा ‘सिनेमा संसारको सृजनशील ठगी हो’ भन्न सकिन्छ।

सिनेमा खास अर्थमा मनोरञ्जनको एउटा साधक मानिन्छ । तर, समाजअनुसार त्योभन्दा अलग हिसाबले व्याख्या गर्दा सृजनाबाट धेरै चिज हुन्छन् । जस्तो समाज रुपान्तरणको चरण, क्रान्ति र आन्दोलन पनि हुन्छन् । जसरी कविताले क्रान्तिको आवाजलाई बोक्ने गर्दछ, सिनेमाले त्यसको चित्र र बस्तुस्थितिलाई स्पष्ट देखाउँदछ। त्यसैले त कतिपय शासकले सिनेमामाथि प्रतिबन्ध सम्मका घोषणा गरेका छन् ।

यो पाटोतिर भन्दा पनि नेपाली सिनेमामा अहिले आएका परिवर्तन र त्यसले जन्माएका पात्रहरूको बिम्बमाथि चर्चा गरौं । 

फिल्मका अनेक जनरा हुन्छन् । खासगरी दक्षिण भारतीय फिल्म उद्योगले बलिउडलाई तर्साउनेगरी ल्याएको सृजनासहित प्रविधिको प्रयोग डरलाग्दो छ। हलिउडको त कुरै नगरौं, त्यो अलग दुनियाँ नै रह्यो। कुरा गरौं– नेपाली सिनेमाको ।

नेपालमा सिनेमाको जग खन्नेहरू मध्य एक हुन्, नीर शाह । उनले अहिलेको नयाँ पुस्ताका विषयमा पनि टिप्पणी गरेका छन्। केही तल उनका शव्द सापटी लिएर चर्चा गर्ने नै छु ।

तर, नेपाली सिनेमाको लत र तलतलचाहिँ ९० को दशकमा भएको एउटा फरक उदयले लगायो अथवा बसायो। सम्भवतः यसलाई नमान्ने कमै होलान् । भुवन केसी, शिव श्रेष्ठलगायतका पात्रले धानिरहेको सिनेमा क्षेत्रको गति दिने अर्का अभिनेताको उदयले एउटा कालखण्डमा उत्पात मच्चाएकै हो, हामी स्कुले हुँदा देखेको, जानेको कुरा हो ।

नेपालमा कोही स्टार थियो र छ भन्ने लाग्छ भने त्यो एक युगलाई लिड गरेका राजेश हमाल हुन् । उनको उदय नेपाली फिल्म उद्योगका लागि स्वर्णिम काल बन्यो । सिङ्गल थिएटरमा ९० को दशकमा बलिउड फिल्मको जगजगी रहेका बेला हमालले नेपाली फिल्मको लय फर्काए। दर्शक हमालका क्रेजी फ्यानसम्म बने ।

सिनेमा उद्योगमा उनको चर्चा दुई प्रकारले हुने गरेको थियो । पहिलो व्यस्तता, दोस्रो कम्प्लिट व्यावसायीक व्यक्तित्व। यदाकदा चर्चाको उपक्रममा उनको पारिवारिक पृष्ठभूमी, शैक्षिक योग्यता पनि आउने गरेका थिए । ‘युगदेखि युगसम्म’बाट उदय गरेका हमालको जीवनको संयोग के बनिदियो भने हिरोइज्म स्थापित गर्दैै फिल्म क्षेत्रको एउटा युगचाहिँ पक्कै खाए ।

अब आजका दिनमा सिनेमा घरमा आएका परिवर्तन, प्रविधि, नयाँ पुस्ता, अध्ययन र त्यसको प्रयोगको अलग पाटो छ। सिनेमा अहिले दुई प्रकारान्तरमा चर्चामा छन् । हामी, मौलिकताको विषयमा टिप्पणी गर्नेछौं। अहिले पनि हिरोइज्म नभएको भन्ने होइन। अनमोल केसी, प्रदीप खड्का, पल शाहललगायतका चर्चाका विषय छन्। त्यतातिर नलम्कि मौलिक सृजनाको क्षेत्रमा स्थापित भएका दयाहाङ राई, सौगात मल्ल, अनुप बराल यावत थिएटरबाट पर्दामा छिरेकाहरूले ल्याएको परिवर्तनका विषयमा चर्चा हुनेछ ।

यहाँ मैले बिम्बका रुपमा शीर्षकमा ‘दयाहाङहरू’ भनेको छु ।  

 सपनाको बारेमा कुरा गर्नु भनेको फिल्मको बारेमा कुरा गर्नु जस्तै हो, किनकि सिनेमाले सपनाको भाषा प्रयोग गर्दछ। वर्षहरू एक सेकेन्डमा बित्न सक्छन्, र तपाईं एक ठाउँबाट अर्को ठाउँमा जान सक्नुहुन्छ । यो छविबाट बनेको भाषा हो। र वास्तविक सिनेमामा, हरेक वस्तु र हरेक प्रकाशको अर्थ सपनामा जस्तै हो। अनि, अहिले समाजको प्रतिबिम्बका रुपमा पनि सिनेमा बन्न थालेका छन् ।

सिनेमाले कति पैसा कमायो भन्ने फरक चर्चा हो । व्यावसायीकताका हिसाबमा त्यो सफलता होला तर सिनेमाले जीवन बोक्न सक्नुपर्छ, समाज त्यसको चित्र र अभिनय ठ्याक्कै आफूलाई उभ्याउन सकिने गरी प्रस्तुत हुनुपर्छ । यस अर्थमा अहिले दयाहाङहरूको उदय बडो सान्दर्भिक र शिल्पी छन् । किनकी, यीनले पर्दामा मौलिक जीवन बोकेर दर्शकमाथि न्याय गरिरहेका छन्। सबैमा नहोला तर प्रायःमा गरेका छन् ।

फिल्म क्षेत्रमा सक्रिय रहेको बताउँछन् तर सृजनाको भुत्लोभाङ केही नहुने अर्को अर्थमा पचाउन नसकिने खालका प्रडक्ट ल्याउने पनि छन् । तिनले जीवनको कुनै कुनामा पनि छुन सक्तैन, त्यो त सृजना नै होइन भन्छु । यति मात्र होइन कुनै कुनै फिल्म हेर्नु त बलात्कारमा पर्नु जस्तो पनि लाग्छ । यद्यपि, अर्कातिर समाजको चित्र र चरित्र बोकेका कतिपय कलाकार भेटिन्छन् जसले गुमिरहेको पर्दाका व्यापार मात्र बढाएका छैनन्, त्यसको साख पनि जोगाइरहेका छन् ।

नीर शाहहरूले स्थापित गरेको पर्दामा दयाहाङहरूको उदयको सन्दर्भमा स्वयम् शाहले भनेका थिए,‘दयाहाङहरू जस्तो ५० बर्षमा एक पटक जन्म लिन्छन् ।’ नेपाली फिल्म उद्योगमा यस्ता ५० बर्षहरू आइरहनुपर्छ। त्यसैले भन्छु– दयाहाङहरूको उदय भइरहनुपर्छ ।

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १२:४१
प्रतिक्रिया दिनुहोस्