गफमै सीमित भयो काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दरको ५ वर्षे कार्यकाल

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ– आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनको बेला उमेदवारले मतदातालाई आफ्नो प्रभावमा पार्न विभिन्न वाचा सहित आ– आफ्नो घोषणा पत्र सार्वजनिक गर्ने गरेका थिए । गएको स्थानीय निर्वाचनमा पनि उम्मेदवारले यस्तै घोषणापत्र सार्वजनिक गरेका थिए । त्यस्तै‚ काठमाडौँ महानगरपालिका (कामपा) का मेयर विद्यासुन्दर शाक्यले पनि लामै घोषणापत्र सार्वजनिक गरे । 

उक्त घोषणापत्रमा आर्कषित भएर काठमाडौँवासीले आफ्नो दैनिक जीवन र जीविकोपार्जन सँग प्रत्यक्ष सम्बन्ध राख्ने विषयहरू जस्तै खानेपानी‚ फोहोरमैला व्यवस्थापन‚ यातायात व्यवस्थापन‚ प्रदुषण नियन्त्रण आदिमा कामपाले विशेष ध्यान देलान् भन्ने ठूलो आस का साथ जनप्रतिनिधिहरू निर्वाचित गरेका थिए। 

अहिले काठमाडौँवासीको एक मात्रै प्रश्न छ । ती बेला घोषणा गरिएका वाचाहरू के भए?  केही बेर काठमाडौं वरिपरि घुम्दा नै सबै कुरा छर्लङ्ग हुन्छ ।  निसन्देह‚ काठमाडौँ महानागरपालिकाको नेतृत्व असफल रह्यो। 

किन असफल भयो? 

भिजन– चुनावी प्रचार प्रसारको क्रम मा कामपाका हालका निर्वाचित मेयरले १०० दिनमा सम्पन्न हुने १०१ गतिविधिको सूची सार्वजनिक गरेका थिए । जसमा मोनो रेल‚ ट्रेन‚ साइकल ट्र्याक्र र लेन लगायत का कुरा समावेश थिए। उनले प्रस्तुत गरेका उक्त भिजन लाई फर्केर हेर्दा उनले न तिनी बारे अध्ययन गरेका थिए  न त विशेषज्ञहरू सँग नै राय लिएका थिए  । उनका भिजन नै कहीं अरूबाट प्रायोजित थिए कि जस्तो भान हुन्छ ।  पपुलिस्ट भोट बटुल्न चाहीँ १०० दिन को थेगो चाहिँ सायद सफल रह्यो होला?

टिम वर्क – कामपा भित्र सुरुदेखि नै टिम वर्क  आपसी समन्वय खट्किएको देखिन्छ । विशेषगरी विपक्षी दलबाट निर्वाचित वडाध्यक्षहरूलाई साथ मा लिई कार्य व्यवस्थापन गर्न नसक्नु नै हालको मेयरको ठूलो कमजोरी हुन गयो। आपसी समन्वय राम्रो हुन नसक्दा‚ ठूला साना गरी विभिन्न खालका कार्यक्रमहरूमा नकारात्मक प्रभाव परेको सर्वविदित नै छ। उदाहरणका लागि रानीपोखरी‚ कमलपोखरी र खुला थिएटरमा बस स्टप निर्माण आदि । पछिल्लो केही हप्ता अघि मात्रै पनि बिना कुनै सल्लाह मेयरको अगुवाइमा सम्पदा क्षेत्र बसन्तपुर मा कंक्रिट प्रयोग गरी ढलानको काम सुरु गरियो । उक्त निर्णयको विरोधस्वरूप उपप्रमुख आफै सडकमा उत्रिन् । कामपाका नेतृत्वबीच यो कस्तो समन्वयता हो? यही आन्तरिक द्वन्द्वका कारण काठमाडौंले अत्यावश्यक सेवा समयमै उपलब्ध गराउन नसकेको र जनताले सास्ती बेहोर्नुपरेको छ । के यस विषयमा राजनीतिक दलहरूले गम्भीरतापूर्वक सोचेका छन् होला तरु फेरी त्यही दोहोरिने हो भने के होला?

नेतृत्व— कार्यालयहरू सफलतापूर्वक सञ्चालन गर्न नेतृत्वको भूमिका महत्त्वपूर्ण हुन्छ। मेयरले बोर्ड सदस्यहरूको सहभागिताविना नै कतिपय निर्णयहरू लिएको देखिन्छ ।  उनी असल नेताको सट्टा बोस बन्न थाले।

प्रतिबद्धता— मेयरले स्थानीय संस्कृति र सम्पदाको समर्थकू भनेर खुलेर बोल्दै आएका छन्। उनले गुठीघर‚ सतल आदि निर्माणमा करोडौं रुपैयाँ खर्च गरिसकेका छन् जुन राम्रो पहल हो । तर‚ लगानीको उद्देश्य जनताको सेवा गर्ने होइन‚ आगामी निर्वाचनमा निर्वाचित हुने उनको रणनीति रहेको देखियो। यदि उहाँ साँच्चै आन्तरिक रूपमा हृदयबाट प्रतिबद्ध हुनुहुन्छ भने उहाँले मुख्य सम्पदा क्षेत्र वसन्तपुरमा झण्डा स्ट्यान्ड बनाउन हिम्मत गर्नुहुन्न। अर्को शब्दमा यो उनको झूटा प्रतिबद्धता हो।

व्यवस्थापकीय क्षमता— सबैलाई लाग्थ्यो की दुई पटक वडा प्रमुख को अनुभव बटुली सकेका मेयरले कार्यालय व्यवस्थापन राम्रै गर्नु होला तर भयो त्यसको विपरीत। आफ्नो मातहतका कर्मचारीको काम जिम्मेवारीलाई उनले आफ्नो निगरानीमा राख्न सकेनन्। उदाहरणका लागि उनको कार्यकालमा भएको नगरपालिका भवन निर्माण। अख्तियार सक्रिय नभएको भए उनकै नाक मुनि करोडौंको कमिसनको चलखेल हुने निश्चित थियो। 

समन्वय—  विभिन्न मन्त्रालय‚ विभाग र निकाय बीच समन्वय नहुनु नेपाल र विशेषगरी काठमाडौंको दीर्घकालीन समस्या हो । सर्वविदितै छ‚ सडक विभाग‚ विद्युत प्राधिकरण र नेपाल टेलिकमको तालमेल नमिल्दा एउटै सडक महिना को एक दर्जन चोटि खनेको रमिता हेर्न अरु कहीं जानु पर्दैन। कामपालाई सम्बन्धित निकाय बीच समन्वय गर्ने र गराउने काम आफ्नो क्षेत्राधिकार भित्र भएको कर्तव्यबोध नहुनु र पालना गराउन नसक्नु यसको एक मुख्य कारक हो ।

कार्य प्राथमिकता— कुन क्षेत्रलाई प्राथमिकतामा राख्ने अर्थात् आफ्नो काम लाई कसरी प्राथमिकता अनुसार कार्यान्वयन गर्ने भन्ने कुरा लाई कामपा छुट्याउन असफल रह्यो। महानगरपालिकाले निर्माण कार्यमा मात्रै बढी ध्यान दिएको देखिन्छ । स्वास्थ्य‚ शिक्षा‚ सरसफाइ‚ रोजगारी सिर्जना जस्ता प्राथमिकतामा पर्नु पर्ने मुद्दा हरु लाई कामपा ले लत्याएको देखिन्छ । कोभिड–१९ को महामारीमा नगरपालिकाले एउटा पनि संस्थागत र व्यवस्थित आइसोलेसन सेन्टर खोल्न सकेन । लाखौं मान्छे लाई मर्का परेको बेला काम गरी देखाउने सुनौलो अवसर कामपाले पाएको थियो जसलाई हालको नेतृत्वले देख्न सकेनन् वा चाहेनन् । 

विकास आयोजनाको अवधारणा—नगरपालिका सँग पर्याप्त स्रोतसाधन र बजेट नभएको होइन। तर पर्याप्त विकास आयोजना नहुँदा ती स्रोतसाधन र बजेट लाई कामपाले खर्च भने गर्न सकेन । बेरुजु बजेटलाई बैंकको मुद्धती खातामा राखेको देखियो। यो लज्जास्पद कुरा हो। स्थानीय समुदायका आवश्यकता अनुसार परियोजनाहरू विकास हुनु पर्थ्यो। युवाका लागि आयआर्जन‚ क्षमता अभिवृद्धि‚ प्रारम्भिक बालविकास योजना‚ स्वास्थ्य सेवा‚ शिक्षालगायतका जनमैत्री आयोजनाहरू प्रारम्भ गर्ने थप अवसरहरू सृजना गर्न बाट का म पा चुक्यो। बरु नगरपालिकाले दाताको भूमिका खेलेर आफ्नो पार्टीमा आबद्ध व्यक्ति र संस्थालाई विभिन्न बहानामा पैसा वितरण गरेको भने चाहिँ देखियो।

चुनाबी सर्गर्मी बढे सँगै विभिन्न पार्टीका कार्यकर्ताहरुले स्थानीय तहको नेतृत्वमा आफ्नो दाबेदारी दिँदै छन् । अनलाइन‚ प्रिन्ट मीडिया र सामाजिक सञ्जालबाट आकांक्षी हरुले आफ्ना तर्कहरू सार्वजनिक गरेका देख्न पाउँछौं। काठमाडौंको मेयर पदमा उम्मेदवारी का लागि सांसद‚ पूर्व प्रधानमन्त्री‚ पूर्वमन्त्री‚ वडा अध्यक्ष‚ कलाकार आदि गरी १५/२० जनाभन्दा बढीले आफ्नो इच्छा देखाइसकेका छन् ।   कतिपय महिला नेतृ तथा बुद्धिजीवीहरु यस पालि मेयरमा महिला उठेको हेर्न चाहन्छन्। यसलाई हाम्रो बदलिँदो नेपाली समाज र फराकिलो हुँदै गएको हाम्रो बुझाइको उपज मान्नुपर्छ। 

यद्यपि‚ कार्यकर्ता होस् या विषेशज्ञ‚ नारी होस् या पुरुष‚ मेयरका आकांक्षी हरुले माथि उल्लेखित विश्लेषणको आधारमा का म पा को नेतृत्व लिन चाहिने दक्षता आफू मा छ या छैन‚ एक चोटि आत्ममूल्याङ्कन गर्नै पर्छ।

मेयरको अफिस चलाउनु‚ वडा वा पार्टी कार्यालय चलाउनु जस्तो पटक्कै हुँदैन। प्राविधिक योग्यता हुनु अपरिहार्य छ। विशेष गरी मानव संसाधन व्यवस्थापन‚ वित्तीय व्यवस्थापन र परियोजना व्यवस्थापन को व्यावहारिक ज्ञान र अनुभव हुन अत्यावश्यक छ । राजधानीमा रहँदा देशका नेता‚ सरोकारवालाहरू‚ विदेशी कूटनीतिज्ञ‚ राष्ट्रिय र अन्तर्राष्ट्रिय दाताहरूसँग कसरी व्यवहार गर्ने र स्थानीय विकासका लागि यिनी बाट प्राप्त हुने सहयोगलाई कसरी चुस्त रुपमा उपयोग गर्न सकिन्छ भन्ने व्यवहारिक ज्ञान हुनु अत्यावश्यक छ । यस्ता पारस्परिक शिप‚ दक्षता वा कला किताब पढेर वा कुनै कोर्स गरेर भन्दा पनि वर्षौंको अनुभव र परिश्रम बाट मात्रै बटुल्न सकिन्छ। अन्यथा यो जीप चालकले विमान उडाउन माग गरेको जस्तै हुनेछ। 

राजधानी भएकाले मेयरको पद जित्नु धेरै महत्त्वपूर्ण छ ।नेपाली कांग्रेसले कुनै पनि हालतमा मेयरको पद गुमाउन हुँदैन । कांग्रेस पार्टी एक दशकभन्दा बढी समयदेखि सरकार भन्दा बाहिर रहँदै आएको पार्टी हो। छन्

निर्वाचित नेताहरुको कमजोर कार्यसम्पादनका कारण काठमाडौंमा राजनीतिक दलहरुले जनताले सोचे जस्तो काम गर्न सकेका छैनन् । मतदाताहरू अहिले परिवर्तन खोजिरहेका छन् – नयाँ अनुहार तर राजनीतिक दल जुनसुकै भए पनि सक्षम व्यक्तिको माग गरिरहेका छन् । 

सबैले आफ्नो निर्वाचन क्षेत्रको नेतृत्व उत्कृष्ट उम्मेदवारले गरून् भन्ने चाहना राख्छन्। स्थानीयको मनस्थिति र समयको मागलाई बुझेर दलहरूले सक्षम उम्मेदवारको नाम अघि सार्नु अपरिहार्य छ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०६:२४
प्रतिक्रिया दिनुहोस्