राजावादी आऊ, ज्ञानेन्द्र शाहलाई ‘दुर्गा प्रसाईं’हरूबाट बचाऊ !

बिहीबार, फागुन ४, २०७९

हाम्रा राजामहाराजाहरू आफ्नो औपचारिक सम्बोधनको अन्तिममा भन्थे– श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून् !

दोस्रो जनआन्दोलन (२०६२/६३) को सफलतापछि राजतन्त्र सकियो । राजा, रजौटा र महाराजाहरू सकिए । श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव ‘पूर्वराजा ज्ञानेन्द्र शाह’ भए ।

राजतन्त्र सकिए पनि एउटा पक्ष सधैँ राजा चाहिन्छ भन्ने धारणामै रह्यो, आजपर्यन्त छ । गणतन्त्र स्थापना भए पनि ‘राजा आऊ, देश बचाऊ’ भन्ने स्वर सुनिँदै थियो । त्यो स्वर सानो थियो, सुनिन्थ्यो । 

किन सुनिन्थ्यो भने राजतन्त्रको अन्त्यपछि लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । लोकतन्त्रमा लोकतन्त्रकै विरोध गर्न पाइन्छ । लोकतान्त्रिक व्यवस्था सिध्याएर अर्काे व्यवस्था ल्याउँछु भन्न पनि पाइन्छ ।

त्यसैले लोकतान्त्रिक गणतन्त्र स्थापनापछि पनि राजा जोगाउन जनतामाथि गोली हान्नेहरू, गोली हान्न आदेश दिनेहरू मन्त्री हुन पाए । संसद्मा उभिएर ‘राजतन्त्र फर्काउँछु’ भन्न पाए । त्यसैले २–४ जनाले ‘राजा आऊ, देश बचाऊ’ भनेको ‘राम्रैसँग’ सुनिएको मात्रै हो ।

राजा ल्याएर देश बचाउन चाहनेहरूलाई लागेको छ– राजा नभएर देश खत्तम भयो । राजा नभएकाले भ्रष्टाचार बढ्यो । विदेशीको क्रिडास्थल बन्यो । बेथिति बढ्यो । विकास भएन । जनताका कुरा कसैले सुनेन । धर्म, संस्कृति, परम्परा, मान्यता, रीतिरिवाज, चालचलन सबै हराए ।

उनीहरूलाई लाग्दै छ– हराएका सबै कुरा फिर्ता ल्याउनु छ, फर्काउनु छ । फर्काउन राजा चाहिन्छ । त्यसैले उनीहरू भनिरहेछन्– राजा आऊ, देश बचाऊ ।

‘देश’ बचाउन राजा खोजिँदै छ ।

राजा खोज्नेहरू को हुन् ?

सबैभन्दा पहिले अग्रपंक्तिमा उभिएर राजा फर्काउन खोज्ने व्यक्ति कमल थापा हुन् । कमल थापा तिनै व्यक्ति हुन्, जसले अधिकार माग्ने जनताको छातीमा गोली ठोक्ने आदेश दिएका थिए । 

तर, अहिले कमल थापालाई राजा चाहिएको छैन । देश बचाउन राजा चाहिन्छ भनेर बेकारमा भनेँछु भन्ने निचोडमा पुगेका देखिन्छन् थापा ।

ज्ञानेन्द्रबाट ‘एक्स्पोजर’ पाएका कमल थापाले गणतन्त्रमा अधिकतम अवसर पाए । राजा र गणतन्त्र दुवैबाट अनपेक्षित लाभ प्राप्त गरेपछि थापा भन्दै छन्– गणतन्त्रको काम छैन, ज्ञानेन्द्र पनि ठिक छैनन् । 

राजा ल्याएर देश बचाउने अभियानमा थपिएका अर्का व्यक्ति हुन् रवीन्द्र मिश्र । उनी आफूले पार्टी बनाउन नसक्ने निर्क्याेलसहित विवेकशील साझालाई ‘रद्दीको टोकरी’मा मिल्काउँदै राप्रपाको शरणमा पुगे । त्यसपछि उनलाई पनि लाग्यो– राजा आएर देश बचाउनुपर्छ । 

durga-prasai11676543243.jpg

रवीन्द्र मिश्रका लागि ‘विचारभन्दा माथि देश छ’ । त्यहाँ राजा पनि छ । अर्थात् राजा र देश सँगै भएकाले विचारभन्दा माथि राजा छ भन्ने अर्थ पनि लाग्छ ।

राजा ल्याएर देश बचाउने अर्का पात्र हुन्– राजेन्द्र लिङ्देन । उनलाई पनि राजा ल्याएर देश बचाउनु छ ।

लिङ्देन अहिले उपप्रधानमन्त्री छन् । उनलाई आफू उपप्रधानमन्त्री हुँदा देश बच्छ भन्ने लाग्दैन, देश बचाउन राजा नै चाहिन्छ ।

राजा फालेको कर्मलाई मुख्य उपलब्धि मान्ने प्रधानमन्त्रीकै मन्त्रिपरिषद्‌मा बसेर राजा ल्याउने दहीचिउरे प्रवृत्तिमा छन्– राजेन्द्र लिङ्देन ।

राजा ल्याउन चाहने व्यक्तिहरूको परिचय छ । उनीहरूलाई समाजले चिनिसकेको छ । 

तर, उनीहरूले ‘देश बचाउन’ ल्याउन खोजेका राजा को हुन् ? कहाँ छन् ? यसरी पुकारा गर्दा पनि देश बचाउन किन नआइदिएका ? 

durga21676543242.jpg

के गर्‍यो भने राजा आउँछन्, अनि देश बचाउँछन् ? देश बचाउने भनेको के हो ? अहिले देश किन बचिरहेको छैन ? देश बचेपछि के हुन्छ ? कस्तो हुन्छ ? राजा भनेका कुनै दन्त्यकथाका पात्र हुन् ? काल्पनिक पात्र हुन् ? मिथक हुन् ? 

देश बचाउन ल्याउन लागिएका राजा ज्ञानेन्द्र शाह हुन् भन्ने कसैलाई लागेको छ भने त्यो भ्रम हो । ज्ञानेन्द्र शाह राजा होइनन् । अहिले उनी पूर्वराजा हुन् ।

ज्ञानेन्द्र शाह त कसैको सनक र राष्ट्रिय शोकको घडीमा बनाइएका कार्यवाहक वा अन्तरिम राजा हुन् । ज्ञानेन्द्र शाहलाई राजा मान्नु र गोदान गर्ने बेलामा गाईको पुच्छर सम्झेर ५० रुपैयाँको नोट समात्नु उस्तै हो ।

प्रजातन्त्र स्थापनाको प्रसव वेदनाको घडीमा श्री ३ राणाजीको सनकले राजा बनाइएका थिए ज्ञानेन्द्र शाह । अनि राजा वीरेन्द्रसहित परिवारकै हत्या भएको राष्ट्रिय शोकको घडीमा पनि राजा बनाइएका थिए उनी ।

durga11676543242.jpg

वास्तवमा ज्ञानेन्द्र शाह असाध्यै सोझा मान्छे रहेछन् जस्तो लाग्छ । श्री ३ राणाहरूले त उनलाई शिशु अवस्थामै राजा बनाइदिए । त्यसमा उनको दोष वा गुण केही हुने कुरै भएन ।

राजा वीरेन्द्रको वंश नै नाश हुने गरी भएको दरबार हत्याकाण्डपछि गणतन्त्र स्थापना नहुन्जेलको अन्तरिम समयमा उनी राजा हुन पाए । 

राजा भएपछि ज्ञानेन्द्र शाहले जननिर्वाचित प्रधानमन्त्रीलाई ‘अक्षम’ भनेर हटाए । तुलसी गिरी खोजे । आफैँ मूल पात्र रहेको ‘अभिनन्दन’ नामक एकांकी देशभर चलाए । मोजमस्ती गरे । जनतालाई दुःख दिए ।

उनलाई थाहा थियो– म भैपरी आएकाले राजा भएको मात्रै हुँ, राजाको हकदार होइन । त्यसैले गणतन्त्र स्थापना हुनेबित्तिकै उनी दरबार छाडेर हिँडे ।

durga-parash1676543243.jpg

दरबार छाडेपछि ज्ञानेन्द्र शाहले बढो रमाइलो जीवन बितारहेका थिए । क्लब जान्थे, डान्स गर्थे । मन्दिर जान्थे, पूजाआजा गर्थे । ‘लङ ड्राइभ’मा जान्थे, रमाइलो थियो जीवनशैली ।

अहिले आएर उनलाई ‘केही मान्छे’ले अनावश्यक दुःख दिन थालेका छन् । तिमीलाई फेरि राजा बनाइदिन्छु भनेर कमल थापाले लामो समयसम्म अनावश्यक आश्वासन दिए । थापा थाके, लिङ्देन आए, मिश्र थपिए । अहिले पनि काठमाडौँमा बसेर लिङ्देन र मिश्र ज्ञानेन्द्रलाई ‘राजा बनाइदिन’ तयार छन् ।

तर, ज्ञानेन्द्र शाहको रोजाइमा दुर्गा प्रसाईं परेका छन् । दुर्गा प्रसाईंले सुरु गरेको अमूर्त उद्देश्यको कार्यक्रममा ज्ञानेन्द्र शाह, उनका छोरा पारस र छोरी प्रेरणा पनि सहभागी थिए । सो कार्यक्रम गत फागुन १ गते झापाको मेची पुलबाट सुरु भएको थियो ।

durga1676543242.jpg

दुर्गा प्रसाईं कमल थापा प्रवृत्तिका पछिल्लो अवतार हुन् । कमल थापाले ज्ञानेन्द्र शाहबाट धेरै लिएका छन् । शाहले थापालाई गृहमन्त्री बनाइदिए ।

उनको पार्टी बनाउन पैसा नै दिएको तथ्य थापा आफैँले स्वीकार गरिसकेका छन् । थापालाई गरेको लगानीबाट लोभिएर नै प्रसाईंले शाहलाई काँध थाप्न खोजेको अनुमान लगाउन केही गाह्रो छैन ।

काँध थाप्न तयार राजेन्द्र लिङ्देन, रवीन्द्र मिश्रहरूलाई छाडेर दुर्गा प्रसाईंको पछि लाग्नु ज्ञानेन्द्र शाहको त्यही स्तरको निर्णय हो, जुन उनले जननिर्वाचित प्रधानमन्त्रीलाई ‘अक्षम’ भएको अभियोग लगाएर ‘आउट डेटेड’ तुलसी गिरीलाई ‘सिरानी’ बनाउने निर्णय गरेका थिए ।

राजा आऊ देश बचाऊ भन्नेहरूलाई एउटा सुझाव दिनैपर्ने भयो । ज्ञानेन्द्रलाई फेरि राजा बनाउन सकिन्न । उनी राजाका हकदार पनि होइनन् ।

durga-parash11676543243.jpg

बरु राजा बनाइदिन्छु भनेर ज्ञानेन्द्र शाहलाई धेरैले धेरै प्रलोभन दिएका छन् । ज्ञानेन्द्रलाई भेटेर कुरा गर्न सक्ने शुभचिन्तकले उनलाई अब आएर देश बचाइदिनुस् नभन्नुहोला ।

उनले देश बचाउन सक्दैनन् । आफ्नो परिवार सम्हाल्न त हम्मे परेको व्यक्तिले देश बचाउँछ भनेर विश्वास नगर्दा हुन्छ ।

बरु ज्ञानेन्द्र शाहलाई दुर्गा प्रसाईंहरूबाट जोगाए जाती हुन्छ । किनभने जनताको नासो फिर्ता दिएँ भनेर उनी नागार्जुनको जंगल र दमकको चियाबारीको शीतल ताप्दै आराम गरिरहेका थिए । 

durga-gyanendra1676543242.jpg

आफ्नै तरिकाले खुसीको जीवन व्यतीत गरिरहेको एउटा सम्मानित ज्येष्ठ नागरिकलाई राजा बनाइदिन्छु भन्दै अनावश्यक दुःख दिनु हुँदैन । 

उनको उमेर र स्वास्थ्य स्थितिलाई पनि ख्याल गरेर ज्ञानेन्द्र शाहका वास्तविक शुभचिन्तकहरूले उनलाई दुर्गा प्रसाईंहरूबाट बचाउनु नै राम्रो हुनेछ । 

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून् !

(तस्बिर सबै : दुर्गा प्रसाईंकाे फेसबुकबाट)

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  १६:१६
प्रतिक्रिया दिनुहोस्