विश्व क्यान्सर दिवस : क्यान्सरबारे जान्नै पर्ने कुराहरु - डा. रवीन्द्र पाण्डे 

बिहीबार, मंसिर ८, २०७९

केहिबर्ष पहिले भनिन्थ्यो – Cancer : No answer. चिकित्सा विज्ञानको प्रगतिको कारण अहिले  Cancer has multiple answer भनिन्छ । पहिले हाम्रो समाजमा क्यान्सर निकै कम थियो । यसको कारण थियो – प्राकृतिक आहारविहार । 

जब हामीले  बाहिरी सभ्यताको अन्धाधुन्ध नक्कल गर्न थाल्यौं, हाम्रो समाजमा क्यान्सर पनि त्यहि गतिमा फैलिन थाल्यो | क्यान्सरको समस्या के छ भने यसको फैलाबट सुरुमा थाहा हुँदैन, जब थाहा हुन्छ, निकै ढिलो भइसकेको हुन्छ । अहिले क्यान्सर परिक्षण र उपचारमा खरबौं डलरको ब्यापार छ । जहाँ डर हुन्छ, त्यो अनुपातको ब्यापार पनि हुन्छ ।

जसरी सबै क्यान्सर डरलाग्दा हुँदैनन् , त्यसैगरी सबै क्यान्सर उपचारले निको पनि हुँदैनन् । बंशानुगत क्यान्सर सबैभन्दा ठूलो समस्याको रुपमा रहेको छ । त्यस्तै विकिरण, हर्मोन, ब्याक्टेरिया, भाइरस, केमिकल, उमेरसंगै बढ्ने क्यान्सर आदि सबैलाई रोकथाम गर्न मुस्किल पर्छ । तर जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ ।
 
क्यान्सर रोकथामको लागि धेरै खर्च पनि लाग्दैन । चुरोट तथा सुर्तीजन्य पदार्थ सेवन नगर्ने, मदिरा सेवन नगर्ने वा एकदम कम सेवन गर्ने, प्याकेट तथा बट्टाका खाना सकभर नखाने, पोलेको तथा डढेको खाना नखाने, हाम्रो परम्परागत खाना जस्तै ताजा खाना, मरमसलाको प्रयोग, हरिया तथा मौसमी सागसब्जी, फलफूल, दुध, दही, घ्यु, मह, मोही आदिको नियमित सेवन गर्नु यसको रोकथाममा ठूलो भूमिका हुन्छ । 

त्यस्तै निष्क्रिय नबस्ने, शरीरको तौल घटाउने, ७-८ घण्टा सुत्ने, खाना खाएपछि ब्रस गर्ने, चर्को घाममा धेरैबेर नबस्ने, शरीरमा मुसा, कोठी, गिर्खा, नदुख्ने घाउ, रक्ताश्राब, लामो खोकी आदि भएमा परिक्षण गरेर उपचार गर्ने, जथाभावी संसर्ग नगर्ने, उमेर अनुसारका खोप लिने आदि गर्यौं भने क्यान्सरबाट धेरै हदसम्म बच्न  सकिन्छ ।बातावरण प्रदुषण क्यान्सरको अर्को कारक तत्व हो । यसको लागि राज्य तथा नागरिकले आआफ्ना प्रदुषण नियन्त्रणमा देखिनेगरी काम गर्नु जरुरी छ ।

समयसमयमा स्वास्थ्य परिक्षण गर्नाले क्यान्सरका सूचकांक थाहा पाउन सकिन्छ | आजभोलि पेट स्क्यान आदिबाट शरीरको जुनसुकै भागमा क्यान्सर भए / नभएको थाहा पाउन सकिन्छ ।क्यान्सर देखियो भने अधिकांश व्यक्ति जीवनदेखि निरास हुन्छन् जसले गर्दा नियमित खाना तथा शारीरिक सक्रियता घट्दछ । यसो गर्दा क्यान्सरलाई हाम्रो शरीर उर्बरभुमि बन्दछ ।आत्मबलले क्यान्सर जितिन्छ भन्ने कुरा यहाँ लागु हुन्छ । यसको अर्थ आत्मबलले मात्र क्यान्सर जितिन्छ भन्ने होइन।

क्यान्सरको उपचार निकै झन्झटिलो र पीडादायी छ । निकै खर्चिलो पनि छ । केमोथेरापीका साइड इफेक्ट निकै कष्टकारी छन् । पटकपटक गर्नुपर्ने अप्रेसन त्यति कष्टपूर्ण छ | हरायो भनेको क्यान्सर केहि समयपछि अर्को भागमा फैलिएको हुन्छ । यहाँ ठिक होला कि त्यहाँ भन्दाभन्दै भएको पैसा सकिन्छ । अस्पतालहरुले पनि अन्तिमसम्म खर्च गराइरहेका हुन्छन् | यसो गर्दा कतिपयलाई ठिक हुन्छ, धेरैलाई गाह्रो हुन्छ । सबै क्यान्सरलाई केमो दिनु पर्दैन । 

पाठेघर, स्तनजस्ता अंगलाई समयमै थाहा भयो भने सर्जरी गरेर अन्य अंगमा फैलिनबाट रोक्न सकिन्छ । पाठेघरको मुखको क्यान्सर तथा कलेजोको क्यान्सर रोकथामको लागि खोपको भूमिका राम्रो छ ।

उपचारको यो चक्रमा नफस्नको लागि हामीले आफ्नो खानपिन र ब्यबहारलाई प्राकृतिक बनाउनु जरुरी छ । आजको दिनमा हामी सबैले क्यान्सर रोक्ने प्रण गरौँ, प्राकृतिक आहारविहारलाई जीवनको मूलमन्त्र बनाऔं ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०६:०२
प्रतिक्रिया दिनुहोस्