प्रदर्शनको ५१ दिन मनाउँदै चलचित्र ‘परदेशी २’

बिहीबार, मंसिर १४, २०८०

काठमाडौँ– नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । 

प्रकाश सपूत, केकीअधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र दशैंको अवसर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आएको थियो । दर्शकको अपार मायाका साथ चलचित्रले प्रदर्शनको लामो यात्रा तय गरेको हो । काठमाडौंसँगै देशका विभिन्न सहरमा चलचित्र बिहीवार ४९ औं दिनमा प्रदर्शनरत छ ।

काठमाडौंमा अस्टनारायण पिक्चर्स, गोपीकृष्ण मुभिज र आइएनआई सिनेमाज वानेश्वरमा चलचित्र प्रदर्शनरत छ ।

त्यस्तै, बुटवलको मिलन सिनेमा हल, दाङको श्री गणेश सिनेमा हल र भिएफएक्स सिनेमाज, कावासोतीमा रहेको कावासोती सिनेम्याक्स, नेपालगञ्जमा रहेको सिने रोयल, पोखराको श्रीकृष्ण हलमा चलचित्र अहिलेसम्म निरन्तर चलिरहेको निर्माता राजेश वंशलले जानकारी दिए ।

चलचित्रले कमाइ पनि राम्रो गरेको छ । घरेलु बक्स अफिसमा चलचित्रले ८ करोड हाराहारी ग्रस कलेक्सन गरेको निर्माता वंशलले बताए । युवापुस्तामा रहेको विदेश मोह, त्यसले परिवार र समाजमा पारेको प्रभावको कथामा बनेको चलचित्रलाई रमेश बिजीले लेखेका हुन् । प्रकाश, केकी र वर्षासँगै प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, नीर शाह, सबिन बास्तोला, देबेन्द्र बब्लुलगायतको समेत चलचित्रमा शीर्ष भूमिका छ ।

मानकृष्ण महर्जनको छायांकन, रामजी लामिछाने गोविन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध रहेको चलचित्रलाई दिर्घ खड्काले सम्पादन गरेका हुन् ।

विदेशमा पनि रुचाइँदै

नेपालका दर्शकमाझ रुचाइएको चलचित्रको विदेश प्रदर्शन सुरु भइसकेको छ । चलचित्र यूएई, कतार, इराक, ओमान, बहराइनलगायतका मध्यपूर्वका देशमा प्रदर्शनमा आइसकेको छ । कुवेतमा केही दिनमा प्रदर्शनमा आर्उँदैछ । माल्टामा चलचित्रले दर्शकको निकै राम्रो माया पाइसकेको छ ।

अमेरिकाको विभिन्न सहरमा चलचित्रको प्रदर्शन सुरु भएको छ । निर्देशक रायमाझी स्वयंम नै यतिबेला चलचित्र प्रदर्शनका लागि अमेरिका पुगेका छन् । फिनल्याण्ड र स्पेनको बार्सिलोनामा चलचित्र प्रदर्शन हुने क्रममा छ । जापानका केही सहरमा चलचित्र प्रदर्शन तय भएर प्रचारप्रसार सुरु भइसकेको छ ।

कोरियामा डिसेम्बर ३ बाट चलचित्र प्रदर्शनमा आउँदैछ । अस्ट्रेलिया, यूके, हङकङ, न्यूजल्याण्ड, क्यानडासँगै भारतमा समेत चलचित्र प्रदर्शन हुने तयारीमा रहेको निर्माता वंशलले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  २१:४९
प्रतिक्रिया दिनुहोस्