नेपाली समाजको संरचनात्मक रूपान्तरणको सवाल

बुधबार, चैत २९, २०७९

नेपालमा संविधान सभाको निर्वाचनसँगै सबै प्रकारका सामाजिक, आर्थिक, राजनीतिक तथा सांस्कृतिक खराबीहरुको समाधान गरिने छ भन्ने विश्लेषण खुबै गरिन्थ्यो एकताका ।

पिछडिएको क्षेत्र तथा समुदायलाई मूलधारमा ल्याउने र उनीहरूलाई राज्यको रूपान्तरणका लागि भरपर्दो नागरिक समुदायको रूपमा विकास गर्ने एक वैधानिक उपागम हो राजनीति । नेपाली समाजमा राजनीतिजस्तो नैतिक उद्यमलाई विभिन्न असामाजिक तथा विकृतिजन्य क्रियाकलापहरूमा संलग्न गरेर नागरिकस्तरमा आलोचनाको विषय बनाइएको पाउन सकिन्छ ।

विकासशील समाजको अल्प विकसित समुदायलाई विविध प्रकारका तालिम तथा दृष्टिकोणबाट नीतिगत व्यवस्था गरेर राज्यको मूलधारमा लैजाने मुख्य पहल राजनीतिले गरेको हुन्छ । चौकचौकामा जसरी व्याख्या विश्लेषण गरिएको हुन्छ, राजनीति एक जीवन पद्दति हो र स्वच्छन्द गफ र भ्रमको विषय यो कदापि हुन सक्दैन । राजनीतिले एकदमै क्रुर निर्णय गर्दछ र समाजका अरु विषयभन्दा पृथक पनि छ । 

राजनीतिक नैतिकताको सवाल

राजनीति समाजमा रचनात्मक क्रियाकलापहरू सम्पादन गर्नका लागि पहल गर्ने एक वैधानिक माध्यम हो । असल राजनीतिक अभ्यासले समाजको वृहत् हित तथा उन्नतिका लागि विशेष पहल गरेको हुन्छ । र, आम नागरिकहरूमा जीवनको उद्देश्य तथा दीर्घकालिन हितलाई प्राथमिकता दिने पद्दतिलाई आत्मसात गराउन विशेष अभिप्रेरित गरेको हुन्छ । 

आम नागरिकसँग नजिकको सम्बन्ध राख्ने हुनाले राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ताबाट समाजले केही न केही अपेक्षा गरेको हुन्छ । कुनै पनि समाजको उन्नति तथा वृहत् विकास देशमा विद्यमान राजनीतिक शक्तिहरूको पारदर्शी व्यवहार तथा उच्च नैतिक कार्यसंपादनमा निर्भर रहेको हुन्छ । दलहरूले विशेष कार्यक्रममा जनतालाई देखाएका सपना तथा कार्यसम्पादनको तालमेलबाट कुनै पनि दलको भनाइ र काम गराइमा कति पृथकता रहन्छ भन्ने कुरा स्पष्ट पारेको हुन्छ । 

राजनीतिक दलहरूले आफ्ना विशिष्ठ उद्देश्य अनुसार नै कार्य सम्पादन गर्ने हो, जसले उनीहरूको विशेष पहिचान गराउँदछ र जनताको तहमा एक हदसम्म विश्वासको वातावरण सिर्जना गर्ने समेतको काम राजनीतिक दलको नीति र कार्यसम्पादनमा स्पष्टताले गराएको हुन्छ । राजनीतिक दलहरूमा नैतिक सवाल जति उच्च रहन्छ, अरु कुरा भने गौण विषयवस्तु बन्दछ । 

नेपालका राजनीतिक दलहरूमा स्वार्थ मिलेमा जेसुकै काम पनि गर्ने प्रवृति एकदमै खतरनाक हो, यस्ता प्रवृतिले नेपालीलाई कुनै फाइदा छैन, एकाध व्यक्तिहरूबाहेक । अतः राजनीतिक दलहरुमा स्खलित हुँदैगएको नैतिक पक्ष नेपाली समाजको रूपान्तरणका लागि एक खतरनाक रोग नै हो । 

मूलभूत कुरामा केन्द्रित नहुनु

केही सहरबाहेक समग्र नेपाली नागरिक अझ पनि परम्परागत जीवन पद्दतिमा नै गुज्रिरहेका छन् । ग्रामीण नेपाली समाजमा पूर्वाधारविना नै गाउँपालिका र नगरपालिका घोषणा गरी सञ्चालनमा आएका छन् । न्यूनतम पूर्वाधारको अभावमा जनताको जीवनस्तर कठिन बन्दै गएको छ । विकास निर्माणका कामहरू निकै अपारदर्शी रूपमा सञ्चालनमा रहेका छन् । उपभोक्ता समितिमा रहनुको अर्थ नै खाने, रमाइलो गर्ने र धन कमाउने हो भन्ने छ । सीमित स्रोत साधनबाट प्रस्तावित काम सम्पादन गर्न सकिएन भने कसरी स्रोत परिचालन गर्ने भन्ने कामको चाँजोपाँजो मिलाउनका लागि नै उपभोक्ता समितिको गठन गरिएको हुन्छ । 

परन्तु, वास्तविकता एकातिर हुन्छ भने काममा संलग्न व्यक्तिहरूको क्रियाकलाप भने अर्कैतिर रहेको हुन्छ । नेपाली नागरिकलाई गुणस्तरीय शिक्षा, सीपमूलक कार्यक्रम, व्यक्तित्व विकासको अवसर प्रदान गर्ने सामाजिक वातावरणको खाँचो छ । राज्य सञ्चालनको जिम्मेवारीमा रहेका राजनीतिक दल तथा तिनका जिम्मेवार प्रतिनिधिहरूको चिन्ता र चासो यस सम्बन्धमा देखिँदैन । उत्पादनशील कामले हो नेपालीलाई  आत्मनिर्भर बनाउने, कुराले विश्व परिक्रमा गरे पनि कतै पु¥याउँदैन । आवश्यकता एकततिर हुन्छ भने जिम्मेवार व्यक्ति तथा दलको काम गर्ने शैलीमा आकाश–पातलको फरक देखिन्छ । नेपालमा झांगिँदै गरेको किंकर्तव्यविमूढताको स्थितिले आवश्यकता एकातिर हुन्छ भने कार्यसम्पादन अर्कैतिर भएको स्थिति स्पष्ट पारेको छ । मूल कुरामा ध्यान नदिएर सहायक तथ्यमा मात्र ध्यान दिने कार्यले नेपाली जनताको वृहत् हितलाई सुनिश्चित गराउँदैन । कुराले समाजको रूपान्तरण गर्दैन, यसका लागि निश्चित योजनासहित कार्यसम्पादनमा केन्द्रित रहेर काम गर्नु जरुरी हुन्छ । 

खाँचो इमान्दारिता र प्रतिबद्धताको 

समाजका गरिने हरेक क्रियाकलापहरुको विशेष अर्थ रहेको हुन्छ । यसबाट हरेक नागरिकलाई केही न केही असल काम गर्नका लागि हौस्याएको हुन्छ । असल कामबाट समाजमा बसोबास गर्ने व्यक्तिहरूले शिक्षा लिएका हुन्छन् भने खराब क्रियाकलापले पाठ सिकाएका हुन्छन् । नेपालमा विकसित हुँदै गरेको विकृति र विसंगतिपूर्ण क्रियाकलापले समाजका हरेक नागरिकले आफ्ना गतिविधिको समीक्षा गर्नुपर्ने स्थिति विद्यमान रहेको छ । समाजमा जे भनिएको हुन्छ, जे सपना देखाइएको हुन्छ, ती क्रियाकलाप व्यवहारमा अवलम्बन गरेको स्थिति देखिँदैन । 

चुनावताका राजनीति दलहरूले नागरिकलाई देखाएका सपना भmुटको खेती सावित भएको अवस्था छ । किनकि, दलहरूले जनताको बीचमा प्रतिबद्धता जनाएका विषयहरू समयअनुसार छायामा पारिन्छन् । चुनावताका जनताको अभिमत प्राप्त गर्नका लागि जेसुकै भन्ने र अनावश्यक आश्वासनसमेत देखाउने तर जनताको अभिमत प्राप्त गरिसकेपछि सबै कुरा बिर्सिने वा विपरित क्रियाकलापमा ध्यान केन्द्रित गर्नुले नेपालका राजनीतिक दलहरू आफ्नो अजेण्डामा केन्द्रित छैनन्, रंगिन प्रवृत्तिले जनतालाई विश्वस्त बनाउन सक्दैन र जिम्मा दिएको खण्डमा इमान्दारिपूर्वक कार्य सम्पादन समेत गर्न पनि सक्दैन भन्ने प्रमाणित गरिदिएको छ । 

भनाइ र काम गराइमा तालमेल भएन भने त्यसको समाजिक प्रभाव अत्यन्तै आलोचनात्मक रहन्छ । राजनीतिक दलहरूका चुनावी घोषणा पत्रहरू जनताको बीचमा गरिने प्रतिबद्धता पत्रहरू हुन् । तर, दलका जिम्मेवार व्यक्तिहरू आफूले वाचा गरेका कुराहरू सहजै बिर्सिने गर्छन् । यसले नेपालका राजनीति दलहरूमा प्रतिबद्धता र इमान्दारिताको खाडल अति नै गहिरो छ र यस्ता खाले क्रियाकलापमा गम्भीर चिन्तन हुनु अत्यावश्यक देखिन्छ । राजनीति कल्पनाशील क्रियाकलामा रमाउने विषय कदापि होइन, यो जीवन पद्धति हो र समाजको संरचनात्मक परिवर्तनका लागि विशेष पहल गरेको हुन्छ । 

असल कुराको अनुशरण गरौँ

नेपालका विभिन्न स्थानबाट देश विदेशका विभिन्न विकसित सहरहरूमा जाने प्रचलन हाल आएर उच्च गतिमा विकसित हुँदैछ । विश्वमा भएका विकासका विभिन्न मोडलको दृश्यावलोकन गरे तापनि त्यसबाट उचित शिक्षा लिनु आवश्यक ठान्दैनन् । विश्व समाजले विकासमा मारेको फड्कोबाट हामीले समेत सकारात्मक शिक्षा लिनु आवश्यक हुन्छ र नेपालको विशिष्ठ परिस्थितिमा के कस्ता क्रियाकलापहरू सम्पादन गर्न सकिन्छ भन्ने जस्ता विषयवस्तुमा विशेष चिन्तन मनन् गर्न जरुरी हुन्छ । अरु देशमा भएका राम्रा अभ्यासहरुबाट केही सिकेर आफ्नो देशमा त्यस्ता क्रियाकलाप सम्पादन गर्ने वातावरण तयार गर्न पनि उच्च अभ्यास, प्रतिवद्धता र जोखिम मोल्न सक्ने क्षमताको आवश्यकता हुन्छ । 

कुनै कुरा देखेर गफमात्र गर्ने तर व्यवहारमा राख्न प्रयत्न नगर्ने प्रवृतिले गफबाटै संसार परिवर्तन गर्न खोजेको आभास हुन्छ । तथापि, नेपालका राजनीतिक दल र त्यसमा संलग्न व्यक्तिहरू अरु ठाउँमा भएका राम्रा अभ्यासको अनुशरण गर्नुभन्दा पनि आफ्नै बाटो उचित र आफँैले अंगिकार गरेको कुरामात्र ठीक भन्ने प्रवृतिमा रमाएको देखिन्छ । 

कतिपयले यसरी आफ्ना दम्भहरू प्रस्तुत गर्दा राज्यको सार्वभौमिक अखण्डताका विरुद्ध समेत अभिव्यक्ति दिएको पाउन सकिन्छ । अरुका असल कामको अनुशरण गर्ने र खराब कार्यका विरुद्ध होसियारी अपनाउने पद्धतिले व्यक्ति, समाज र राज्यको हितमा विशेष काम गर्नका लागि अभिप्रेरित गरिरहेको हुन्छ । अतः असल कार्यको अनुशरण गर्नु हरेक नागरिकको कर्तव्यसमेत हुन्छ । 

गुणस्तरीय शिक्षाको गफ

नेपालका विश्वविद्यालयहरूमा गुणस्तरीय शिक्षाको गफ चलेको पनि धेरै समय भइसकेको छ । शिक्षलाई गुणस्तरीय बनाउनका लागि राज्यले के गर्ने हो ? सरोकारवालाहरूको यसप्रतिको दायित्व कस्तो हुन्छ र कस्तो शिक्षा गुणस्तरीय हुन्छ ? भन्ने सवालमा विशेष पहल भएको स्थिति छैन । शैक्षिक गुणस्तरका लागि विस्तृत चर्चा परिचर्चा गर्ने वातावरणसमेत राज्यका जिम्मेवार व्यक्ति तथा निकायहरूले सिर्जना गरेका पनि छैनन् ।

राज्यको व्यवस्थापिकामा यस्ता विषयमा अति कम चर्चा गरिन्छ । तथापि, सांसदको सुविधा अभिवृद्धि गर्ने तथा राज्यको स्रोत साधनमा वैदेशिक पँहुचका सम्बन्धमा भने रातारात कम्मर कसेर संसद्का सदस्यहरू लागेका हुन्छन् । 

विश्वविद्यालयको नेतृत्वसमेत आफ्नो कर्तव्यमा इमान्दार देखिँदैन । सरोकारवाला विभिन्न विद्यार्थी संगठनहरू स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा मात्र केन्द्रित रहेको देखिन्छ । जसरी पनि विद्यार्थी चुनाव जित्ने र स्ववियुमा आफ्नो पकड कायम राख्ने मनोवृतिले शैक्षिक गुणस्तरभन्दा पनि आफ्ना निहित स्वार्थमा विद्यार्थी संगठनहरू केन्द्रित भएको देख्न पाइन्छ । शिक्षालाई गुणस्तरीय बनाउने नै हो भने हरेक क्याम्पसमा प्रविधिमैत्री वातावरण कायम गराउने, शिक्षकहरूलाई आवश्यकता अनुसारको तालिमको प्रबन्ध गर्ने र उच्च शिक्षालयहरूमा व्यापक अनुसन्धानमा आधारित शिक्षण सिकाइ क्रियाकलापहरुमा जोड दिने र यसका लागि आवश्यक स्रोत–साधनको व्यवस्थापनमा समेत राज्यका सरोकारवाला निकायहरू गम्भीर बन्न आवश्यक हुन्छ । 

हरेक कार्यमा राजनीतिक भागबण्डा गर्नु र गम्भीर प्रकृतिका क्रियाकलापहरूमा समेत हल्का टिप्पणी गर्ने प्रवृतिले नेपालको शिक्षालाई गुणस्तरीय होइन, बेरोजगार नागरिकहरू उत्पादन गर्ने एक काम चलाउ तत्वको रूपमा विकास गर्नेछ । यसले जीवनमा निराशा र पलायनबाहेक अरु केही गर्ने स्थिति हुँदैैन । यस्तै प्रवतिको कारण बौद्धिक चोरीमा संलग्न व्यक्तिसमेत विश्वविद्यालयको नेतृत्व गर्न सक्षम देखिन सके । यसले के स्पष्ट पार्दछ भने शैक्षिक गुणस्तर नेपालीहरूको प्राथमिकतामा रहेको छैन, कुराको खेती गर्ने र अनावश्यक लफ्फाजीमा रमाउनेहरूको बोलवाला नेपाली शैक्षिक जगतमा अधिक छ । 

अब गर्नुपर्ने कुरा

नेपाली समाजमा आधुनिकताका कुराहरू अधिक चर्चा परिचर्चाको विषय भए तापनि खासमा नक्कल र लफ्फाजी आधुनिकता होइन र समय अनुसारको परिवर्तनले मात्र आधुनिकतालाई बुझ्न सहज बनाएको हुन्छ । समाजको वृहत् हितमा केन्द्रित रहनु र संरचनात्मक परिवर्तनका लागि विशेष पहल गर्नु हरेक सचेत नागरिकहरुको दायित्व बन्दछ । अरुका असल कुराबाट पाठ सिकेर व्यवहारमा लागू गरेको खण्डमा त्यसको सामाजिक प्रभाव अत्यन्तै सकारात्मक रहन्छ । 

तर, बदख्वाइँ र बेइमानीले कुनै पनि समाजको हितमा काम गर्न सकिंँदैन । समाज विकासमा यो एक खाडलको रुपमा रहेको हुन्छ । हरेक नागरिकका सचेत प्रयत्न र रचनात्मक क्रियाकलापले कुनै पनि समाजलाई विकसित हुन र रचनात्मक सामाजिक रूपान्तरणमा फड्को मार्न सहज बनाएको हुन्छ । असल समाज र उन्नत विचारबाट पाठ सिक्ने, रचनात्मक क्रियाकलापहरूलाई आत्मसात गर्ने, जनताको वृहत हितमा समाजका महत्वपूर्ण क्रियाकलाप केन्द्रित गर्ने पद्धतिले समाजको विकासमा महत्वपूर्ण योगदान गरेको हुन्छ । नैतिक र आदर्श समाज स्थापनाका लागि राज्यका हरेक निकायमा नेतृत्व तहमा रहेका सबै व्यक्तिहरूमा उच्च नैतिक चिन्तन तथा व्यवहारको आवश्यकता रहन्छ ।

समाजमा अरुबाट सिक्ने र सिकाउने प्रवृतिको अवलम्बनबाट सामाजिक अन्तरक्रियालाई विस्तृत बनाउन सकिन्छ भने आफ्ना चिन्तन, सोच र कार्यशैलीलाई आलोचनात्मक रूपमा प्रस्तुत गरेको खण्डमा समाजको रूपान्तरणमा यसले व्यापक योगदान गर्न सक्ने देखिन्छ । अरुलाई दोष दिएर होइन, कामले मन जितेर नै सबैको विश्वास जित्न सकिन्छ । त्यसैले, हरेकले बनावटी संसारको कुरा गरेरमात्र समाजको रूपान्तरण हुन सक्दैन । यसका लागि व्यवहारिक सोच, चिन्तन र उचित कार्य योजनाको कार्यान्वयन सबैको प्राथमिकतामा रहनु आवश्यक हुन्छ । 

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  ११:२६
प्रतिक्रिया दिनुहोस्