नेभिगेशन
राजनीति

प्रतिनिधि सभा बैठक : हाजिर गर्ने सांसद २०३, गणना गर्दा ६१ मात्रै भेटिए

काठमाडौं । गणपुरक संख्या नपुग्दा मंगलबारको प्रतिनिधि सभाको बैठकको कार्यसूची प्रभावित भयो ।

पानी जहाज सञ्चालन सम्बन्धी विधेयकमाथि छलफल थियो । छलफलपछि सभामुख देवराज घिमिरेले पानी जहाज सञ्चालन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत गर्न खोजे । तर, गणपुरक संख्या यकिनको माग उठ्यो ।

नेकपा माओवादी केन्द्रकी सांसद रुपा सोशी चौधरीलेले गणपूरक संख्या यकिन गर्न माग गरिन् । ३ मिनेट घण्टी बजाएर चेक गर्दा ६१ जना मात्रै सांसद भेटिए ।

२७५ सदस्यीय प्रतिनिधि सभामा कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा एक चौथाइ अर्थात, ६९ सांसद उपस्थित हुनुपर्छ । एक चौथाइ सांसद नरहेपछि जहाज सञ्चालन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत हुन सकेन ।

जबकी, संसद सचिवालयका अनुसार २०३ जना सांसदले मंगलबार हाजिर गरेका छन् । हाजिर गरेर सांसदहरू सभामा नबस्दा कोरम नपुगेको हो ।

मंगलबार गणपूरक संख्या नपुगेपछि स्थगित कार्यसूची कम्तीमा आगामी साउन ७ गते सम्मका लागि धकेलिएको छ । किनभने प्रतिनिधि सभाको अर्को बैठक साउन ७ गतेका लागि मात्रै राखिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

एमालेले बोलायो सचिवालय बैठक