‘बगान’को टिजर सार्वजनिक, करिश्माको दमदार अभिनय

मंगलबार, असार ५, २०८०

काठमाडौँ– अभिनेता सरोज खनालको निर्देशनमा बनेको नेपाली चलचित्र ‘बगान’को टिजर सार्वजनिक भएको छ ।

यही असार २९ गते रिलिज हुने यस चलचित्रको टिजरमा अभिनेत्री करिश्मा मानन्धरलाई एकल महिलाको रुपमा चित्रण गरिएको छ । टिजरमा मानन्धरलाई दमदार अभिनय गरिरहेको देख्न सकिन्छ ।

एकल महिलाका इच्छा, चाहना, उनलाई परिवारले गर्ने व्यबहार इत्यादिलाई ‘बगान’को टिजरमा प्रस्तुत गरिएको छ । टिजरमा प्रमुख कलाकारहरु सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीसँगै नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मालाई पनि देखाईएको छ । स्वप्न नीरवको कथामा आधारित रहि बनेको यो चलचित्रबाट अभिनेता खनाल निर्देशनमा डेब्यु गरेका हुन् ।

नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाँको भि।एफ।एक्स। तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ ।

यो चलचित्र नेपाल र अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा फिल्म प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ । ‘बगान’को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ ।

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १८:५९
प्रतिक्रिया दिनुहोस्