नेभिगेशन
विचार

खलङ्गाले सम्झियो सम्झिएन थाहा छैन, मैलेचाहिँ सम्झिएँ है मरिचमानलाई

सुनेको, देखेको हैन। पढेको हो, भोगेको होइन। नुन हेलिकोप्टरमा ल्याएर जनतालाई खुवाउँथे रे, स्वाभिमानका निम्ति। 

हो, मरिचमान श्रेष्ठ। खलङ्गाले सम्झियो सम्झिएन खसेको १२ बर्षपछि। इतिहासले स्मरणमा राखे पनि राज्यले सम्झिएन, उनलाई।

देश जोगाउनका निम्ति योगदान गरेका मरिचमानलाई न पुरानाले सम्झिए, नयाँलाई त ‘बाल मतलब’।

यो एआई पुस्ता हो नि त, सम्झिन आवश्यक छैन। 

तर च्वास्स घोच्दा पनि दुख्छ। इतिहासलाई बिर्सन सजिलो मान्दिन म। 

मरिचमानका विषयमा थोरै स्मरण गराइदिन्छु। मैले पनि सुनेको र पढेको नै हो। तर, उनलाई बुझेको र उनका बारेमा जानेकोचाहिँ ज्ञानेन्द्रले दोस्रो पटक मन्त्रिपरिषदको उपाध्यक्ष बनाएको बखत हो, ६० माघ १९ पछि।

मरिचमानसिंह श्रेष्ठ नेपालका राजनीतिज्ञ तथा पञ्चायती व्यवस्थामा प्रभावशाली व्यक्ति थिए। उनी पञ्चायती व्यवस्थाको अन्त्यतिर नेपालको प्रधानमन्त्री बनेका थिए। 

पञ्चायती व्यवस्था भित्र गरम गुटको नेतृत्त्व गर्दै २०४३ साल जेठमा उनी प्रधानमन्त्री बनेका थिए।

त्यसअघि उनी तत्कालिन राष्ट्रिय पञ्चायतका अध्यक्ष थिए। नेवार समुदायबाट प्रधानमन्त्री वा मन्त्रीपरिषदको अध्यक्ष बनेका उनी गेहेन्द्रबहादुर राजभण्डारीपछि दोस्रो व्यक्ति थिए।

राष्ट्रिय पञ्चायतको अध्यक्ष रहुन्जेल मरिचमानसिंह मात्र लेख्दै आएका उनले प्रधानमन्त्री भएपछि पहिलो पटक मरिचमानसिंह श्रेष्ठ नाम लेखि आफूलाई नेवारको रूपमा परिचित गराएका थिए।

मरिचमानसिंह श्रेष्ठको जन्म सल्यान जिल्लाको खलङ्गा बजारमा १९९७ कात्तिक १७ मा भएको थियो। 

उनी २०१७ सालदेखि राजनीतिमा सक्रिय थिए। २०३० सालमा राष्ट्रिय पञ्चायतको सदस्य भएका सिंह पञ्चायत भित्रको अनुदारवादी खेमामा थिए। 

दरवारको विश्वासपात्र सिंह २०३८ सालमा पञ्चायती व्यवस्थाको सङ्गठन हेर्ने पञ्चायत नीति तथा जाँचबुझ समितिको अध्यक्ष तथा राष्ट्रिय पञ्चायतको अध्यक्ष बने। 

पञ्चायतको अन्त्यतिर २०४३ साल जेठदेखि २०४६ साल चैतसम्म यिनी नेपालको प्रधानमन्त्री थिए।

यिनी प्रधानमन्त्री भएकै बेला नेपाल भारत पारवाहन सन्धिको विषयलाई लिएर भारतले नेपाललाई नाकावन्दी लगायो। 

यिनले भारतसँग नझुक्ने अडान लिएर बसे। 

पञ्चायती व्यवस्थाको अन्त्यपछि यिनी राजनीतिक रूपमा पूर्ण निस्कृय बसे। २०५६ सालको निर्वाचनमा काठमाडौँबाट उम्मेदवारी दिएपनि त्यसपछि पुनः निस्कृय नै रहे। ०४६ परिवर्तनपछि उनी कुखुरापालन र गाईपालन गरेर राजनीतिबाट टाढा बसेका थिए।

श्रेष्ठ राष्ट्रवादी छविका नेताका रूपमा चिनिएका थिए। ०४५ सालमा भारतले नुन तेल लगायतका अत्यावश्यक वस्तुको आयातमाथि प्रतिबन्ध लगाएको र पारवाहन सन्धी सम्बन्धी विवाद परेका बेला श्रेष्ठले लिएको अडानको प्रशंसा हुने गरेको छ। हो अहिले पनि बुढापाका भन्छन्,‘प्रधानमन्त्री कस्तो? मरिचमान जस्तो। जसले हेलिकोप्टरमा नुन ल्याएर खुवाए।’

मरिचमानसिंह श्रेष्ठको निधन २०७० साउन ३० गते काठमाडौँमा भएको थियो। लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित श्रेष्ठको ७१ वर्षको उमेरमा बिहान तीन बजे काठमाडौँ थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो।

यदि देशमा अहिले जुन हुंकार चलाइरहेका छन् सर्वपक्षीय हुँडारहरुले मरिचमानको एक निर्णयले अवसर पाउने थिएनन्। 

किन मरिचमानलाई सम्झिन आवश्यक छ? उनको स्मृति दिवस त खै कसरले मनायो होला थाहा छैन, तर सम्झिनुपर्छ यदि नेपाली हो भने।

उनको कार्यकालको महत्वपूर्ण घटनामध्ये एक, भारतले २०४५ साल (१९८९) मा नेपालमाथि लगाएको नाकाबन्दी थियो। यो नाकाबन्दी भारत–नेपाल व्यापार तथा पारवहन सन्धि नवीकरणको विवाद, नेपालले चीनसँग गरेको हतियार खरिद सम्झौता, र तत्कालीन भारतीय राजनीतिक असन्तुष्टतासँग जोडिएको थियो।

अनि, उनले कस्तो नीति अपनाए?

नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ, औषधि, खाद्यान्न, नुनदेखि औद्योगिक कच्चा पदार्थसम्मको आपूर्ति संकट भयो। सरकारले चीनसँग सीमापारको व्यापार बढाउने प्रयास गरेको थियो। तातोेपानी–खासाबाट आपूर्ति ल्याउने कार्यलाई तीव्र बनाइयो।

पेट्रोलियम पदार्थको कठोर राशन प्रणाली लागू गरियो। सरकारी गाडी र अत्यावश्यक सेवामा मात्र इन्धन प्राथमिकतामा दिइयो। पेट्रोल पम्पहरूमा लाम लाग्ने अवस्था भयो, र सरकारले ‘कार–फ्री डे’ समेत घोषणा ग¥यो।

भारतसँग प्रत्यक्ष वार्ता गर्न र समस्या समाधानका लागि कूटनीतिक प्रयास भए। तर मरिचमान सिंह श्रेष्ठले तत्कालीन समयमा भारतीय दबाबमा नझुक्ने नीति लिएको कारण वार्ता कठिन बन्यो। 

उनले “राष्ट्रिय स्वाभिमान’’को पक्षमा कठोर अडान लिएको भन्दै धेरैले प्रशंसा गरे।

नाकाबन्दीका समयमा उनले जनतालाई स्वदेशी उत्पादन प्रयोग गर्न, ऊर्जा बचत गर्न र वैकल्पिक स्रोत अपनाउन आह्वान गरे। ‘देशले आफ्नो बाटो आफैं बनाउनुपर्छ’ भन्ने संदेश दिए। 

नाकाबन्दीले नेपाललाई अत्यधिक भारत–निर्भर आपूर्ति प्रणालीको जोखिम देखाइदियो। त्यसपछि चीनमार्ग हुँदै वैकल्पिक नाका विकास, आन्तरिक सडक संरचना निर्माण, र स्थानीय उत्पादन वृद्धिका नीति तयार गरियो।

नाकाबन्दीका बेला मरिचमान सिंह श्रेष्ठलाई “कठोर तर स्वाभिमानी प्रधानमन्त्री” भनेर सम्झिन्छन्। उनको अडानका कारण तत्कालीन संकट लामो समय रह्यो, तर यसले नेपालको सार्वभौमिकताबारे जनचेतना र दीर्घकालीन नीति परिवर्तनको बाटो खोलेको थियो। 

र, स्मरण गरौं– उनी जस्ता स्वाभिमानी प्रधानमन्त्री को भए त? अनि, प्रर्थाना गरौं आउन सक्लान् भनेर। तर, उनको कमीप्रति सँधै भाव त रहने नै भयो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विचार