नेभिगेशन
मनोरञ्जन

‘माग्ने राजा’ टिजरको प्रतिक्रियाले केदार घिमिरे उत्साहित

काठमाडौं- अभिनेता केदार घिमिरेले 'माग्ने राजा' टिजरको प्रतिक्रियाले उत्साहित बनाएको प्रतिक्रिया दिएका छन् ।

सिनेमाकर्मी र दर्शकबाट प्रशंसा पाएका उनले टिजरले अपेक्षित प्रतिक्रिया पाएकोमा प्रशन्नता व्यक्त गरेका छन् । उनले सिनेमाका बाँकी प्रचार सामाग्रीले पनि सोही अनुसारको माया पाउने विश्वास व्यक्त गरे ।

'टिजरमा आएको दर्शकको प्रतिक्रियाले निर्माण टिम खुसी छौँ । मलाई नयाँ स्वरुपमा हेर्न खोज्नु भएको प्रतिक्रियालाई पनि हामीले सकारात्मक रुपमा लिएका छौं,' घिमिरेको भनाइ छ, ‘तर 'माग्ने राजा'को चरित्र माग्नेकै निरन्तरता स्वरुप निर्माण भएकाले यसमा पुरानो माग्नेका लवज र थेगो प्रयोगमा आएका छन् । तर सिनेमामा नयाँ माग्ने पनि देख्न सक्नुहुनेछ ।'

तीन दिनमा करिब १० लाख भ्युज पाएको टिजरका संवादलाई दर्शकले रुचाएका छन् । त्यसैगरी टिजरमा देखिएको प्रडक्सन भ्यालुले पनि दर्शकलाई सन्तुष्ट बनाएको छ । निर्देशक ऋषि लामिछाने टिजरले तीन दिनमा नौ लाख ९३ हजार बढि दर्शक पाउनुलाई सिनेमाले कमाएको विश्वासको रुपमा ग्रहण गरेको बताए । निर्देशक लामिछानेका अनुसार सिनेमा हास्य विधामा निर्माण भएको र टिज गर्ने हिसाबले टिजरले सिनेमालाई लिएर कौतुहलता सिर्जना गर्न सकेको आभाष भएको बताए ।

‘टिजरको काम टिज गर्ने अर्थात् दर्शकलाई सिनेमाप्रति उत्सुक बनाउने हो । टिजरले त्यो गरेको छ । केदार घिमिरेलाई पहिलो पटक मुख्य भूमिकामा प्रस्तुत गर्ने चुनौती लिइरहँदा, दर्शकको स्वीकारोक्तिलाई लिएर दुविधाहरु थिए । तर टिजरमा आएको प्रतिक्रियाले हामी ढुक्क भएका छौँ,’ लामिछानेले भने ।

उनले पनि सिनेमाको मुख्य कथा माग्नेको चरित्र वरिपरि घुम्ने भएकाले प्रचार सामाग्रीमा उनकै चरित्रले स्थान पाउने बताए । ‘यो कथालाई माग्नेकै स्पिन अफ चरित्र भने पनि हुन्छ र हामीले घोषणादेखि नै यही कुरा भन्दै आएका छौँ । हामीले माग्नेलाई एउटा हास्यरसयुक्त कथासहित प्रस्तुत गर्ने प्रयास गरेका हौँ । यही अपेक्षाअनुसार सिनेमालाई हेर्नुभयो भने निराश हुनुपर्दैन,' लामिछानेले भने ।

आगामी भदौ ६ गतेबाट देशब्यापी प्रदर्शनमा आउने सिनेमाको टिजरले दर्शकमाझ राम्रो हाइप बनाउन सफल भएको छ । मुनाल घिमिरेको लगानीमा बनेको सिनेमामा केदार घिमिरेसँगै विल्सन विक्रम राई, वर्षा सिवाकोटी, शिशिर वाङदेल, शारदा गिरी आदि कलाकारको अभिनय रहेको छ । सिनेमालाई नरेन्द्र मैनालीले छायांकन गरेका हुन् ।

https://youtu.be/0pvosNcq4Hc

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन