नेभिगेशन
राजनीति

देउवा क्याम्पका खाँण कोइराला क्याम्पमा, जेलमा हुँदा शेखरले भेट्न गएको गुण तिरेका हुन्?

खाँण बिराटनगरस्थित शेखर कोइरालाको स्वामित्वमा रहेको ‘कोइराला निवास’मा उदाउनुलाई अर्थपूर्ण मानिएको छ

काठमाडौं– सभापति शेरबहादुर देउवा पक्षका उत्तराधिकारीका रुपमा चर्चामा रहेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको राजनीतिक गतिमा नक्कली भुटानी शरणार्थी प्रकरणले ब्रेक लगायो।

पूर्पक्षका लागि थुनाबाट धरौटीमा छुटेका उनी उतिसाह्रो मिडियामा आउँदैनन्। उनी बिस्तारै देउवासँग रुष्ट रहेर अर्का नेता शेखर कोइरालातिर ढल्किएको चर्चा थियो।

तर, अहिले भने लगभग खुल्ने अवस्थामा देखिएको छ। उनै खाँण बिराटनगरस्थित शेखर कोइरालाको स्वामित्वमा रहेको ‘कोइराला निवास’मा उदाउनुलाई अर्थपूर्ण मानिएको छ।

कोइराला समूहका स्थानीय नेता कार्यकर्ता खाँणसँगै देखिएका थिए।

कोइराला निवासमा उनले पत्रकारहरुसँग कोइराला निवास गुटको केन्द्र नभई साझा ‘पवित्र भूमि’ भएको दाबी गरेका थिए। नेपालको राजनीतिमा कोइराला परिवारको योगदान अतुलनीय रहेको पनि स्मरण गरे।

‘पार्टी नेता शेखर कोइराला यहाँ बस्नुहुन्छ। तर यहाँ पहिले बीपी कोइराला, गिरीजाप्रसाद कोइराला, बुवा कृष्णप्रसाद कोइरालापनि बस्नुहुन्थ्यो’ भन्दै उनले स्मरण गरे।

‘यहाँ सबै कोइरालालाई सम्झनुपर्छ। उहाँहरुसंग भावनात्मक सम्बन्ध छ। उहाँहरु हाम्रो लागि महामानव हो। निवासलाई पार्टीको गुटको रुपमा हेर्न हुँदैन। यो हाम्रो लागि धार्मिकस्थल गएझै पवित्रस्थल हो’, उनले भनेका थिए।

कांग्रेसको १५औं महाधिवेशन आउने क्रममा खाँणको यो उपस्थितिलाई निक्कै रोचक हिसाबले पनि हेरिएको छ।

खाँणले पार्टी भित्रको अनुशासनको कारवाही गर्नु र कारवाहीका विषयमा कुरा उठ्नु स्वभाविक भएको बताए। शेखरले जस्तै उनले पनि संस्थापन पक्षको उक्त कारबाहीको विषयमा असन्तुष्टी देखाउनले पनि क्याम्प परिवर्तन भैसकेको हुन सक्ने अनुमानलाई सहजीकरण गरेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ गरी छानबिनमा तान्ने क्रममा थुनामा रहँदा देउवा भेट्न समेत गएका थिएनन्। तर जेल पुगेका शेखरले भने छुट्ने आश्वासन दिएका थिए। सम्भवतः त्यहि गुण तिर्नका लागि खाँणले कोइराला निवासलाई पवित्र भूमी देखेका हुन्।

खाँण आगामी उपनिर्वाचनमा रुपन्देही–३ मा उम्मेदवार बन्ने चर्चा समेत रहेको छ। उनी उक्त क्षेत्रमा राप्रपाका दीपक बोहोरासँग पराजित भएका थिए। बोहोराको निधन भएपछि त्यस क्षेत्रमा उपनिर्वाचन हुन लागिरहेको छ। आगामी १७ कात्तिकका लागि निर्वाचन आयोगले मिति तय गरेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

एमालेले बोलायो सचिवालय बैठक