नेभिगेशन
अर्थ विविध

लगानी विरोधी समुहले उद्योगलाई निरुत्साही बनाएः घोराही सिमेन्ट

काठमाडौँ– प्रिमियम मूल्यमा साधारण सेयर (आइपिओ) जारी गरेर विवादमा परेको घोराही सिमेन्ट उद्योगले सो प्रकणमा मुख खोलेको छ ।

उद्योगले एक विज्ञप्ति प्रकाशित गरी आफूले नियम अनुसारको प्रक्रिया पूरा गरेर आपिओ जारी गर्दा पनि लगानी विरोधी समुहले उद्योगलाई निरुत्साही बनाउने कार्य गरेको आरोप लगाएको छ ।

‘अमुल्य विदेशी मुद्रा संचिति तथा स्वदेशमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ३ हजारभन्दा बढी जनशक्तीलाई रोजगारी प्रदान गर्दै आएको प्रर्ण रुपमा स्वदेशी लगानीकर्ताहरुबाट प्रवद्र्धित देशकै ठुलोमध्ये एक उद्योगलाई निरुत्साहित गर्ने कार्यमा सम्लग्न लगानी विरोधी समूह तथा सो समूहबाट प्रायोजित कार्य तथा समाचारप्रति उद्योग खेद व्यक्त गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

उद्योगले सो उद्योगमा लगानी गर्ने शेयर होल्डर, आवेदनकर्ता, तथा सम्बन्धित सबैको लगानी सुरक्षाको प्रत्याभुतिको लागि उद्योग पुर्ण रुपमा प्रतिवद्ध रहेको पनि दाबी गरेको छ । प्रिमियम मूल्यमा आइपिओ निष्काशनको खुल्ला अवधिभित्र उद्योगको व्यावसायिक प्रतिष्ठा र ख्यातिमाथि नकारात्मक असर पुयाउने उद्धेश्यले प्रेषित भ्रमपूर्ण र गलत सूचना प्रवाहप्रति आफ्नो गंभिररुपमा ध्यानाकर्षण भएको उद्योगको भनाइ छ । बदनियतपूर्ण अनर्गल प्रचारको क्रममा उठाइएका सम्पूर्ण बिषयहरुको बारेमा पूर्णपारदर्शी रुपमा स्पष्ट पार्न आफू तयार रहेको उद्योगको दाबी छ ।

‘सेयरको सार्वजनिक निष्काशन हुनुभन्दा पहिले कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्डलगायत विभिन्न नियामक निकायहरुको पूर्ण सहभागिता रहेको हुन्छ । निष्काशनको अनुमती प्राप्त गर्ने सन्दर्भमा उधोगबाट पेश भएका विवरण पत्र, वित्तीय विवरण तथा क्रेडिट रेटिङ्गप्रतिवेदन लगायतका सम्पूर्ण कागजात तथा विवरणहरुको जिम्मेवारी लिन उद्योग सदैब तत्पर छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

धितोपत्र बोर्डद्धारा स्वीकृत भएपश्चात निष्काशन प्रक्रिया सुरु भइ प्रभावित क्षेत्रका स्थानीय जनता, वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरु, कम्पनीका कर्मचारी तथा म्युचुअल फण्डलाई सम्पूर्ण प्रकृया सम्पन्न गरी सेयर बाँडफाँड भइसकेको भन्दै उद्योगले सर्वसाधारणको लागि खुल्ला भएको अवधिको चौथो कार्य दिनको अन्तिम समयमा भएको स्थगनको निर्णयले सेयर निष्काशन प्रक्रियामा अवरोध उत्पन्न हुन पुगेको बताएको छ । सार्वजानिक निष्काशन स्थगन गर्ने पत्रमा घोराही सिमेन्टलाई बोधार्थ मात्र दिइएको विज्ञप्तिमा भनिएको छ ।

कम्पनीले प्रिमियम मूल्यमा आइपिओ जारी गर्ने प्रयोजनका लागि क्रेडिट रेटिङमै गोलमाल गरेको आरोप लगाइएको थियो । सो प्रकरणमा पनि कम्पनीले स्पष्टिकरण दिएको छ ।

‘क्रेडिट रेटिङ्ग प्रक्रिया एक विशिष्ट प्रकारको विधिबाट सम्पन्न हुने र सो प्रक्रियामा विदेशका विषय विज्ञहरुको विश्लेषण र मुल्याङ्कनबाट हुने हुँदा सो प्रक्रियामा उद्योग प्रवर्धकहरुको तर्फबाट प्रभावित पारेको हुन सक्ने भन्ने कुरामा कुनै सत्यता नभएको प्रष्ट पार्न चाहन्छौं । नियामक धितोपत्र बोर्डले क्रेडिट रेटिङ्ग सम्बन्धमा सम्बन्धित क्रेडिट रेटिङ्ग कम्पनीबाट व्यहोरा जानकारी लिने तथा झुठा आवेदनको सम्बन्धमा कानुन बमोजिमको प्रक्रिया अवलम्बन गरि तत्काल नै रोकिन गएको सेयरको सार्वजनिक निष्कासनको प्रक्रिया सुचारु गर्नेमा उद्योग विश्वस्त छ,’ विज्ञप्तिमा अगाडि भनिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप अर्थ विविध