समाजको कथा भन्न प्रेरित भएँ : राष्ट्रिय पुरस्कार विजेता निर्देशक राउत 

बुधबार, भदौ १३, २०८०

काठमाडौँ– प्रेम कथानक चलचित्रमार्फत निर्देशनमा उदाएका निर्देशक दिनेश राउत केही समय यता फेरिएका छन् । 

उनको रोजाइमा सामाजिक विषय र कथा पर्न थालेका छन् । यसले उनलाई सम्पूर्ण विधामा अब्बल निर्देशकको रूपमा चिनाइरहेको छ । उनले मङ्गलबार राष्ट्रपति भवन शीतल निवासमा सम्प्पन्न ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान २०८०’ मा सर्वोत्कृष्ट चलचित्र निर्देशकको पुरस्कार प्राप्त गरे । 

फरक विधामा सफल भइरहेका निर्देशक राउतले समाजको कथालाई चलचित्रमार्फत प्रस्तुत गरेको बताए । उनले भने, “समाजमा नदेखिएका कथालाई अगाडि ल्याउने कोसिस गरेको थिएँ । समाजमा हुनुपर्ने परिवर्तनका लागि युद्ध लडेका परिवारको सामान्य कथा भनेको हुँ । त्यस्ता भन्न नसकिएका धेरै कथा छन् । हामीले आफ्नो मौलिकता र समाजलाई भुल्नु हुँदैन ।”

Dinesh-Raut-41692548681.jpgउनले राष्ट्रिय पुरस्कारले आफूलाई त्यस्ता कथा भन्न प्रेरित गरेको प्रतिक्रियासमेत दिए । उनको आउँदो चलचित्रसमेत समाजसँगै जोडिएको विषयमा आधारित रहने उनले बताए । “प्रकाशजस्ता चलचित्रमा व्यावसायिक जोखिम बढी हुन्छ । त्यसैले गर्दा पनि त्यस्ता मौलिक कथालाई पर्दासम्म ल्याउन हामीलाई प्रेरणा मिल्ने यस्तै सम्मान र पुरस्कारले हो । त्यसमा पनि राज्यले दिने खास हुन्छ”, निर्देशक राउतले भने ।

उनले पुरस्कार प्राप्त गर्नुभएको चलचित्र ‘प्रकाश’ मा सहिदका छोराले शिक्षक बन्न गरेको सङ्घर्ष देखाइएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  २२:०१
प्रतिक्रिया दिनुहोस्