नक्कली शरणार्थी प्रकरणले संसदमा हंगामा, एमालेले किन गर्यो ‘ओभर रियाक्ट’ ? [भिडियो]

एमालेको विगत– आफ्ना नेता भ्रष्टारमा मुछिए संस्थागत बचाउ
सोमबार, वैशाख २५, २०८०

काठमाडौँ– अबैध रकम लिएर नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लान लागेको प्रकरणले संसदमा उच्च महत्व पाएको छ । 

हिजा (आइतबार) देखि सुरु भएको बजेट अधिवेशनमा प्रमुख विपक्षी दल नेकपा एमालेले सो प्रकरणमा सशक्त आवाज उठाएको छ ।

एमाले प्रमुख सचेतक पदम गिरीले अहिलेसम्म चर्चा भएका भ्रष्टाचारसँग सम्बन्धित सबै विषयमा छानविन गर्न सरकारसँग माग गरे । उनले भ्रष्टाचार विरुद्धको कदममा सरकारलाई आफ्नो पार्टीको सहयोग हुने पनि बताए । 

उनले सरकारको आलोचना गर्न भने छोडेनन् । सचेतक गिरीको भनाइलाई आधार मान्दा एमालेले यो विषयलाई राजनीतिकरण गर्ने प्रष्ट संकेत मिलेको छ ।

‘अहिले प्रधानमन्त्रीज्यूले बाहिर भन्दै हिँड्नुभएको छ । भ्रष्टाचारको सवालमा यो ट्रेलर मात्रै हो । फिल्म त आउन बाँकी नै छ भन्दै हुनुहुन्छ । प्रधानमन्त्रीज्यू, हामी फिल्म हेर्न आतुर छौं । हामी टिकट काटेर बसेका छौं । हामीलाई विश्वास छ, अब वाइड बडी घोटाला काण्डबारे छानबिन गरौं । बाँसबासी जग्गा काण्ड, बालमन्दिर जग्गा काण्ड, मातातीर्थ जग्गा काण्ड, यती र ओम्नी काण्ड, लडाकु शिविरको घोटाला काण्ड, जहाँ अर्बाैं रुपैयाँ लुटिएको थियो । सीसीटीभी फुटेज र बजेटमा विचौलिया लिएका काण्डहरुमा छानबिन गरौं । सबैलाई एकएक गरेर कारबाही गर्न एमाले साथ र सहयोग गर्छ,’ उनले भनेका छन् ।

सचेतक गिरी मात्रै होइन, पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सो प्रकरणप्रति असन्तुष्ट रहेको संकेत मिल्छ । सोही प्रकरणमा एमाले सचिव टोपबहादुर रायामाझीलाई पक्राउ पुर्जी जारी भएपछि अध्यक्ष ओलीले अघिल्लो साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई २ पटक भेटिसकेका छन् । 

यस्तै, एमाले उपाध्यक्ष रामबहादुर थापा पनि नक्कली शरणार्थी प्रकरणमा जोडिएको शंका गरिएको छ । थापा गृहमन्त्री बनेको बेलाका उनका रक्षा सल्लाहकार डा. इन्द्रजित राई र थापाका छोरा प्रतीक पनि सोही प्रकरणमा मुछिएको तथ्य सार्वजनिक भइसकेको छ । राई पक्राउ परिसकेका छन् भने प्रतीक फरार छन् ।

आक्रामक ओली

अध्यक्ष ओलीले त नक्कली भुटानी शरणार्थी प्रकरणको छानवीनमा प्रधानमन्त्री प्रचण्डको निष्पक्षतामाथि प्रश्न उठाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले कसैलाई बचाउने र कसैलाई फसाउने नियतका साथ ‘म कसैलाई छोडदिन’ भन्ने अभिव्यक्ति दिएको अध्यक्ष ओलीको दाबी छ । र, प्रधानमन्त्रीले यसो गर्न खोजे आफूहरुले सफल हुन नदिने चेतावनी ओलीले दिएका छन् ।

आइतबार नै संघीय संसद भवनमा आयोजित पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

‘यसभित्र कुन–कुन तत्व प्रवेश गरेको छ ? खोजी गरोस् न सरकारले । त्यसको छानवीन गरेर नतिजा निकाल्ने होइन । हिउँदको महिनामा मलाई बाटोमा पु¥याएर माइतीघर मण्डलामा बसाएर यिनी त्यहाँ चिसोमा बस्न पुगे भनेर मजाक उडाउनेहरुलाई चखाउँछु भनेर हिजो भने । पुष्पकमल दाहालजी के बोलेको त्यो ? छानवीन गरौं न पुष्पकमल दाहाल । कसलाई धम्क्याएको ? टेलर हो भनेर । सार्वजनिक गरिन्छ भनेर,’ पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले भने ।

उनको निसाना प्रधानमन्त्री प्रचण्डतिर केन्द्रीत देखिन्छ । अध्यक्ष ओलीले सम्बोधनको अधिकांश समय प्रधानमन्त्री प्रचण्डको गतिविधि, उनको नियत र भनाइप्रति आलोचनामा केन्द्रीत थियो ।

‘यसको छानवीन गर्नु पर्छ कि देखाई दिन्छु भन्ने ? के देखाई दिन्छु भन्या ? म प्रधानमन्त्रीजीलाई भन्नु चाहन्छु चुनौतिका साथ देखाउनुस, के देखाउनु हुन्छ देखाउनुस । कोही दोषी छन् । दोषीमाथि कारबाही हुनुपर्छ भन्ने कुरामा नेकपा एमाले किन्चित तलमाथि गर्दैन । दृढ छ, कारबाही हुनुपर्छ भन्ने कुरामा । देखाउँछु भनेको के ? सरकारले काम गर्ने हो । अनि फाईफूर्ति गर्ने हो ? पुष्पकमल दाहालले छोड्ने हो उनीहरुलाई । उनको खुशीको कुरा हो छाड्ने र नछोडने ? दोषी भए मैनै छुड्दिन कानुनले छोड्दैन । को हुन पुष्पकमल दाहाल, कसैलाई छोडदिन भन्ने ? के भनेको त्यो ?,’ ओलीले भने ।

उनले प्रधानमन्त्री प्रचण्डको भनाइको कडा आलोचना गरे । गत शनिवार अध्यक्ष ओलीसँग भेट भएपछि प्रधानमन्त्री प्रचण्डले छानवीन रोक्न दबाब आएको तर आफूले नछोड्ने बताएका थिए । प्रधानमन्त्री प्रचण्डको यो अभिव्यक्तिलाई लिएर अध्यक्ष ओलीले थप प्रतिक्रिया जनाएका थिए ।

‘म झुक्दिनँ, दवावमा पर्दिनँ । कसले दवाव दियो ? मलाई बोलाएर भेट्ने, विभिन्न विषयमा कुरा गर्ने । अनि म निस्किएपछि कसैको दवावमा पर्दिनँ भनेर किन फुई लगाएको ? म प्रचण्डजीलाई भन्न चाहन्छु–पछि हट्नुस कसले भन्यो, झुक्नुस कसले भन्यो, दवावमा पर्नुस कसले भन्यो, कसले दवाव दियो ? मैले उहाँलाई कसैलाई बचाई दिनुस, छानवीन नगरिदिनुस, कसैलाई छोडिदिनुस भने ? मैले त भनेको छु–कडाईका साथ छानवीन गर्नुस्, कारबाही गर्नुस् । तर जसरी एमालेको बारेमा क्याम्पियन चलाउन खोजिएको छ । एमालेलाई अनुचित ढंगले घचेट्न खोजिदैछ । व्यक्ति दोषी होला कोही । म जान्दिनँ । छ, छैन पछि तथ्यहरुले बताउँला । तर एमालेलाई जसरी घचेटन खोजिएको छ । त्यो दुष्प्रयास कसैले पनि नगरे हुन्छ,’ ओलीले भने ।

एमालेको विगत– आफ्ना नेता भ्रष्टारमा मुछिए संस्थागत बचाउ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका उपाध्यक्ष तथा सचिव मुछिएको प्रकरणमा निस्पक्ष छानवीन गर्न सार्वजनिक रुपमा आग्रह गरेका छन् । तर, ओलीको यो आग्रहमा धम्की पनि मिसिएको छ । उनले आफ्नो पार्टी एमालेको बद्नाम गराउने प्रयोजनका लागि मात्रै छानवीनको नाटक गरिएको हो कि भन्ने शंका पनि गरेका छन् ।

एमाले संसदीय दलका सचेतक पदम गिरीले अहिलेसम्मका चर्चित सबै भ्रष्टाचार प्रकरणको छानवीन गर्न माग गरेका छन् । सचेतक गिरीले वाइड बडी घोटाला काण्ड, बाँसबासी जग्गा काण्ड, बालमन्दिर जग्गा काण्ड, मातातीर्थ जग्गा काण्ड, यती र ओम्नी काण्ड, लडाकु शिविरको घोटाला काण्ड, सीसीटीभी फुटेज र बजेटमा विचौलिया लिएका काण्डहरुमा छानबिन गर्न माग गरेका छन् ।

सचेतक गिरीले माग गरेका यी काण्डमध्ये केहीमा एमाले नेताहरु संलग्न भएको आरोप लाग्ने गरेको छ । जस्तो कि ओम्नी काण्ड भनिएको कोभिड महामारीको समयमा औषधी खरिद प्रकरणमा भ्रष्टाचार भएको विषय हो । सो विषयमा तत्कालिन स्वास्थमन्त्री तथा एमाले नेता भानुभक्त ढकालमाथि आरोप लागेको विषय हो । सोही प्रकरणमा एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको नाम पनि जोडिएको छ । यस्तै, यती प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओली कै नाम जोडिएको छ ।

एमालेको विगत हेर्दा जुनसुकै प्रकरणमा पनि आफ्ना नेताको नाम जोडिने भएपछि एमालेले त्यसको संस्थागत प्रतिकार गर्ने गरेको छ । २०५१ सालमा तत्कालिन पर्यटन मन्त्री डा. भिमबहादुर रावल जोडिएको चेज एयर काण्ड, एमाले उपाध्यक्ष विष्णु पौडेल जोडिएको चर्चित बालुवाटार जग्गा काण्ड, एमाले नेता गोकुल बास्कोटा जोडिएको चर्चित ७० करोड काण्ड जस्ता सार्वजनिक भएका ठूला प्रकरणमा एमालेले संस्थागत रुपमा नै प्रतिक्रिया दिएर आफ्ना नेता जोगाउन भूमिका खेलेको नजिर छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १२:०७
प्रतिक्रिया दिनुहोस्