रौतहटमा गोली चल्दा एकजनाको मृत्यु, तीन घाइते

शनिबार, वैशाख २, २०८०

रौतहट– रौतहटमा जग्गासम्बन्धी विवादमा गोली चलाउँदा एकजनाको मृत्यु भएको छ । 

गढीमाई नगरपालिका–८, धोबिनियामा आज दुई पक्षबीच विवाद हुँदा गोली प्रहार गरिएको हो । गोली लागेर राजकुमार रायको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार गोली लागेर गम्भीर घाइते भएका रायलाई  उपचारका लागि वीरगन्ज लैजाँदा गर्दा उनको बाटोमै मृत्यु भएको हो । 

गोली लागेर स्थानीयवासी रामप्रताप यादव, कपिलदेव राय यादव र नीरञ्जन यादव घाइते भएका छन् । प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा पाँच जनालाई नियन्त्रणमा लिएको छ । 

गोली कसले चलायो भन्ने खुल्न सकेको छैन । गढीमाई नगरपालिकाले निर्माण गरिरहेको बाटोका विषयमा विवाद हुँदा १२ बोरको बन्दुकबाट गोली प्रहार भएको प्रहरीको भनाइ छ ।

घटनामा संलग्न रहेको आरोपमा केही व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १८:४३
प्रतिक्रिया दिनुहोस्