फ्रेशिलो फेब्रुअरी !!

बुधबार, मंसिर ७, २०७९

फेब्रुअरी महिनालाई मायाको महिनाको रूपमा पनि लिइन्छ । अमेरिका र क्यानाडामा भने मान्छेले मान्छेलाई गर्ने माया बाहेक विद्यार्थीले पुस्तकलाई गरिने मायाको रूपमा पनि यो महिना लाई प्रयोग गर्ने गरिन्छ । यो  महिना भरी विभिन्न माध्यमबाट पुस्तक पढ्ने परम्परा  छ । "आई लव टु रीड" भनेर पनि चिनिने यो  महिना भरी प्रत्येक दिन सबै काम छाडेर केही पढ्न पर्छ भनिन्छ । यसलाई DEAR फर्मुलाको रूपमा प्रयोग गरिन्छ । जसको अर्थ हुन्छ Drop Everything And Read. बाल बालिकाहरुलाई सानै  उमेर देखि पुस्तक पढ्ने बानी बसाल्न यो  महिना भरी विद्यालयमा विभिन्न कार्यक्रमहरु आयोजना गरिन्छ । 

त्यही क्रममा दिनको एक पटक DEAR फर्मुला प्रयोग गर्न पर्ने हुन्छ । मान्छेको माया पुस्तकको पनि मायाको यो महिना ! यो महिनाको नामाकरण ल्याटिन शब्द Februa बाट गरिएको  हो  । यसको अर्थ हुन्छ " शुद्धता "  !  यो महिनाको आगमन संगै बिहान छिटो उज्यालो हुने र बेलुकी पनि अलि लामो समय सम्म घाम देखिने हुन्छ।यस पछि   बसन्त ऋतुको आगमन लाइ लामो समय कुर्न नपर्ने भएकोले पनि सबैमा नँया किसिमको उत्साहा देखिनु स्वाभाविक हो।  नेपालमा पुस फासफुस भने जस्तै यो महिना पनि छोटो र बिभिन्न उत्सबहरू हुने हुदा छिट्टै सकिएको  जस्तो लाग्छ। 

k.jpg

करिब ४०० वर्ष अगाडि सम्म शेक्स पियरको समयमा यो महिना लाई " Feverell " भनिन्थ्यो भने त्यसको सय वर्ष पछी आइज्याक न्यूटनको पालामा "Februeer "भनिथ्यो करिब एक सय वर्ष देखि मात्रै February भन्न थालिएको हो।  

रोमन रिपब्लिकन क्यालेन्डर,  इसाई युग भन्दा पहिले रोममा विकसित भयो। पौराणिक कथाका अनुसार रोमका संस्थापक रोमुलसले लगभग ७३८ ईसापूर्वमा क्यालेन्डरको स्थापना गरेका थिए।  मौलिक रोमन क्यालेन्डरमा १०  महिना र ३०४ दिनको  मात्र एक वर्ष हुन्थ्यो ।मार्चबाट शुरू भएर डिसेम्बरमा वर्ष दिन पूरा हुन्थ्यो । पहिलो चार महिनाको नामाकरण  प्रायः धार्मिक आधारमा राखिएका थिए। मार्चको नाम मंगल (मार्स -युद्धको देवता) , मे माइस्टा (सम्मानको देवी)  र जुन  जुनो ( देवी), अप्रिल रोमन शब्द 'अप्रिलस'  बाट आएको हो जसको अर्थ "खोल्नु" हो। ल्याटिन नम्बर पांच देखि दश सम्मबाट  बाँकी महिनाहरुको  नामाकरण गरिएको  थियो । तात्कालीन रोमन शाशक नुमा पोम्पिलियस ले जनवरी लाइ पहिलो र  फेब्रुअरी लाइ अन्तिममा थपेर  १२ महिनाको एक  वर्ष बनाएका थिए ।

फेब्रुअरी महिना ईशा पूर्व ४५२  सम्म वर्षको अन्तिम महिना थियो त्यस पछि मात्रै दोश्रो महिना बनाइएको  हो । यो सबै भन्दा छोटो महिना पनि हो । सामान्य त २८ दिनको महिना भए पनि  केही अपवाद  बाहेक प्रत्येक चार वर्षमा भने २९ दिनको हुन्छ । यसलाई लिप इएर भनिन्छ । २९ गते जन्मेका मानिसहरूले आफ्नो जन्म दिन तीन वर्ष सम्म सोही दिनमा मनाउन  पाउँदैनन्। कसैले एक दिन अगाडि र कसैले एक दिन पछाडी मनाउने गर्दछन । झण्डै ३२६ मिलियन जनसंख्या भएको देश अमेरिकामा  १ लाख ८६ हजार मानिसहरू मात्रै फेब्रुअरी २९ मा जन्मेका छन् भनिन्छ  ।

यस पछि धेरै समय सम्म  क्यालेण्डरमा थुप्रै  समस्याहरु देखियो।  अन्तत: ४६ ईसा पूर्वमा, जुलियस सिजरले  पूर्ण सुधारको सुरुवात गरे जसको परिणामस्वरूप नयाँ डेटिङ प्रणाली, जुलियन क्यालेन्डर स्थापना भयो। रोमन साम्राज्यका  दुई प्रमुख व्यक्तित्वहरू राजनेता जुलियस सीजर र रोमको पहिलो सम्राट, अगस्टसको नामबाट जुलाई र अगस्ट महिना  नामाकरण गरिएको थियो। सेप्टेम्बर, अक्टोबर, नोभेम्बर र डिसेम्बर रोमन नम्बरहरू ७ , ८ , ९ र १०  को नामबाट नामाकरण गरिएको थियो।  तिनीहरू मूल रूपमा रोमन वर्षको सातौं, आठौं, नवौं र दशौं महिना थिए।   जुलाई र अगस्टलाई रोमन शासकहरूको नाममा पुन: नामाकरण गर्नु अघि, तिनीहरूलाई क्विन्टिलिस र सेक्स्टिलिस भनिन्थ्यो, जसको अर्थ पाँचौं र छैठौं महिना थियो।

संयोगको कुरा यस बर्षको चाइनिज नया वर्ष फेब्रुअरि महिनाको पहिलो दिनमा नै पर्यो। संसारभर यो महिनाभरि विभिन्न किसिमका उत्सबहरु  मनाउने गरिन्छ। सम्भवतः संसारको सबैभन्दा प्रसिद्ध धेरै मानिसहरुको जमघट हुने  उत्सव ( कार्निवल) ब्राजिलको  राजधानी रियो दि जेनेरियोमा हुन्छ।  पांच रात   दिन नभनी  संसार भरिबाट  लाखौ संख्यामा मानिसहरु जम्मा  हुने यो उत्सबलाई  'पृथ्वीको सबैभन्दा ठूलो शो' पनि भनिन्छ ।  फ्रान्सको कागती फेस्टिबल, ताइवानको लालटेन महोत्सव, अष्ट्रेलियाको एडिलेड फ्रिन्ज, बर्गन ( नर्वे )अन्तर्राष्ट्रिय साहित्य महोत्सव,भारतको जैसलमेर डेजर्ट फेस्टिवल र ताज महोत्सव, भेनिस (इटाली ) कार्निवल,चार्ल्सटन ( अमेरिका) वाइन एण्ड  फूड फेस्टिबल , क्युबेक(क्यानाडा) शीतकालीन कार्निवल,तापती रापा नुई, चिली, इनभिजन महोत्सब कोस्टारिकाको माध्यमबाट धेरै मानिसहरुले आफ्नो कला, धर्म, संस्कृति,  साहित्य, रीतिरिवाजको जगेर्ना गर्ने गरेका छन्।  

अमेरिकाको राजनीतिक इतिहासमा यो महिनाको विशेष महत्व छ।  देशका राष्ट्रपतिहरु जर्ज वासिंगटन , अब्राहाम लिंकन,विलियम ह्यारिसन र रोनाल्ड रेगन   क्रमश २२ , १२ ,९ र ६ गते जन्मेका थिए।  सन् १९७१ देखि भने सबै को सामूहिक रुपमा  राष्ट्रपति दिवस मनाउन फेब्रुअरी महिनाको तेस्रो सोमबार सार्वजनिक बिदा दिने प्रचलन थालियो । यसले गर्दा सबै काम गर्नेहरुले लामो बिदा पाउने भयो । फेब्रुअरी महिनामा  अमेरिकामा  कालाहरुको इतिहासको महिनाको रूपमा मनाइन्छ । इतिहासमा कालाजातीहरुले विभिन्न क्षेत्रमा  पुर्याएको योगदानलाई कदर गर्दै पुरै महिना सबै विद्यालयहरूमा यस सम्बन्धी विशेष अध्ययन अध्यापन गराईन्छ।  अमेरिकामा सन् १९२६ देखि मनाउन थालिएको भए पनि बेलायतमा भने सन् १९८७ बाट मात्रै शुरुआत भयो । तर यु के मा भने अक्टोबर महिना भरी मनाइन्छ ।  त्यस्तै जर्मनीमा १९९०, क्यानाडामा  १९९५ र आयरल्याण्डमा सन् २०१० देखि मनाउन थालियो ।
यो महिना भित्र नै डोमिनिक रिपब्लिक, इस्टोनिया, गाम्बिया , ग्रेनेडा,कोसोभो, कुवेत, लिथुएनिया, सेन्ट लुसिया, सर्बिया, श्री लंकाले यही महिना आफ्नो स्वतन्त्रता दिवस मनाउने गर्दछन । नेपालले पनि प्रजातन्त्र दिबस यहि महिनामा मनाउने गरेको छ। 
 
संयुक्त रास्ट्र संघले बर्ष भरि नै विभिन्न दिनहरुलाई महत्व दिएर अन्तरास्ट्रिय दिबस मनाउदै आएको छ।  यो महिनामा पनि१ गते विश्व अन्तरधर्म सद्भाव सप्ताह (फेब्रुअरी १-७), २ गते  विश्व सिमसार दिवस, ४ गते  अन्तर्राष्ट्रिय मानव बन्धुत्व दिवस,विश्व क्यान्सर दिवस  ६ गते महिलाको यौनाङ्ग विच्छेदनमा शून्य सहनशीलताको अन्तर्राष्ट्रिय दिवस  ,१०  गते विश्व दाल दिवस ,११  गते  विज्ञानमा महिला र बालिकाको अन्तर्राष्ट्रिय दिवस, १३ गते  विश्व रेडियो दिवस  २०   विश्व सामाजिक न्याय दिवस  र २१ गते  अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइन्छ।  
यो महिनामा नेपालमा पनि १३ गते महा शीबरात्रि, १६ गते ग्याल्पो ल्होसार र १९ गते प्रजातन्त्र दिबस मनाइन्छ।  

फेब्रुअरी महिनाको सुरुवात सँगै सबैमा एक खालको नयाँ स्फूर्ति आउँछ । दिन अलि उज्यालो हुन थालेर होला सबैको मन पनि हँसिलो हुन थाल्छ । नेपालमा हुँदा मैले भ्यालेन्टाइन डे बारे केही बुझेको थिइन् । अहिले त नेपालमा उत्पादन भएको गुलाफले  मात्रै नपुगेर भारतबाट पनि  आयात हुन् थाली सक्यो । संसारमै फूल व्यापारीहरूको लागि यो महिना सबैभन्दा बढी फापिलो हुनु स्वाभाविक नै हो । मलाई भने यो महिना अलि विशेष नै हुने गरेको छ । मीनू सँग विवाह बन्धनमा बाँधिएको दिन फाल्गुन आठ यो महिनाको २० मा परेको छ। यस पाली भने अझै बिशेष छ ।  बैबाहिक जीवनको ३० सौ बर्ष गाँठ शुरु हुदैछ ।   एक हप्ता भित्र खुशी हुने दुई अवसर पाउनु राम्रो नै हो । तर कहिले काही काम विशेषले सँगै नहुने भए  १४ गते  नै २० गतेको उत्सव  पनि मनाउने गरेका छौं । कोरोनाको कारण केही वर्ष देखि  विवाहको वर्ष गाँठ मनाउन अन्य कुनै देश जाने परम्परा  रोकिएको भए पनि आन्तरिक पर्यटकको रूपमा नै  भए पनि  घरबाट  केहि रातको लागि बाहिर जाने क्रम जारी नै छ ।  यो बर्ष १२ देखि १५  सम्म हराउने योजना बनेको छ।

म बेलायत आएको चार वर्ष पछि मात्रै मीनू आइन् । नेपाल छाडेको एक हप्ता पछाडि नै रेस्टुरेन्टमा काम गरेको हुँदा  दुई  महिना पछाडि नै परेको प्रेम दिवस बारे जानकारी भयो । अन्य दिनमा सपरिवार आए पनि त्यो दिन भने  प्राय दुई जना मात्रै खाना खान रेस्टुरेण्ट आउने रहेछन  । त्यो दिन आउने सबै जोडीलाई गुलाफको फूलले स्वागत गर्ने चलन  रहेछ । यही कुरा थाहा पाएर मिनुलाई पनि मन भरीको माया फोन बाटै पोख्न थालें चार वर्षसम्म  । नेपाल छाडेको दुई वर्ष नपुग्दै रेस्टुरेन्ट खोलेको हुनाले  उक्त दिन निरन्तर  अठार वर्ष सम्म हजारौं  हजार जोडीको प्रेमको साक्षी बस्ने अवसर मिल्यो । सो दिन रेस्टुरेन्ट अरु समय भन्दा बढी व्यस्त हुनु स्वाभाविक नै हो । त्यसमा पनि  धेरै जसो दुई जनाको मात्रै शीट व्यवस्थापन गर्न पर्ने हुँदा थप व्यस्त हुन् पर्ने हुन्छ । दिन भरी  प्रेमील  जोडीहरुको स्वागत गर्दा गर्दै आफ्नो जोडीले भने एक छिन थकाइ मार्न नपाइने हुन्थ्यो तर कसो कसो समय मिलाएर हामी पनि थोरै समयको लागि भए पनि अर्को रेस्टुरेन्टमा  गएर गुलाफ लिने दिने गरिन्थ्यो  ।

अलि पछि आएर थाहा भयो यो प्रेम दिबसको पनि एक हप्ते उत्सब हुने रहेछ।  फेब्रुअरि सात देखि चौध सम्म प्रत्यक दिन आफुलाई मन पर्ने मान्छेसंग बिबिध क्रियाकलाप सहित बिताउने चलन छ ।  जस अनुसार  ७ गते  गुलाफ  दिन,८  गते प्रस्ताब  दिन,९गते  चकलेट दिन,१० गते  टेडी( खेलौना भालु ) दिन,११गते  प्रतिज्ञा दिन ,१२ गते  अंगालो दिन,१३ गते चुम्बन दिन,१४ गते  भ्यालेन्टाइन  दिन हुन् त् अहिले सबैले यति धेरै दिन उत्सबको रुपमा मनाउन सक्छ जस्तो लाग्दैन।  जसले जति सक्छ र भ्याउछ गर्ने र प्रायले १४ गते मात्रै प्रेम दिबस मनाउने गरेको देखिन्छ।

जीन्दगी पाउनु नै एक उत्सब हो।  बाचुन्जेल खुशी हुनको लागि थप उत्सबहरु खोज्न पर्ने बाटो हामीले नै खनेका छौ।  यो वा त्यो बहानामा रमाउन सिकौ।  आउनुस यो फेब्रुअरि महिनामा थप  फ्रेश बनौ  बाँकी  समय खुशी रहौ !! ( बिबिध बिषयमा कलम तिखारी रहेका लेखक लामो समय देखि बेलायत बस्दै आएका छन्।  )

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०६:५८
प्रतिक्रिया दिनुहोस्